कुलिङ पिरियड विवाद : छानबिन समितिको संयोजकमा जीवन परियार

द एभरेष्ट पोष्ट
२३ असार २०८२ १७:०१
कुलिङ पिरियड विवाद : छानबिन समितिको संयोजकमा जीवन परियार

काठमाडौं : संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समिति गठन भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो ।

सभामुख देवराज घिमिरेले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ,एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेको छ भने समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ। निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

समितिको प्रतिवेदनमा छेडखानी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानुन बमोजिम कारवाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो ।

तर,प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा कुलिङ पिरियडमाथि छेडखानी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस