मन्त्रिपरिषद्ले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न दियो स्वीकृति

द एभरेष्ट पोष्ट
२२ पुष २०८२ ७:०५
मन्त्रिपरिषद्ले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न दियो स्वीकृति

काठमाडौं । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

‘नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदिश खरेलले भने ‘नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै ५० वर्षपछि श्रम सम्झौता हुन लागेको हो । नेपाल र ओमानबीच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।

सरकारी संयन्त्र मार्फत नेपाली श्रमिक (केयरगिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो । सम्झौता भएको पाँच वर्षपछि नवीकरण प्रक्रिया अगाडि बढेको थियो । २०७७ को सम्झौतामा स्वतः नवीकरण हुने प्रावधान नराखिएकाले त्यही सम्झौतालाई नयाँ सम्झौताको रूपमा बढाइएको थियो ।

इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६० वर्ष पुगेको अवसरमा २०७७ सालमा दुइटा सम्झौता गरिएको थियो । श्रम सम्झौता र नेपालको कृषिलाई प्रविधि मार्फत आधुनिकीकरण गर्न ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेस’ स्थापना गर्न सम्झौता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस