प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

द एभरेष्ट पोष्ट
२३ पुष २०८२ ७:०४
प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

काठमाडौँ — चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् ।

जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी छन् । तर प्रधानमन्त्रीले राजीनामा माग्दासमेत उनीहरूले ढिलासुस्ती गरिरहेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी लिएका घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता गराउने निर्णायक बैठकमा खेलकुदमन्त्री गुप्ता पनि सक्रिय थिए । खरेल पनि रास्वपाको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । तर, कुनै पनि दलमा सक्रिय नभएको तीनै मन्त्रीको भनाइ छ ।

सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै उनीहरूका राजीनामा मागेकी छन् । ‘निर्वाचन लड्ने तयारी गरिरहनुभएका साथीहरू निर्वाचनमा भाग लिन र उम्मेदवार हुन स्वतन्त्र हुनुहुन्छ,’ प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको सुरु र अन्तिममा भनेकी थिइन्, ‘तपाईंहरूले सरकारबाट अलग भइदिएर सहयोग गरिदिनुहोला ।’

मन्त्री घिसिङले निर्वाचनमा भाग लिन आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । पूर्वऊर्जा सचिव अनुप उपाध्यायको नेतृत्वमा रहेको उक्त दल रास्वपासँग एकीकरण भएको छ र घिसिङ रास्वपाका वरिष्ठ उपसभापति बनिसकेका छन् । उनले रास्वपामा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा १८ जना सांसदको कोटासमेत पाएका छन् ।

तर मन्त्री घिसिङले आफू कुनै पनि दलको सदस्य नभएको दाबी गरे ।

प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा खरेललाई समेत लक्षित गर्दै राजीनामा मागेकी हुन् ।

२८ वर्षका कान्छा मन्त्री गुप्ता रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्तामा सक्रिय थिए । १४ पुसमा रास्वपा र उज्यालो नेपाल पार्टी एकता भएर ७ बुँदे सहमति हुँदा गुप्ता ती दलका नेताहरूसँगै वार्ता स्थलमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस