तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्याउन आग्रह

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।
काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो।
आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै उनलाई बिनापूर्जी घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ।
घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानवीय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लंघनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उनले बताए। आयोगमा उक्त घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापनपत्रसमेत प्राप्त भएका जनाइएको छ।