चुनावपछि नेपाली कांग्रेस संसदीय इतिहासमै सबैभन्दा कमजोर अवस्थामा
काठमाडौं । लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस प्रतिनिधिसभाको पछिल्लो चुनावपछि संसदीय इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।
गुटबन्दी र आन्तरिक विवाद, नेतृत्वको पुस्तान्तरणमा भएको ढिलाई, नयाँ दलहरूको उदय र युवा पुस्ताको बदलिँदो सोचका कारण कांग्रेसलाई निर्वाचनमा नराम्रो धक्का लागेको छ ।
मतदाताले पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि मतपेटिकमार्फत् पोखेपछि कांग्रेसका लागि परिणाम प्रतिकूल बन्न पुग्यो ।
पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।
तर, राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की कांग्रेस–एमाले नेतृत्वको सरकार हुँदा जेनजी आन्दोलन भएकाले अहिलेको अवस्थामा नेतृत्वमा जोसुकै भए पनि असर पर्ने स्थिति रहेको बताउँछन् ।
‘पार्टीमा विद्रोह गरेर गगन थापा नयाँ विद्रोही संस्था लिएर निर्वाचनमा जानुभएको हो । यसपटकको निर्वाचन पुराना दलहरूको लामो समयसम्मको शासन र त्यसमा देखिएका विकृतिहरूसँग गाँसिएको विषय हो,’ उनले भने, ‘त्यसमा पनि कांग्रेस–एमालेको दुईतिहाइको सरकार भएको बेला जेनजी आन्दोलन भएकाले यो बेला नेतृत्वमा जोसुकै भएपनि असर पर्ने स्थिति थियो ।’
निर्वाचनमा नराम्रो पराजय बेहोर्नु परेको भन्दै कांग्रेसमा एकथरी नेता–कार्यकर्ताहरूले सभापति गगनकुमार थापामाथि प्रश्न उठाइरहेका छन् । अर्काथरी नेता–कार्यकर्ताहरू कांग्रेसको निवर्तमान नेतृत्वको भूमिका कारण प्रतिकूल नतिजा आएको तर्क गरिरहेका छन् ।
कार्यकर्ताहरूले गुटअनुसार पक्ष–विपक्षमा जेसुकै तर्क गरे पनि पछिल्लो निर्वाचन परिणामले पार्टीको वर्तमान अवस्था, संगठनात्मक क्षमता र भावी कार्यदिशाबारे कांग्रेसमा बहस जन्माएको छ ।
निर्वाचन सम्पन्न भएको चार दिनपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन परिणामले गम्भीर सन्देश दिएको भन्दै अस्वाभाविक महत्वकांक्षाबाट मुक्त भएर पार्टीको वृहत एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सोही दिन नेता अर्जुननरसिंह केसीले नेतृत्व पाएको ५० दिनकै अवधिमा वर्षौंदेखि थुप्रिएका विकृति–विसंगति र समस्याहरू जादुगरी झैं चुट्कीको भरमा समाप्त पार्ने काम नहुनु स्वाभाविक नै भएको तर्क गरेका छन् ।
उनले वर्तमान परिस्थिति र परिणामको निर्मम विश्लेषण, समीक्षा र मूल्यांकन गरेर भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनुलाई प्रमुख आवश्यकताका रूपमा औंल्याएका छन् ।
कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले त सार्वजनिक रूपमै सभापति थापाको राजीनामा मागिसकेका छन् । विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेकाले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क छ ।
अर्का नेता डा. गोविन्दराज पोखरेल भने निर्वाचनमा पराजय बेहोरे पनि सभापति थापाको भूमिका समाप्त नभएको बताइरहेका छन् । हिन्दु धर्मावलम्बीहरूको ग्रन्थ गीतालाई उद्धृत गर्दै उनले भनेका छन्, ‘परिणामको मोह छोडेर धर्म र कर्तव्यका लागि पुनः दृढ भएर अघि बढ्नुपर्छ । निराशा त्यागेर कमजोरी समीक्षा, नयाँ रणनीति र संगठन गर्दै अर्को युद्धका लागि तयारी गर्नु नै सच्चा नेतृत्व हो ।’
