कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
कञ्चनपुर: प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी १ हजार ८३० मतसहित अग्रस्थानमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार धामी पछि नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ एक हजार ५१९ मतसहित दोस्रो स्थानमा छन् । यो क्षेत्रमा कूल ६१ हजार ७४ मत खसेको थियो ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायम छ । सात हजार ३७२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदले दुई हजार २८० मत ल्याएका छन् ।
एमालेका बचन बहादुर सिंहले एक हजार ११२ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार माधव पन्तले एक हजार ४०९ मत प्राप्त गरेका छन् । कञ्चनपुर २ मा ६४ हजार ८८१ मत खसेको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता दुई हजार १२२ मतसहित अग्रस्थानमा छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ८८० मत ल्याएका छन् भने एमालेका दीपक प्रकाश भट्टले ९०६ मत प्राप्त गरेका छन् । नेकपाका मान बहादुर सुनार ५२७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो ।
