‘बेस्ट पर्फमेन्स’ दिने मन्त्रिपरिषद् गठनको गृहकार्य

द एभरेष्ट पोष्ट
२ चैत २०८२ ७:२४
‘बेस्ट पर्फमेन्स’ दिने मन्त्रिपरिषद् गठनको गृहकार्य

काठमाडौ ।  झन्डै दुईतिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको सूची टुंग्याउँदै  मन्त्रिपरिषद् गठनको गृहकार्य अघि बढाएको छ। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबीच सघन छलफल भइरहेको छ। पार्टी सचिवालयको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। पार्टी सचिवालयको निर्णयअनुसार सूचीमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाइनेछ।

खसआर्यबाट १७ जना, आदिवासी जनजाति १६ जना, मधेसी ९ जना, दलित ८ जना थारु ४ जना र मुस्लिम ३ जना छन्। जसमा ४८ जना महिला र ९ जना पुरुष छन्। पार्टी प्रवक्ता मनिष झाले मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रियापश्चात् प्रकाशित गर्ने बताए।

‘यसअघि सदनमा पनि अन्य दलको भन्दा तुलनात्मक रूपमा रास्वपा समावेशि थियो,’ उनले भने, ‘समावेशिताको उत्कृष्ट अभ्यासको निरन्तरता रास्वपाले दिने छ।’ यसअघिको प्रतिनिधिसभामा ४० दशमलव ८ प्रतिशत महिलाको प्रतिनिधित्व थियो। यसपटक पनि महिलालाई प्राथमिकता दिइएको जनाइएको छ।

२०७९ असार ७ गते उदय भएको रास्वपाले तीन वर्षको छोटो समयमा मुलुकको सबैभन्दा ठूलो पार्टी बनेको हो। प्रत्यक्षमा १ सय २५ सिट र समानुपातिकमा ५७ सिट गरी कुल १ सय ८२ जितेको छ। रास्वपालाई दुईतिहाइ बहुमतका लागि दुई सिट अपुग छ। २०७९ को निर्वाचनमा रास्वपाले करिब १२ लाख मत र २१ सिटमा जित हासिल गरेको थियो। गृह, शिक्षा,   श्रम र खेलकुद मन्त्रालयका अल्पकालीन जिम्मेवारी सम्हालेको थियो।

पार्टीको केन्द्रीय कार्यसमितिले विधान संशोधनलाई अनुमोदन गरेपश्चात् संसदीय दलको नेतामा बालेन्द्रलाई निर्वाचित गरिनेछ। प्रवक्ता झाले प्रक्रियागत रूपमा अघि बढाउन केही समय लाग्ने उल्लेख गर्दै प्रतिबद्धता नबर्सिएको बताए।‘दलको नेता बनाउन प्रक्रियागत रूपमा अघि बढाउन केही नेताको उपस्थितिको प्रतिक्षामा छौं। स्वास्थ्य अवस्थाका कारण केही नेताको उपस्थिति कुरिरहेका छौं,’ प्रवक्ता झाले भने, ‘हामी जिम्मेवार छौं। प्रतिबद्धता बिर्सेका छैनौं। केही तलमाथि होला कि भन्ने आशंका नगरियोस् ।’

गत पुस १३ गते बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार हुने  गरी ७ बुँदे सहमति भएको थियो।पार्टी सभापति लामिछानेसँग सहमतिपश्चात् बालेन्द्रले काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरी प्रतिनिधिसभा निर्वाचनमा झापा–५बाट उम्मेदवारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस