फागुन २१ को मतादेशको सन्देश
जेन-जी विद्रोहले बिघट्न गरेको प्रतिनिधि सभामा फागुन २१ ले प्रचण्ड बहुमत दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पठाएको छ । यो चुनाव र यसले दिएको परिणाम देशका लागि निकै अर्थपूर्ण छ । यस्तो बहुमत र जनविश्वास विरलै दलले प्राप्त गर्छन् । जुन रास्वपाले यो चुनावमा पायो ।
पुराना भाष्य र मान्यताहरुलाई तोडेको यो निर्वाचनले थुप्रै किर्तिमान कायम गरेको छ ।
चुनाव जित्न संगठन र संगठित सदस्यताको आवश्यकता नै पर्दो रहेनछ । बस्, जनताका माझ जानु पनि पर्दो रहेनछ । घरदैलो गर्नेहरु हारे । संगठन हुनेहरु हारे । जातीय र भेगीय राजनीति गर्नेहरु हारे ।
यो चुनावले मधेश र पहाडका बीचमा रहेको दूरी मेटाई दियो । पश्चिम तराईमा थारु र पहाडी समुदायको साम्प्रदायीक भावना, सोच र राजीतिको अन्त्य गरिदियो । न कसैले थारु भने । न पहाडी ।
न विरासतले काम ग¥यो । न धनले । न त पृष्ठभूमिले । अनुभव र योगदान पनि यसपटक चुनाव जित्ने आधार बन्न सकेन् । फुच्चेहरुले हेभिवेटलाई धुलो चटाए ।
काँग्रेस र कम्युनिष्ट पार्टीका दोकानहरु बन्द भए । धर्म र जातका नाममा राजनीति गर्नेका दिन सकिए ।
प्रदेश र संघीय सरकारसंग मोलमोलाई गर्ने क्षेत्रीय दलहरुको खेतीपाती पनि बन्द भयो । र, सबैभन्दा ठूलो भोटको ठेक्का लिएर चुनावमा दोकान थाप्ने बिचौलिया र ठेकेदारका दिन पनि सकिए ।
न वादले काम ग¥यो । न विचारले । को दक्षिणपन्थी ? को बामपन्थी ? कसले हेरोस ? हो, कसैले सोधीखोजी हेरेन, घण्टीको विचार के हो ? कुन वादलाई उसले विश्वास गर्छ ?
परम्परागत दलहरुप्रतिको बितृष्णा व्यालेट बक्समा यसरी बिष्फोट भयो कि, त्यो बिष्फोटमा जोगिने पुराना दलका उम्मेदवारहरु भाग्यमानीमा दरिए । तर जोगिनेको संख्या औंलामा गन्न सकिनेमा खुम्चियो ।
नयाँ प्रतिको अन्ध भरोसा र पुरानाप्रतिको बेहिसाव बितृष्णाले यस्तो परिणाम आयो कि, जसको पुराना दलहरुलाई अनुमानै थिएन् । हुन् पनि न अनुमानले काम ग¥यो । न विश्लेषणले ।
मार्क्स, लेनिन र माओका दोकानमा ताला लागे । बीपीको विचार काँग्रेसले नबुझेपछि जनताले के बुझुन ? मतदाताले साम्यवाद र समाजवादका ठेलीहरु पढ्ने झञ्झट गरेनन् । जय नेपाल । लाल सलाम । जय राष्ट्रवाद । जय देश । जय नरेश । व्यालेटमा खस्दा ती सबै घण्टीमा परिणत भए ।
आलोपालो प्रणालीको अन्त्य भयो । दलहरुले लाद्दै आएको गठनबन्धनबाट मतदाताले मुक्ति पाए । गढ, किल्लाहरु रहेनन् । सबै भाष्य र दावीहरु भंग भए । न कसैको किल्ला रह्यो । न कसैको गढ ।
मिलिजुली चुनाव लड्ने बाँडीचुँडी सरकार बनाउने अन्त्यहीन श्रृंखला पनि यो चुनावबाट अन्त्य भएको छ ।
चुनावको परिणामले परम्परागत दलहरु मुच्र्छनामा छन् । उनीहरुलाई यस्तो परिणामको पूर्वानुमान नभएको होईन्, तर परिणाम बदल्ने सामथ्र्य गुमाईसकेका उनीहरुसंग यो परिणाम पर्खिनु र त्यसलाई स्वीकार्नु बाहेक अर्को बिकल्प थिएन् ।
यो पटक कसैको अगाडि जोडिएको डाक्टर र वा ईञ्जिनियरले जितेको होईन् । प्राध्यापक र अधिवक्ता चिनेर पनि जनताले जिताएका होईनन् । मैले जिल्ला जिताए । प्रदेश जिताए । आत्मरतिका लागि यस्तो भन्न सकिन्छ । तर कुनै जिल्ला सभापति र प्रदेश सभापतिले पनि रास्वपाका उम्मेदवारलाई जिताएका होईनन् । मतदाताले न अनुहार चिने । न उम्मेदवार भेटे । बस्, उनीहरुले दुईटा कुराले भोट दिए, पहिलो –बालेन, दोस्रो–घण्टी ।
