दार्चुलामा बेलुकी ७ बजेदेखि मतगणना सुरु हुने

द एभरेष्ट पोष्ट
२२ फागुन २०८२ १६:२८
दार्चुलामा बेलुकी ७ बजेदेखि मतगणना सुरु हुने

दार्चुला : दार्चुलामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना आज बेलुकी ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।मुख्य निर्वाचन अधिकृत भुवन गिरिका अनुसार सर्वदलीय बैठकपछि मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको उपस्थितिमा भएको बैठकले मतगणना प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने सहमति गरेको हो ।

हिजो सम्पन्न भएको मतदानमा दार्चुला जिल्लामा ५३।७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ४९ हजार ९६८ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सर्वदलीय बैठकले प्रारम्भिक चरणमा जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त मतपेटिकाको मतगणना सुरु गर्ने निर्णय गरेको छ । जसअनुसार सुरुमा व्यास, दुहुँ, शैल्यशिखर, महाकाली, लेकम, नौगाड, मार्मा, अपिहिमाल र मालिकार्जुन गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गिरिले जानकारी दिए ।

मतगणनालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षासहितको व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सुरक्षाकर्मी, कर्मचारी तथा दलका प्रतिनिधिको उपस्थितिमा मतगणना गरिने बताइएको छ ।

जिल्लामा मतपेटिका संकलनको काम पनि सम्पन्न भइसकेको छ । सबै स्थानीय तहबाट मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याएर मतगणनास्थलमा राखिएको  प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । मतगणना सुरु भएसँगै आज रातिदेखि नै प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस