छाउगोठमा बसे सेवासुविधा रोकिने

द एभरेष्ट पोष्ट
२१ चैत २०८१ १२:१२
छाउगोठमा बसे सेवासुविधा रोकिने

अछाम, चैत २२ गते । अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ । महिनावारी भएका बेला महिलाले आफ्नै घरको कोठामा बस्नुपर्ने निर्णय सो पालिकाले गरेको छ । सो निर्णयलाई उल्लङ्घन गरी छाउगोठमा बसेमा गाउँपालिकाबाट दिइने सुविधा नदिने निर्णय गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

छाउ प्रथाका कारण यहाँका धेरै महिला बलात्कार हुनुका साथै जङ्गली जनावरको त्रास र आगलागीलगायतका घटनाले महिलाको ज्यान जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।  महिला महिनावारी भएको बेलामा आफैँ छाउगोठमा बस्ने तथा उनीहरूलाई कोही कसैले पनि छाउगोठमा बस्न बाध्य बनायो भने उनीहरूलाई कारबाही गर्ने चौरपाटी गाउँपालिकाले जनाएको छ ।

छाउ प्रथा कुप्रथाका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्ने गरी गाउँपालिकाले यो निर्णय गर्ने चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । उनले भने, “गाउँपालिकाले छाउ प्रथा उन्मूलन गर्ने उद्देश्यले यहाँका महिलाले छाउगोठमा बस्यो अर्थात् उनीहरूलाई महिनावारी भएको बेलामा कसैले छाउगोठमा बस्न बाध्य बनायो भने उनिहरूले पालिकाबाट पाउँदै आएको सरकारी सेवा, सुविधा रोकिदिने निर्णय गरिने जानकारी दिए ।”

चौरपाटी गाउँपालिकामा छाउगोठमुक्त गर्ने गरेर अभियान सुरु गर्ने भएको छ । जसका लागि उपाध्यक्षको संयोजकत्वमा ११ जनाको समिति बनाइने अध्यक्ष साउदले बताए । अछाम जिल्लाभर छाउप्रथा कायम रहेको छ । पहिले जस्तो नभए पनि अहिले केही गाउँबस्तीमा अझै छाउगोठ निर्माण हुने रहेका छन् ।

अछाममा कहाँ के कति छाउगोठ निर्माण भएका छन् त्यसको एक पटक पूरै अनुगमन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उनले भने, “छाउ प्रथा कुप्रथा तथा सामाजिक अपराध भए पनि यहाँका धेरै गाउँबस्तीमा यो प्रथा कायम रहेको छ ।” महिला महिनावारी भएका बेला छाउगोठमा बास बस्दा विभिन्न समयमा गरेर १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस