ट्रम्प र जेलेन्स्कीको भेट कसरी चर्को बहसमा परिणत भयो?

द एभरेष्ट पोष्ट
१७ फागुन २०८१ ११:५७
ट्रम्प र जेलेन्स्कीको भेट कसरी चर्को बहसमा परिणत भयो?

वासिङ्टन डिसी । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबिच भएको भेट चर्को बहसमा परिणत भयो।

ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको र यदि उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने स्पष्ट गरे । ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।  ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाए।  यसैबिच, जेलेन्स्कीले भने, ’हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

ट्रम्प र जेलेन्स्कीबिचको बहसको क्रममा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभा अत्यन्तै तनावमा देखिएकी थिइन्।

ओभल अफिसबाट जारी गरिएको भिडियोमा युक्रेनी राजदूतले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ। ओक्साना ओभल अफिसमा दुवै नेताहरूको नजिकै बसिरहेकी थिइन् र उनको चिन्ता विश्व मिडियाको क्यामेराले कैद गरेको थियो।

8b43e9e0-f638-11ef-896e-d7e7fb1719a4.jpg

जेलेन्स्कीले दुई देशबिच बहुमूल्य खनिजसम्बन्धी सम्झौता गर्न अमेरिकाको भ्रमण गरेका थिए तर यो सम्झौता अब असफल भएको छ।

दुई नेताबिचको चर्को बहसका कारण बैठकपछि तय भएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो।

बैठकपछि, ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट सेयर गर्दै जेलेन्स्कीमाथि धेरै आरोप लगाए। ट्रम्पले भने, ‘बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।’

ट्रम्पले थप भने, “उनले अमेरिकाको अपमान गरेका छन्। यदि उनी शान्ति चाहन्छन् भने यहाँ फर्केर आउन सक्छन्।’

fc541420-f606-11ef-9e61-71ee71f26eb1.jpg

यो घटनापछि जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै युक्रेनले पनि शान्ति चाहेको जिकिर गरे ।

उनले लेखे, ‘धन्यवाद अमेरिका, धन्यवाद तपाईंको समर्थनको लागि, धन्यवाद यस भ्रमणको लागि, अमेरिकी राष्ट्रपति, कंग्रेस र अमेरिकी जनतालाई धन्यवाद। युक्रेन केवल र केवल शान्ति चाहन्छ र हामी त्यसको लागि काम गरिरहेका छौँ।’

उनले अमेरिकी टिभी च्यानल फक्स न्यूजलाई अन्तर्वार्ता पनि दिए। यस क्रममा उनले विश्व मिडियाको अगाडि ओभल अफिसमा जे भयो त्यो ‘राम्रो नभएको’ बताए।

यद्यपि, उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध बचाउन सकिन्छ भन्नेमा पूर्ण विश्वस्त रहेको आशा पनि व्यक्त गरे।

कहाँबाट सुरु भयो बहस ?

यसअघि, जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनसँगको शान्ति वार्तामा ‘कुनै सम्झौता’ हुनु हुँदैन भनेर बताएका थिए।

तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कूटनीतिबाट युद्ध अन्त्य गर्न सकिने बताएपछि दुई नेताबिच बहस सुरु भयो।

जेलेन्स्कीले भान्सलाई सोधे, ‘तपाईं कस्तो प्रकारको कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ?’

db9d7c70-f607-11ef-8c03-7dfdbeeb2526.jpg

जवाफमा, भान्सले भने, ‘म त्यो कूटनीतिको बारेमा कुरा गर्दैछु जसले तपाईंको देशमा भइरहेको विनाशलाई रोक्न सक्छ।’

भान्सले थप सोधे, ‘के तपाईंले बैठकको क्रममा एक पटक पनि धन्यवाद भन्नुभयो?’

जेलेन्स्कीले जवाफ दिए, ‘मैले धेरै पटक धन्यवाद भनेको छु।’

ट्रम्पले युक्रेनले जित्न नसकेको दाबी गरे

त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई भने, ‘युक्रेन अहिले ठुलो समस्यामा छ र उनीहरूले रूससँग युद्ध जित्न सक्दैनन्।’

उनले थपे, ‘तर यदि तपाईं हामीसँग हुनुहुन्छ भने, तपाईंसँग यसबाट बाहिर निस्कने मौका छ।’

91f39b40-f607-11ef-9e61-71ee71f26eb1.jpg

भेटमा ट्रम्पले युद्धको समयमा युक्रेनलाई दिइएको सहयोगको मुद्दाको बारेमा कुरा गरे। ट्रम्पले भने, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौF। हामीले तपाईंलाई सैन्य उपकरणहरू दिएका छौँ। यदि हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा समाप्त हुने थियो।’

ट्रम्पले भने, ‘यदि मैले तपाईंहरू (रुस र युक्रेन) लाई बिचमा ल्याइनँ भने, तपाईं कहिल्यै सम्झौता गर्नुहुने छैन।’

‘तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ। अर्को पक्षलाई पनि मन पर्ने केही छैन। तपाईं मलाई सख्त बनाउन चाहनुहुन्छ र म संसारको अरू कोही भन्दा कडा हुन सक्छु। तर तपाईंले त्यसरी सम्झौता गर्न सक्नुहुन्न।’

युद्धविरामको बारेमा जेलेन्स्कीले के भने?

ट्रम्पले जेलेन्स्कीलाई  यदि युद्धविराम हुन्छ भने, युक्रेनले तुरुन्तै यसलाई स्वीकार गर्नुपर्ने बताए ।

ट्रम्पले भने, ‘यदि युद्धविराम भएको छ भने युक्रेनले तुरुन्तै यसलाई स्वीकार गर्नुपर्छ ताकि गोलाबारी रोकियोस्।’

जेलेन्स्कीले आफूले पनि युद्ध रोक्न चाहेको भनेर जवाफ दिए।

69b3a6c0-f607-11ef-aa28-abbfea60ff44.jpg

तर ट्रम्पले उनलाई रोक्दै भने, ‘तर तपाईं युद्धविराम चाहनुहुन्न भन्दै हुनुहुन्छ।’

जवाफमा जेलेन्स्कीले भने, ‘हामीलाई ग्यारेन्टी सहितको युद्धविराम सम्झौता चाहिन्छ।’

जेलेन्स्कीले ट्रम्पलाई युक्रेनका जनतालाई युद्धविरामको बारेमा के चाहन्छन् भनेर सोध्न पनि भने।

पहिले पनि आरोप प्रत्यारोप

बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसले युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट ‘अलग कोठा’ मा सरेको रिपोर्ट गरेको छ।

त्यहाँ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेश सचिव मार्को रुबियोले उनीहरुलाई ह्वाइट हाउस छोड्न भने।

a9b3c6b0-f607-11ef-9e61-71ee71f26eb1.jpg

त्यसपछि युक्रेनी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिर निस्किरहेको देखियो।

हालै, अमेरिका र रुसका प्रतिनिधिहरूले रुस र युक्रेनबिच चलिरहेको युद्ध अन्त्य गर्न वार्ता गरेका थिए ।

यस वार्तामा युक्रेनलाई समावेश गरिएको थिएन। त्यसपछि जेलेन्स्कीले ट्रम्पमाथि प्रश्न उठाएका थिए र ट्रम्प गलत सूचनाको बिचमा रहेको दाबी गरेका थिए।

ट्रम्पले पनि पछिल्ला केही दिनमा धेरै पटक जेलेन्स्कीलाई निशाना बनाउँदै उनलाई ‘तानाशाह’ सम्म भनेका छन्।

रुस र युक्रेनबिच विगत तीन वर्षदेखि युद्ध चलिरहेको छ।

शुक्रबार भएको बैठकमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबिच युक्रेनको दुर्लभ खनिज पदार्थको सम्बन्धमा सम्झौता हुने सम्भावना थियो।

तर ट्रम्प र जेडी भान्ससँगको चर्को बहस पछि, जेलेन्स्कीले यो सम्झौतामा अब कहिले हस्ताक्षर गर्छन् भनेर हेर्न बाँकी छ।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Sexuality education is quietly ignored in Kailali schools

१७ असार २०८२ १३:२१

खोज्नुहोस