गर्भमा लिङ्ग पहिचान गराए एक वर्षसम्म कैद हुने

द एभरेष्ट पोष्ट
२१ पुष २०८२ १४:४२
गर्भमा लिङ्ग पहिचान गराए एक वर्षसम्म कैद हुने

 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य गरे एक वर्षसम्म कैदको सजाय हुने स्पष्ट पारेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै गर्भमै लिङ्ग पहिचान गर्नु वा गराउनु गैरकानुनी रहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन । यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैदको सजाय हुने कानुनी व्यवस्था छ ।

“गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै पनि परीक्षण, प्रविधि वा प्रक्रियाको प्रयोग गर्न पाइँदैन । कसैले यस्तो कार्य गरे वा गराएमा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।” सूचनामा उल्लेख छ

छोरीको जन्म सुनिश्चित गर्न र विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न सबै नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई कानुनको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।

लिङ्गका आधारमा हुने भेदभावले सामाजिक असन्तुलन सिर्जना गर्ने भएकाले यस्ता अभ्यास रोक्न सबैको सहकार्य आवश्यक रहेको मन्त्रालयको भनाइ छ। छोरी र छोराबीच समान व्यवहार गर्दै सुरक्षित मातृत्व र शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार गर्भको शिशुको लिङ्ग पहिचान गर्नु चिकित्सकीय आचारसंहिताविपरीत तथा कानुनद्वारा दण्डनीय अपराध हो । मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस