सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ : वर्षमान पुन
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै ‘कोल्याप्स’ हुने टिप्पणी गरेका छन् । उनले प्रतिनिधि सभाको निर्वाचन १८२ सिट जितेको रास्वपाको आयु लामो नभएको बताएका छन् । पार्टी निकट अखिल नेपाल महिला संगठनको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले चाँडै पुराना स्थापित पार्टीले नै देश सम्हाल्नुपर्ने स्थिति आउने दावी गरे ।
उनले भने, ‘नेता कहीँ देखिँदैन । अस्ती भोट हाल्दा पनि मान्छे कोही छैन, बुथमा मान्छे छैन, खसेको भोट गन्दा त हजारको हजार छ । मान्छे सबै भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ । त्यसरी भर्चुअल दुनियाँबाट छिटो उठेको आन्दोलन तीव्र रूपमा उठ्यो, तीव्र रूपले तल जान सक्छ।’
उनले भने, ‘भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्न पर्ने अवस्था आउँछ । स्थानीय चुनाव जाँदा नजाँदै पनि तल झर्न सक्छ । अस्ती भोट दिने मान्छेहरू सुकुम्वासीहरूले गल्ती भयो भन्न थालिसकेका छन् । मधेशतिर पनि नाकामा कडाइ गरेपछि बालेन सरकारप्रति विश्वास गुम्दैछ ।’
