कञ्चनपुर–२ मा प्रचण्डले दिए दुई जनालाई टिकट
कञ्चनपुर: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर क्षेत्र नम्बर २ मा दुई जनालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि शनिबार नेकपाले कञ्चनपुरका ३ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको थियो।
कञ्चनपुर– २ मा नेकपाका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼको हस्ताक्षरमा दुई जनालाई टिकेट वितरण गरिएको पाइएको छ।
क्षेत्र नम्बर २ मा साबिक नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष लालबहादुर खड्कालाई टिकट दिएको थियो। खड्का अघिल्लो पटक नेकपा एमालेको तर्फबाट प्रदेशसभामा निर्वाचित भएर सामाजिक विकासमन्त्री भएका हुन्।
तर अहिले सोही नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले साबिक नेकपा एकीकृतकै माधव पन्तलाई टिकट दिएका छन्। टिकट पाएका पन्तले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनलाई टिकट दिँदै प्रचण्डले शुभकामना समेत दिएका छन्। ‘एउटा युवा बुद्धिजीवी पनि युवा नेता पनि कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिनु भएको छ,’पन्तलाई टिकट दिँदै प्रचण्डले भनेका छन्,‘हामीलाई विश्वास छ उहाँ विजयी भएर आउनुहुने छ। अग्रिम बधाई र शुभकामना पनि छ। ’ उक्त भिडियोमा सहसंयोजक नेपालले पनि बधाई दिएका छन्।
एउटा निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिएपछि यहाँका कार्यकर्ता असन्तुष्ट बनेका छन् भने कुन उम्मेदवार आधिकारिक हो भन्ने अन्योल छ।
नेकपा कञ्चनपुरका नेता खेमराज पाण्डेले यसअघि उक्त क्षेत्रमा लाल बहादुर खड्काको नाम टुंगो लागेको भएपनि आज पन्तलाई टिकट दिएको जानकारी पाएको बताए। ‘यसबारेमा माथिल्लो निकायमा के रहेछ म बुझ्दै छु,’उनले भने, पाण्डे साबिकको नेकपा माओवादीका जिल्ला इन्चार्ज हुन्। ३ वटा क्षेत्र रहेको कञ्चनपुरमा नेकपाले क्षेत्र नम्बर १ मा विना मगर र ३ मा मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ।
