एनपीएलको ट्रफी टुर सुदूरपश्चिममा सुरु

द एभरेष्ट पोष्ट
२२ कार्तिक २०८२ १३:४६
एनपीएलको ट्रफी टुर सुदूरपश्चिममा सुरु

कैलाली- सुदूरपश्चिम प्रदेशमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर सुरु भएको छ ।

सुदूरपश्चिम रोयल्सले कैलालीको टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्राङ्गणबाट ट्रफी टुरको शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुको पनि उपस्थिति रहेको थियो ।

ट्रफी टुर कार्यक्रमको शुभारम्भ कार्यक्रममा क्यानका अध्यक्ष चन्दले नेपाली क्रिकेटको उचाइमा सुदूरपश्चिमको महत्त्वपूर्ण योगदान रहेको बताए । ‘सुदूरपश्चिम नेपाली क्रिकेटको हब बनेको प्रति गौरव महसुस हुन्छ,’ उनले भने, ‘क्रिकेट नेपाललाई विश्वसामु चिनाउने माध्यम बन्दै गएको छ ।’ मेयर थारुले टीकापुरबाट ट्रफी टुरको शुभारम्भ गरेकोप्रति धन्यवाद व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्स प्रा.लि.का अध्यक्ष स्वतन्त्रप्रताप शाहले ऐतिहासिकस्थलबाट ट्रफी टुरको शुभारम्भ गर्न पाउँदा गौरवको अनुभूति भइरहेको बताए । ‘टीकापुर पार्कबाटै राजा महेन्द्रले केही दिन देशको शासन सत्ता चलाएका थिए,’ टीकापुरकै स्थानीयसमेत रहेका शाहले भने, ‘टीकापुर पार्कको ऐतिहासिक महत्त्वलाई प्रचार गर्ने उद्देश्यले ट्रफी टुर शुभारम्भका लागि छनोट गरिएको हो ।’

उनले टीकापुर नगरपालिकाले क्रिकेट मैदान निर्माणका लागि पहल गरे आवश्यक सहयोग गर्न तयार रहेको बताए । शाहले एनपीएल सिजन– २ को विजेता बनेर सुदूरपश्चिम रोयल्सको विजय यात्रासमेत टीकापुरबाटै सुरु गर्ने सोच रहेको बताए । सुदूरपश्चिम रोयल्स एनपीएल सिजन– १ को उपविजेता हो ।

दुई दिनसम्म जारी रहने ट्रफी टुर आज कैलालीका विभिन्न क्षेत्रको भ्रमणपछि कञ्चनपुर पुग्नेछ । भोलि कञ्चनपुरबाट सुरु भएको ट्रफी टुर कैलालीको धनगढी पुगेर समापन हुने बताइएको छ । समर्थकसँग भेटघाट र उत्साह बाँड्ने उद्देश्यले ट्रफी टुरको आयोजना गरिएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस