संसद् छलेर अध्यादेश ल्याउने प्रयास उपयुक्त होइन: कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने प्रयास लोकतान्त्रिक मर्यादाविपरीत हुने जनाएको छ।
आजको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सरकारले संसद्को अधिवेशनबारे जानकारी दिएपछि पुनः स्थगित गर्दै अध्यादेशको बाटो रोज्न खोजेको आशंका व्यक्त गरे।
उनले सरकारले संसद् बोलाउने प्रस्ताव गरेर फेरि अकारण स्थगित गरेको समाचार आएको उल्लेख गर्दै एकातिर संसद् बोलाउने र अर्कोतर्फ संसद्लाई छलेर अध्यादेश ल्याउने कदम उचित नहुने बताए। उनका अनुसार यस्तो अभ्यासले लोकतन्त्रको मर्यादा कायम नगर्ने, अनुकूलता नदिने र जवाफदेहिता पनि स्थापित नगर्ने स्पष्ट पारे।
चालिसेले संसद् छलेर अध्यादेश ल्याइए संसद्को सर्वोच्चताको अवमूल्यन हुने चेतावनी दिए।
त्यसैगरी उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउँदै कृत्रिम अभाव र बढ्दो महँगी नियन्त्रणका लागि कडा अनुगमन गर्न आग्रह गरे।
उनले जनताको चुलोचौको र दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा सरकारले नागरिकप्रतिको दायित्व महसुस गर्दै बजार व्यवस्थापनमा प्रभावकारी कदम चाल्नुपर्ने बताए।
