परम्परागत किल्ला भत्काएर संसद्को यात्रामा चन्द
कैलाली । धनगढीको सडकमा यसपटक एउटा फरक दृश्य देखियो । परम्परागत राजनीतिक दलको पकड र शक्ति प्रदर्शनका बीच, एकजना सादगी र बौद्धिक व्यक्ति ‘परिवर्तन’ को घण्टी बजाउँदै मतदाताको घरदैलोमा पुगिरहेका थिए । जसको अनुहार र व्यवहार दुवैमा बौद्धिकता, इमानदारी र सादगीपन प्रस्ट देखिन्थ्यो ।
उनी थिए, रााष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार आनन्दबहादुर चन्द । कैलाली निर्वाचन क्षेत्र नं. ५ का सचेत मतदाताले यसपटक उम्मेदवार मात्र चुनेनन्, राजनीतिमा बौद्धिकता र विशेषज्ञताको पक्षमा मतदान गरे ।
कांग्रेस र एमालेको पकड क्षेत्र मानिने कैलाली-५ मा झन्डै २० हजार मतको अन्तरमा चन्द निर्वाचित भएका हुन् । निर्वाचन आयोगको मतपरिणाम अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८७६ मत पाए ।
आलेले यसअघिका प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट लगातार तीनपटक चुनाव जितेका थिए । यसपटक कैलाली-५ लाई चुनावी मैदान बनाएका आले तेस्रो स्थानमा खुम्चिए ।
नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरे भने यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारालाल राणाले १ हजार ७५५ मत ल्याएका छन् ।
राजनीतिमा नयाँ मानक
१४ जेठ २०३२ मा जन्मिएका चन्दको परिचय लामो समयसम्म एक प्राज्ञिक व्यक्तित्वमा मात्र सीमित थियो । त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा बिताएका उनले जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा पीएचडी पूरा गरेका छन् ।
कांग्रेस र एमालेको राम्रो पकड भएको यो क्षेत्रमा सुरुमा उनलाई बलियो उम्मेदवारको रुपमा हेरिएको थिएन । कांग्रेस-एमाले-नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने र चौथो स्थानमा रास्वपा आउन सक्ने आकलन धेरैको थियो । चुनाव नजिँकिदै गयो । फागुन ५ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेले पार्टीको पहिलो चुनावीसभा धनगढीबाटै सुरु गरे ।
त्यो दिन धनगढीमा रास्वपाको पक्षमा उर्लिएको जनलहरको प्रभाव कैलाली-५ मा पर्यो । फलस्वरुप चन्दलाई बलियो उम्मेदवारको रुपमा हेर्न थालियो । यद्यपि डोटीबाट ह्याट्रिक गरेका नेकपाका प्रेम आले र धनगढीमा सांगठनिक रुपमा बलियो छवि बनाएका कांग्रेसका नरनारायन शाहका अगाडि उनलाई कमजोर उम्मेदवार मानिन्थ्यो ।
तर यी सबै आकलनलाई गलत साबित गर्दै चन्दको विजयले सुदूरपश्चिमको राजनीतिमा एउटा नयाँ मानक स्थापित गरिदिएको छ ।
विश्वविद्यालयदेखि अन्तराष्ट्रियस्तरको अनुभव
विश्वका दर्जनौं देश पुगेर शिक्षा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका चन्दसँग अन्तर्राष्ट्रिय अनुभव पनि छ । विश्वका सुविधासम्पन्न सहर बस्ने थुप्रै अवसर हुँदाहुँदै चन्दले मौकाको फाइदा उठाएनन् । भौतिक सुखको चरम उत्कर्षमा पुगेका सहरभन्दा सुदूरपश्चिमका अभावहरूले उनलाई बढी झक्झकायो ।
‘मैले संसार देखेँ, सुविधासम्पन्न सहर देखेँ भोगेँ । तर मेरो मन त्यहाँ बसेन । आफ्नै क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा र बिरामीले उचित उपचार नपाएको देख्दा मन पोल्थ्यो,’ चुनावी अभियानका क्रममा उनले धेरै पटक भनेका थिए । त्यही छटपटीले उनलाई ‘सेफ जोन’ बाट बाहिर निकालेर राजनीतिमा होमिन प्रेरित गर्यो ।
कैलाली–५ सधैं प्रभावशाली नेताहरूको प्रतिष्ठाको विषय बन्दै आएको क्षेत्र हो । सुदूरपश्चिमको राजनीतिमा यो क्षेत्रलाई विशेष मानिन्छ । तर, चन्दका लागि यो निर्वाचन ‘बौद्धिकता भर्सेस परम्परागत राजनीति’बीचको लडाइँ थियो । विगतमा कुनै दलसँग आबद्ध नभएका चन्दले यसपटक रास्वपाको घण्टी रोज्नुका पछाडि बदलिँदो पुस्ताको आकांक्षा र तुरुन्तै परिणाम दिने राजनीतिको खोजी नै थियो ।
उनले चुनावी नारा मात्र बाँडेनन्, स्थानीय मुद्दालाई गहिरो गरी केलाए । गेटा मेडिकल कलेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने अठोट, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उनको स्पष्ट खाकाले धनगढीका सचेत मतदातालाई आकर्षित गर्यो ।
‘तपाईं मत बदल्नुहोस्, हामी देश बदल्छौं’ भन्ने उनको एउटै मन्त्रले धनगढीका युवा र सचेत वर्गमा ठूलो प्रभाव पार्यो । उनले मतदातालाई एउटै कुरा बुझाउन सफल भए– राजनीति केवल नाराले चल्दैन, यसका लागि स्पस्ट भिजन र विशेषज्ञता चाहिन्छ । यो निर्वाचन परिणामले कैलाली–५ का मतदाताको परिवर्तन भोक पनि प्रमाणित गरिदिएको छ ।
अब संसद्मा परीक्षा
विजय घोषणापछि पत्रकारसँग कुरा गर्दै चन्दले आफ्नो विजय निर्वाचन परिणाम मात्र नभएर कैलाली ५ का जनताको परिवर्तनप्रतिको चाहना र उज्यालो भविष्यप्रतिको विश्वास रहेको बताए ।
‘यहाँका जनताले दिएको मत समर्थन मात्र नभएर मेरा लागि ठूलो जिम्मेवारी हो । यो समय उत्सवको समय नभएर जिम्मेवारीको समय हो,’ उनले भने ।
जेन-जीको संघर्ष, समर्पण र बलिदानको जगमा आएको जनादेश भएकाले यसलाई उत्सवका रुपमा नभएर जिम्मेवारीका रुपमा लिनुपर्ने उनको भनाइ छ । आफूलाई कैलालीका मतदाताको विश्वास गरेर उम्मेदवार बनाएकामा रास्वपाप्रति पनि चन्दले आभार व्यक्त गरे ।
चन्दको विजयसँगै अब उनीमाथि अपार आशा थपिएका छन् । विश्वविद्यालयको शान्त वातावरणबाट संसद्को राजनीतिक थलोमा पुग्दा उनले आफ्ना शैक्षिक र स्वास्थ्य सुधारका योजनालाई कसरी कार्यान्वयन गराउँछन्, त्यो हेर्न बाँकी नै छ ।