काठमाण्डौं महानगरमा के गरे ? कति बजेट खर्च सके ? सुशासन थियो वा थिएन ? अव यो बहसको विषय नै रहेन् । जनताले बालेनको नाममा भोट खन्याए । रास्वपालाई प्रचण्ड बहुमतले जिताए । भूतो त भविश्यति : । यस्तो परिणाम न हिजो कसैले ल्याए । न भोलि ल्याउने छन् । अहिलेलाई यत्ति आशा गर्न सकिन्छ, यो मतादेशलाई रास्वपाले अवमूल्यन गर्ने छैन् ।
अव बालेनले काम गर्नुपर्छ । परिणाम दिनुपर्छ । बालेन प्रधानमन्त्रीका निर्विकल्प र एक्ला पात्र हुन् । बिलम्ब नगरी उनलाई प्रधानमन्त्री चयन गरिनुपर्छ । यसैमा देशको हीत छ । जनताको अभिमतको कदर पनि तव मात्र हुनेछ, जव बालेन प्रधानमन्त्री बन्नेछन् । उनको टीममा को-को हुने ? त्यो त उनी र रास्वपाको नेतृत्वले चयन गर्ने कुरा हो ।
केही आमसभा बाहेक यस पटक न धेरै ठूला आमसभाहरु भए । न त शीर्ष नेताहरु अन्य निर्वाचन क्षेत्रमा माहौल बनाउन जान सके । उनीहरु यति रक्षात्मक भए कि बिगतमा घरदैलो नगरेरै चुनाव जित्दै आएका उनीहरुले चुनाव अवधि भर घरदैलो गर्दा पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।
मतदाताले यस पटक कुनै दलका एजेण्डा न सुने । न पढे । उनीहरुले पुराना दलका सक्षम र नैतिकवान नेताहरुलाई समेत नकारे । पुराना दलका राम्रा उम्मेदवारहरु बढारिदा नयाँ पार्टीका विवादित अनुहारले फराकिलो अन्तरले जित निकाले ।
पुराना दलहरुका लागि यो परिणाम सुखद छैन् ।
तर अस्थिरताको दलदलमा फसेको देशका लागि यो परिणाम सुखद छ । किनकी अव मुलुकले स्थायी सरकार पाउनेछ ।
जनताले जे गरे ठिक गरे । जसलाई दिएपनि यस्तै प्रचण्ड बहुमत दिनुपथ्र्यो । पुरानालाई दिएको भए फेरि पनि जनतामा असन्तुष्टि, निराशा र आशंका रहिरहने थियो । कम्तिमा नयाँलाई बहुमत दिएका जनतासंग नयाँले अवसर नै पाएनन् भन्ने गुनासो गर्ने ठाँउ रहेन् । र, देश हाम्रो हातमा नपरेर पो, नत्र त हामी उहिल्यै बनाउथेउ भन्नेहरुलाई पनि अव त्यो भन्ने छुट रहेन् ।
अर्थ, विकास र विदेश नीति अव स्थिर हुनेछ । कहिल्यै भारतसंग झुक्ने, कहिले त्यही भारतसंग मुठ्ठी कस्ने । कहिले अमेरिकाको सत्तरोसराप गर्ने, कहिल्यै त्यही अमेरिकासंग सहयोगका लागि गुहार माग्ने । कहिले एमसीसी लाद्न कुनै कसर बाँकी नराख्ने । कहिले त्यही एमसीसीबाट आफूलाई ओभानोमा राख्न खोज्ने । कहिले धर्मलाई अफिम ठान्ने । कहिले भोटका लागि मन्दिरमा गएर ढोग्ने ।
अव बन्ने दुई तिहाईको एकमना सरकारले नीति ढुलमुल र अस्पष्ट हुने छैन् । एससीसी, एसपीपी, बीआरआई र त्यस्ता अनुदान र परियोजनाका बारेमा सरकारको प्रष्ट धारणा सार्वजनिक हुनेछ । परन्तु, किन्तु र वा ले काम गर्ने छैन् ।
मुलुकका लागि बोझ बनेको खर्चिलो प्रदेश सभा खारेज गर्ने । कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउने । नियुक्तिमा दल होईन, अब्बल व्यक्ति ल्याउने । सुशासन कायम गर्ने । रोजगारीका अवसर सृजना गर्ने । भ्रष्टाचारको अन्त्य गर्ने । रास्वपाले आफ्ना यी प्रतिवद्धता पुरा गर्नेछ ।
प्रचण्ड जितको उन्मादले मैमत्त नहोउन्, नयाँहरु । प्रतिशोध होईन, सहकार्यको नीति अपनाओस सरकार । सडक वा प्रतिपक्षमा भएजस्तो आक्रोश वा आरोप–प्रत्यारोपले सरकार सञ्चालन संभव हुदैन् । संसारभरी साना राष्ट्रहरुको सार्वभौमिकता र अस्तित्व संकटमा रहेको बेला ठूला दुई छिमेकी राष्ट्र र अमेरिकासंगको मैत्रीपूर्ण सम्बन्धलाई समधुर बनाईरहन त्यत्तिकै अपरिहार्य छ । असंलग्न परराष्ट्र नीति र छिमेकीसंगको सन्तुलित सम्बन्ध जति अपरिहार्य छ ।
