कैलालीमा पिकनिकमा झडप हुदा तीन प्रहरीसहित ६ घाइते

द एभरेष्ट पोष्ट
१७ जेठ २०८३ १६:५६
कैलालीमा पिकनिकमा झडप हुदा तीन प्रहरीसहित ६ घाइते

धनगढी। कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रको पिकनिकमा आएका दुई समूहबीच भएको कुटाकुट भएको छ ।

जेठ १४ गते शनिबार घटना भएको थियो । उग्ररुप लिँदा घटना नियन्त्रण गर्न गएका प्रहरीमाथि समेत आक्रमण भएको छ ।  घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् । कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता योगेन्द्र तिमल्सिनाका अनुसार बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन आएका व्यक्तिहरूबीच कुटाकुट भएपछि प्रहरी घटना स्थल पुगेको थियो ।

घटना नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाटको कमाण्डमा चार जनाको टोलीलाई समेत उनीहरूले आक्रमण गरिएको थियो ।

घटनामा प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन् ।

घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको र उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार बुडालले प्रयोग गरेको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

प्रहरीमाथि नै हातपातपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिल विक्रम शाहको कमाण्डमा थप १२ जनाको टोली परिचालन गरी घटना नियन्त्रण गरिएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।

घटनामा कैलारी गाउँपालिका–१ का ४० वर्षीय गोकर्ण बोहरा, ४५ वर्षीय रामचरण चौधरी र ४० वर्षीय नृप बोहरा पनि घाइते भएका छन् । गोकर्ण बोहराको हात र खुट्टाको शल्यक्रिया गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–११ का २० वर्षीय स्वरूप कठरिया, २३ वर्षीय दिलिप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्वरूप कठरियाले प्रयोग गरेको ना ३ त १४२७ नम्बरको ट्र्याक्टर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस