जनमोर्चाबाट २६ वर्ष राजनीति, रास्वपाबाट संसद्को यात्रा

द एभरेष्ट पोष्ट
२३ फागुन २०८२ २१:२१
जनमोर्चाबाट २६ वर्ष राजनीति, रास्वपाबाट संसद्को यात्रा

कैलाली। सुदूरपश्चिमको राजनीतिमा यतिबेला एउटा नयाँ तरंग पैदा भएको छ । वर्षौंदेखि पुराना र स्थापित दलहरूको ‘किल्ला’ मानिने कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक परिवर्तनको वेग यसरी चल्यो कि, जसले दशकौंदेखिको परम्परागत विरासतलाई ढालिदिएको छ ।

यो परिवर्तनको संवाहक बनेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगतप्रसाद जोशी । देशभर छाएको घण्टीको लहर र सुशासनको नाराले जोशीका लागि पनि संसद्को ढोका खोलिदिएको छ । करिब २६ वर्षसम्म राष्ट्रिय जनमोर्चा पार्टीको विचार र सिद्धान्तमा अडिग रहे पनि चुनावी अंकगणितमा पछि परेका थिए जोशी ।

तर यसपटक उनले मुख्य दलका बलियो प्रतिस्प्रधिलाई फराकिलो मतान्तरले हराएर जित निकालेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३७६ मतले पछि पार्दै जोशी विजय भएका हुन् । उनले २० हजार ३५९ मत प्राप्त गर्दा नेकपाका चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका हुन् ।

यस्तै नेकांग्रेसका बलियो उम्मेदवार मानिएका भीम बडुवाल तेस्रो स्थानमा रहे । उनले ९ हजार ७०६ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन् ।

यो क्षेत्रमा नेकपा एमाले चौथो स्थानमा झरेको छ । एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले २ हजार ३४७ मत प्राप्त गरे।

बझाङको जयपृथ्वी नगरपालिका–२ मा २०४३ सनलमा जन्मिएका जोशीले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । जोशी सामाजिक तथा अंग्रेजी विषय अध्यापन गराउने शिक्षक समेत हुन् । उनलाई योग प्रशिक्षकका रूपमा चिन्ने पनि धेरै छन् ।

निष्ठाको २६ वर्ष र त्यो एउटा निर्णय

२०५६ साल । जतिबेला देशमा माओवादी विद्रोह उत्कर्षमा थियो, बझाङका तन्नेरी जगतप्रसाद जोशी भने राष्ट्रिय जनमोर्चाको अखिल छैटौंबाट राजनीति सिक्दै थिए । जोशीले २६ वर्षसम्म जनमोर्चाको झण्डा छोडेनन् । जिल्ला सदस्य, सचिव हुँदै प्रदेश कार्यालय सचिवसम्मको जिम्मेवारी सम्हाले ।

२०६२/६३ को जनआन्दोलनमा उनी घाइते भए  तर उनको प्रजातन्त्रप्रतिको उनको आस्था घाइते भएन । वर्षौंसम्म एउटै विचार धारामा अडिग रहे । पटक-पटक चुनावमा पनि नहोमिएका होइनन् । तर विडम्बना  राजनीतिमा उनले जति पसिना बगाए पनि चुनावी नतिजा उनको पक्षमा आएन ।

२०७० को दोस्रो संविधानसभामा जम्मा ३६० मत पाएका जोशीले २०७९ को स्थानीय चुनावमा वडाध्यक्ष लड्दा १३७ मतमै चित्त बुझाउनुपरेको थियो । तर यो पटक उनको भाग्य र संयोग दुवै मिल्यो । धेरैले उनलाई अवसरवादीको आरोप पनि लगाए, तर उनले त्यसलाई निकासको खोजी भनेर अर्थ्याए ।

कक्षाकोठादेखि संसद्सम्म

जोशी राजनीतिज्ञ मात्र होइनन्, उनी एक कुशल शिक्षक पनि हुन् । विद्यालयमा सामाजिक र अंग्रेजी विषय पढाउँदा उनले सयौँ विद्यार्थीलाई देश प्रेम र नैतिकताको पाठ सिकाए । कक्षाकोठामा सुशासन र भ्रष्टाचारविरुद्ध कुरा गर्ने जोशीलाई आज जनताले त्यही पाठलाई व्यवहारमा उतार्ने जिम्मा दिएर संसद् पठाएका छन् ।

शिक्षण पेशा र योग प्रशिक्षकको अनुभवले उनलाई जनतासँग जोडिने बलियो आधार दियो । स्थानीय स्तरका विभिन्न संघसंस्थामा आबद्ध जोशीको प्राज्ञिक र नैतिक छवि नै यसपटकको चुनावमा उनको सबैभन्दा ठूलो पुँजी बन्यो ।

कैलाली–३ का मतदाताले जोशीलाई विश्वास गर्नुको पछाडि उनका स्पष्ट एजेन्डा पनि थिए । खुटिया र मोहना नदीको कटानबाट पीडित किसान हुन् वा मल र बीउ नपाएर छटपटाएका किसानहरू, जोशीले सबैको मर्मलाई एजेन्डा बनाए ।

देशभर चलेको घण्टीको लहरले उनलाई थप ऊर्जा दियो । तर जोशीका लागि यो यात्रा सहज पक्कै थिएन । उनीमाथि पार्टी फेरेको आरोप थियो । त्यसैमा कमजोर चुनावी इतिहास र स्थानीय संगठनको अन्योलता पनि थियो । तर, जब जनताले परिवर्तनको घण्टी बजाए, ती सबै चुनौती हराए ।

उनले हिजो जनमोर्चामा हुादा बोकेका सुशासनका एजेन्डा र आज रास्वपामा रहेर देखेका समृद्धिका सपना एउटै छन् । ती सपनालाई साकार पार्ने जिम्मेवारीसहित कैलाली-३ का जनताले उनको संसदीय यात्रा तय गरिदिएका छन् । अब त्यो यात्रालाई जिम्मेवारीपूर्वक पूरा गर्ने पालो आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस