व्यवसायीहरूका समस्या समाधान गर्न तयार छौं: राष्ट्र बैङ्क, धनगढी कार्यालय प्रमुख केसी
यशोदा शर्मा
कैलाली । नेपाल राष्ट्र बैङ्क धनगढी कार्यालयका प्रमुख केशव बहादुर केसीले व्यवसायीहरूका समस्याहरू समाधान गर्न आफू तयार रहेको बताएका छन् । आज धनगढीमा आयोजित तथ्याङ्क प्रदायक स्रोत व्यवसायका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले उठाएका विभिन्न मुद्दा र समस्याहरूलाई सम्बोधन गर्दै प्रमुख केसीले व्यवसायीहरूका समस्याहरू सम्बोधन गर्न आफू कटिबद्ध रहेको बताएका हुन्।
उनले भने,” तपाईँहरू समस्यामा पर्नुका कारणहरू के के छन् लेखेर दिनुस्, तीसँग सम्बन्धित कागजातहरू हाम्रो कार्यालयमा बुझाउनुस्, हामी तपाईँहरूका समस्याहरू सकेसम्म समाधान गर्ने प्रयास गर्छौँ। उनले थपे, एउटा व्यक्ति खराब होला तर पुरै संस्था नै नराम्रो हुन्छ भन्ने हुँदैन त्यसैले तपाईँहरूका जस्तोसुकै गुनासोहरू हामी जतिखेर पनि सम्बोधन गर्न तयार छौँ।”
अहिले बैङ्किङ क्षेत्र नभए पनि हुन्छ, हामीलाई बैङ्क नै चाहिँदैन भन्ने सोचाई ग्राहकहरूमा रहे पनि देशको आर्थिक वृद्धिमा बैङ्कहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । साथै बैङ्किङ प्रणालीलाई बलियो बनाउन सबैलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन्।
यस्तै कार्यक्रममा राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागका निर्देशक राजेन्द्र राज सुवेदीले उपभोग वृद्धिका लागि बाहिरबाट आएको आयातित वस्तुभन्दा राष्ट्रिय वस्तु तथा सेवाको उत्पादनलाई बढाउनुपर्नेमा जोड दिएका छन् ।
व्यवसायीहरूका समस्या र सुझावहरू सङ्कलन गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न उद्योग तथा बैङ्किङ क्षेत्रमा आबद्ध व्यवसायीहरू सहभागि थिए।
