संविधान संशोधन कार्यदलले संविधानविद्सँग थाल्यो छलफल
काठमाडौं । सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ले संविधानविद्सँग छलफल सुरु गरेको छ ।
सोमबार (वैशाख १४) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलले छलफल गरेको हो । अहिले छलफल जारी छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले यसअघि राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल गरेको थियो । दलसँग छलफल सकाएर संविधानविद्सँग थालनी गरिएको हो ।
छलफलमा पूर्वमन्त्री समेत रहेका वरिष्ठ अधिवक्ता लक्ष्मणलाल कर्ण पनि सामेल छन् । शाह कार्यदलले संविधान संशोधनका विषयमा राजनीतिक दलसँग प्रस्ताव मागेको छ ।
