कांग्रेसले अछामका दुवै क्षेत्रमा उम्मेदवार टुंग्यायो
अछाम। कांग्रेस अछामले उम्मेद्वारको टुंगो लगाएको छ। अछाम-१ मा कांग्रेस अछामका पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति पुष्पपबहादुर शाह उम्मेदवार तय भएका छन्।
स्वाँर कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए भने शाह शेरबहादुर देउवाको पक्षमा खुलेका थिए। सभापति गगन थापा पक्षका स्वाँर र देउवा पक्षका शाह गरी दुवैलाई टिकट दिएपछि अछाममा पार्टी फुटको चरणबाट जोगिएको चर्चा हुन थालेको छ।
२०३३ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका स्वाँर एक पटक जिल्ला विकास समितिको सभापति र पार्टीको जिल्ला सभापति भइसकेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट उम्मेदवार बनेका स्वाँर तत्कालीन एमालेका उम्मेद्वार भीम रावलसँग पराजित भएका थिए । स्वाँर दोस्रो पटक प्रतिनिधिसभा उम्मेद्वार भएका छन्।
अछाम-२ मा शाह तेस्रो पटक प्रतिनिधिसभा उम्मेद्वार भएका छन् । २०७४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार यज्ञबहादुर बोगटीसँग पराजित भएका शाहले ०७९ मा भने उनै बोगटीलाई पराजित गरेर संसदीय यात्रा सुरु गरेका थिए । यसपटक पनि एमालेबाट बोटगी र कांग्रेसबाट शाह चुनावी मैदानमा भेटिने भएका छन् ।
अछाम-२ मा शाह, बोगटीसँगै नेपाली कम्युनिस्ट पार्टीबाट शरदसिंह भण्डारी, रास्वपाबाट भूपदेव शाह चुनावी मैदानमा छन् ।
