रास्वपाले आफ्नो स्वास्थ्य विभागलाई पालिकासम्म विस्तार गर्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकास्तरसम्म विस्तार गर्ने भएको छ ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक सञ्जालमा लेख्दै पार्टीको स्वास्थ्य विभागलाई पालिकास्तरसम्म विस्तार गर्न लागिएको बताएकी हुन् ।
उनले हाल विस्तारको लागि नीतिगत काम गरिरहेको उल्लेख गर्दै स्वास्थ्य नीतिमा आमुल परिवर्तन ल्याउन विभागमार्फत काम गरिने जानकारी दिइन् ।
कार्कीले यसका निम्ति विज्ञहरू र विभागीय सदस्यहरू आवश्यक रहेको र त्यसका लागि डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यविज्ञ, स्वास्थ्य प्रविधिका इन्जिनियर तथा व्यवस्थापकहरूलाई विभागमा जोड्न आह्वान गरेकी छिन् ।
उनले, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी नभएर स्वास्थ्य प्रणालीकै कमजोरी रहेको समेत प्रस्ट पारेकी छन् ।
