शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ

द एभरेष्ट पोष्ट
११ जेठ २०८३ १२:०१
शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौँः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नाममा जारी पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। उक्त रिटमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि विपक्षी निकायलाई झिकाउन आदेश दिएको थियो।

देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। रिटमा देउवाले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गर्दै काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नभएको अवस्थामा पनि पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका छन्।

देउवाले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत देखाउन मन्जुर भएको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर रिटमा गरेका छन्। यसैबीच, देउवा दम्पती पछिल्लो समय हङकङ गएको र उनी हालसम्म त्यहाँबाट काठमाडौँ नफर्किएको जनाइएको छ। उनीविरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको भए पनि इन्टरपोलले हालसम्म रेड कर्नर नोटिस जारी नगरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस