राष्ट्रिय सभाको बैठकमै ढले सांसद भट्ट, उपचार हुदै

काठमाण्डौं, २० माघ ।
राष्ट्रिय सभा बैठक चलिरहँदा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद नारायणदत्त भट्ट बैठकमै ढलेका छन् ।

उच्च रक्तचाप र सुगरका बिरामी भट्ट उच्च रक्तचापका कारण बैठकमै ढलेको बताईएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्न नाम टिपाएका भट्ट बोल्नुअघि नै ढलेका हुन् । भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।

‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ । ‘राष्ट्रियसभाको स्वास्थ्य कक्षमा माननीयज्यूको उपचार भइरहेको छ,’ स्रोतले भन्यो ।

नेपाली काँग्रेस कैलालीका सभापति भट्ट अपांग कोटामा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाको सांसदमा निर्वाचित भएका थिए ।

क्यानडाले अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने

ओटावा । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् ।

दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले नाटकीय स्वरमा भने, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।”

पहिलो चरणमा मङ्गलबार ३० अर्ब क्यानेडियन डलर मूल्य बराबरका अमेरिकी वस्तुहरूमा भन्सार महसुल लगाइने र तीन हप्तामा थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्य बराबरका उत्पादनहरूमा थप भन्सार महसुल लगाइने छ ।

“हामी निश्चित रूपमा तनाव बढाउन खोजिरहेका छैनौँ तर हामी क्यानाडा, क्यानाडालीहरू र क्यानाडाली रोजगारीका लागि उभिनेछौँ”, ट्रुडोले भने, “अझै धेरै, धेरै कुरासहित अमेरिकी बियर, वाइन र बर्बनका साथै फलफूल, तरकारी, उपभोक्ता उपकरण, काठ र प्लास्टिक जस्ता ‘दैनिक वस्तुहरू’ मा भन्सार महसुल लागू हुनेछ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।

संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातले मङ्गलबारदेखि २५ प्रतिशत करको सामना गर्नेछ । यद्यपि क्यानाडाबाट आउने ऊर्जा स्रोतहरूमा १० प्रतिशत कम कर लाग्नेछ ।

व्यापार द्वन्द्वले क्यानाडाली र अमेरिकीहरू दुवैका लागि ‘वास्तविक परिणामहरू’ ल्याउने ट्रुडोले बताए । यसमा रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने, सवारी साधन असेम्बली प्लान्टहरू सम्भावित बन्द हुने र क्यानाडाली निकेल, पोटास, युरेनियम, स्टिल र एलुमिनियमको पहुँचमा बाधा पुग्ने जस्ता समस्याहरू समावेश छन् ।

– हामीलाई विभाजित गर्ने –

प्रधानमन्त्री ट्रुडोले क्यानाडाले इरान बन्धक सङ्कट र अफगानिस्तान युद्धदेखि हरिकेन क्याट्रिना र हालैका क्यालिफोर्निया डढेलो जस्ता घातक प्राकृतिक प्रकोपहरूसम्म अमेरिकाको ‘अँध्यारो समय’ मा साथ दिएको स्मरण गराए ।

“यदि राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाका लागि नयाँ स्वर्ण युगको सुरुआत गर्न चाहनुहुन्छ भने क्यानाडासँग साझेदारी गर्नु राम्रो बाटो हो, हामीलाई सजाय दिनु होइन । दुर्भाग्यवश आज ह्वाइट हाउसले लिएका कदमहरूले हामीलाई एकजुट गर्नुको साटो विभाजित गरेका छन् ।”

यसअघि ट्रुडोले प्रान्तीय प्रिमियरहरूसँग परामर्श गरेका थिए । उनीहरूले प्रत्येकले पछि स्थानीय पसलहरूबाट अमेरिकी मदिरा हटाउने र आफ्ना व्यापारिक सम्बन्धलाई तुरुन्तै विविधीकरण गर्न खोज्ने जस्ता अतिरिक्त कदमहरू चाल्ने बताएका छन् ।

अल्बर्टाकी प्रिमियर डेनिएल स्मिथले अमेरिकी भन्सार महसुललाई ‘पारस्परिक विनाशकारी नीति’ भन्दै यसले ‘हाम्रा दुई राष्ट्रबीचको महत्त्वपूर्ण सम्बन्ध र गठबन्धनमा तनाव’ ल्याउने बताए ।

ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अझ अगाडि बढेर अमेरिकी भन्सार महसुललाई ‘हाम्रा देशहरूबीचको ऐतिहासिक बन्धनको पूर्ण विश्वासघात’ भने ।

“यो एक विश्वसनीय सहयोगी र मित्रविरुद्धको आर्थिक युद्धको घोषणा हो”, सम्बन्धमा पर्ने क्षति दीर्घकालीन हुने चेतावनी दिँदै उनले भने, “हामी फेरि कहिल्यै ह्वाइट हाउसमा बस्ने एक व्यक्तिको लहडको अधीनमा रहने छैनौँ ।” यसैबीच ओटावामा ओटावा सिनेटर्स र मिनेसोटा वाइल्डबीचको एनएचएल हकी खेलमा क्षमताभन्दा बढी दर्शकहरूले खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रिय गान गाउँदा विरोध जनाएका थिए ।

 

पुस्तक चर्चा: योगीको आत्मकथा 

-प्रेम राज अवस्थी

पढ्ने सूचीमा लामो समयदेखि राखिएको पुस्तक अन्ततः पढिसकेपछि, यसले दिएको सकारात्मक ऊर्जा अरूसँग पनि बाँड्नुपर्छ जस्तो लाग्यो। यही उद्देश्यले यहाँ पुस्तकको संक्षिप्त चर्चा गर्न गइराखेको छु। विश्वभर चर्चित र सबैभन्दा बढी बिक्री भएका पुस्तकहरूमध्ये एक, श्री परमहंस योगानन्दजी द्वारा लिखित “योगीको आत्मकथा” पढ्ने अवसर मिल्यो। लाखौँ मानिसको जीवनमा गहिरो आध्यात्मिक प्रभाव पार्न सफल यस पुस्तकले यति व्यापक चर्चा पाउनुको कारण के होला? यही जिज्ञासाले प्रेरित भएर यसको संक्षिप्त चर्चाको प्रयास गरेको छु।

पुस्तकको सम्पूर्ण विश्लेषण गर्न गहिरो अध्ययन, समय, र एकाग्रता आवश्यक पर्छ। तथापि, संक्षेपमा भन्नुपर्दा, योगानन्दजी यो आत्मकथामा उहाँको प्रारम्भिक जीवनदेखि पश्चिमी मुलुकहरूमा क्रिया योग र आध्यात्मिकता प्रवर्द्धन गर्न गरेका यात्रासम्मका रोचक तथा विचारमग्न प्रसङ्गहरू समेटिएका छन्। यस पुस्तकको गहिराइ बुझ्न ध्यानपूर्वक पढ्नु आवश्यक छ, किनभने पढिसकेपछि पनि यसका गहन विचारहरू मनन गर्न समय दिनुपर्छ।

लगभग ८० वर्ष अघि लेखिएको “योगीको आत्मकथा’’ पुस्तकले सन् २०११ पछि अझ व्यापक चर्चा पायो जब स्टिभ जब्स ( प्रविधि क्षेत्रका चर्चित व्यक्ति र एप्पल कम्पनीका संस्थापक) को अन्त्येष्टिमा उनको इच्छा मुताबिक ५०० प्रतिहरू वितरण गरियो। स्टिभ जब्स ‘’योगीको आत्मकथा’’ पुस्तकलाई आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण र प्रिय पुस्तक मान्थे। जब्सले पहिलो पटक किशोरावस्थामा यस पुस्तकलाई पढेका थिए, र त्यसपछि जीवनभर पटक–पटक अध्ययन गरीरहे। त्यसै गरी विराट कोहली, रजनीकान्त, मनोज बाजपेयी जस्ता ख्यातिप्राप्त व्यक्तिहरूले पनि यस पुस्तकले आफ्नो सोच र दृष्टिकोणमा मा पारेको प्रभावबारे खुलेर चर्चा गरेका छन्।

सन् १८९३ मा भारतको गोरखपुरमा जन्मिएका पुस्तकका लेखक श्री परमहंस योगानन्दको वास्तविक नाम मुकुन्दलाल घोष थियो। उनमा बाल्यकालदेखि नै योग र अध्यात्मको गहिरो प्रभाव परेको थियो, जसका कारण उनले सानै उमेरमा विभिन्न साधु-सन्तहरू संग सत-संग गरेका थिए ।

आफ्नो आध्यात्मिक यात्रामा उनले स्वामी युक्तेश्वर गिरीलाई आफ्नो गुरुका रूपमा मानेका थिए। उनीसँगै बसेर योगानन्दले क्रिया योगको गुह्य ज्ञान सिके। क्रिया योग एक वैज्ञानिक विधिसहितको प्राचीन योग पद्धति हो जसलाई ध्यान, श्वास नियन्त्रण (प्राणायाम), र आन्तरिक आत्म-जागरणको माध्यमबाट आध्यात्मिक उन्नतिको लागि प्रयोग गरिन्छ। क्रिया योगले साधकलाई आध्यात्मिक जागरण प्रदान गर्छ र यही योग साधनाले श्री परमहंस योगानन्दजीको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्यायो।

“योगीको आत्मकथा’’ पुस्तकमा ४८ शीर्षक छन् जसमा लेखकको प्रारम्भिक जीवन, आध्यात्मिक खोज, बाल्यकालका चमत्कारिक अनुभवहरू, पारिवारिक अवस्था, धार्मिक आस्था, साधु-सन्तहरूसँगको भेटघाट, साधनाका अनुभवहरू, जीवनका महत्त्वपूर्ण शिक्षा, ध्यानको गहिरो अनुभव, पश्चिमी समाजमा आध्यात्मिकताको पुनर्जागरण, गुरुहरूको मार्गदर्शनदेखि जीवन शिक्षासम्मका प्रसङ्गहरू समावेश छन् । 

पुस्तकमा श्री परमहंस योगानन्दजीको सन् १९२० मा (प्रसंगको लागी नेपालमा त्यस बखत राणा शासन थियो र प्रधानमन्त्री चन्द्र शमशेर जबरा थिए) अमेरिकाको रोचक भ्रमण र आध्यात्मिक जागरण सम्बन्धी प्रसङ्गबाट बाट धेरै कुरा बुझ्न सकिन्छ। अमेरिकामा उनले अध्यात्म, योग र क्रिया योगको प्रचार गरे र प्रवचनहरू मार्फत अन्य पश्चिमी मुलुकहरू विशेषतः युरोपमा पनि योगप्रति आकर्षित गराए। अहिले पनि अमेरिकाको क्यालिफोर्नियामा अवस्थित, श्री परमहंस योगानन्दजीद्वारा स्थापित आत्म-ज्ञान सम्बन्धी एक संस्थाले योग र आध्यात्मिक शिक्षा विश्वभर फैलाइरहेको छ।

पुस्तकमा सङ्गीतसम्बन्धी सनातनी परम्परा र ज्ञानको चर्चा गरिएको छ, जहाँ सङ्गीतलाई आत्माको अभिव्यक्ति र ध्यानको महत्त्वपूर्ण साधनका रूपमा चित्रण गरिएको छ। श्री परमहंस योगानन्दजी स्वयं सङ्गीतप्रति गहिरो अनुराग राख्थे र यसलाई चेतनाको उच्चतम अवस्थासम्म पुग्ने साधन मान्थे। विशेष रूपमा, उनले भक्तिमय सङ्गीत,भजन-कीर्तन लाई आत्मा शुद्धीकरणका लागि प्रभावकारी मानेका थिए। त्यस्तै, उनले वेद र उपनिषद्लाई शाश्वत ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेका छन्। वेदले ब्रह्माण्डीय सत्यको व्याख्या गर्छ, भने उपनिषद्ले ध्यान, आत्मज्ञान, र ब्रह्मसँगको एकत्वबारे गहिरो शिक्षा दिन्छ। “योगीको आत्मकथा” केवल आध्यात्मिक पुस्तक मात्र नभई चराचर जगत्सँगको मानव सम्बन्धबारे गहिरो शिक्षा पनि दिन्छ। यस पुस्तकमा वातावरण, दिगो विकास, र समग्र विकासको दर्शनसम्बन्धी महत्त्वपूर्ण दृष्टिकोण पाइन्छ।

श्री परमहंस योगानन्दजी प्रकृतिलाई ईश्वरको अभिव्यक्ति मान्थे। वातावरण जोगाउनु केवल नैतिक जिम्मेवारी मात्र होइन, आध्यात्मिक कर्तव्य पनि हो। यो पुस्तकले प्राकृतिक स्रोतहरूको दोहन नगरी वातावरणसँग समन्वय गरेर जीवन जिउन प्रेरित गर्छ। साथै, साधु-सन्तहरूले प्राकृतिक जीवनशैली अपनाउने कारण वर्णन गर्दै शाकाहारी भोजनको महत्त्वसमेत व्याख्या गरेको छ। वनस्पतिहरूसँगको सहअस्तित्वले मानव चेतनालाई कसरी शुद्ध पार्छ भन्ने विषयमा पनि विस्तृत वर्णन गरिएको छ। पुस्तकले दिगो विकासलाई केवल आर्थिक वृद्धिमा सीमित नराखी, प्रकृति, मानवता, र आध्यात्मिक चेतनाबीचको सन्तुलनका रूपमा प्रस्तुत गर्छ। 

आध्यात्मिक चेतनाको अभिवृद्धि बिना विकास अपूर्ण हुन्छ। भौतिकवादी विकासको अन्धो दौडले समाजलाई अराजकतामा धकेल्न सक्छ, त्यसैले अध्यात्मसहितको सन्तुलित विकासमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन्छ। यस पुस्तकले आत्म-साक्षात्कार, ध्यान, योग, र आध्यात्मिक जागरणलाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरेको छ। लेखक श्री परमहंस योगानन्दजीले पश्चिमी र पूर्वीय सभ्यतालाई जोड्दै आध्यात्मिकतामात्र नभई वैज्ञानिक दृष्टिकोणबाट पनि योगको व्याख्या गरेका छन्। यही कारणले “योगीको आत्मकथा” ले विश्वभरका मानिसहरूमा प्रभाव पारेको छ। कसरी पूर्वीय सभ्यता अंगाल्ने मात्र नभई अमेरिकी र युरोपेलीहरू, जस्तै स्टीभ जब्स, जर्ज हैरिसन (विश्वप्रसिद्ध सङ्गीतकार, गीतकार, र बीटल्स ब्याण्डका प्रमुख गिटारवादक), एल्विस प्रेस्ली (अमेरिकी गायक तथा कलाकार) जस्ता प्रतिष्ठित व्यक्तित्वहरू यस पुस्तकबाट गहिरो रूपमा प्रभावित भए र पुस्तकबाट के प्रेरणा पाएका थिए भन्ने बारेमा थप चर्चा आवश्यक छ।

यो पुस्तकले आध्यात्मिकता, जीवन, विकास, र समृद्धिलाई सँगै कसरी लैजान सकिन्छ भन्ने कुरा बुझ्न मद्दत गर्छ। साथै, आफूमा रहेको शक्ति उपयोग गर्दै जीवनको उद्देश्य पहिचान गर्न र आफ्नै विधामा अब्बल र सफल बन्न ज्ञान तथा प्रेरणा दिन्छ। श्री परमहंस योगानन्दजी भौतिक सुखभन्दा परको आध्यात्मिक जीवनलाई असाधारण ठान्थे। यस पुस्तकले आत्मज्ञान, योग, ध्यान, र गुरु-शिष्य परम्पराको अनुसरण गर्दै जीवनलाई उच्चतम उद्देश्यतर्फ डोर्‍याउन सकिन्छ भन्ने विचार प्रस्तुत गरेको छ।

श्री परमहंस योगानन्दजीद्वारा लिखित “योगीको आत्मकथा” आध्यात्मिक मार्गदर्शनको उत्कृष्ट स्रोत हो। यस पुस्तकले जीवनलाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ र भौतिक, आत्मिक, तथा वातावरणीय सन्तुलनको महत्त्वलाई उजागर गर्छ। गहन विषयहरू समेटिएको यो पुस्तक गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने हुन्छ।पुस्तकले आत्म-साक्षात्कारको मार्गमा नयाँ दिशा प्रदान गर्दै साधारण सीमाहरूभन्दा पर जान प्रेरित गर्ने नै छ ।

(प्रेम राज अवस्थी, संयुक्त राष्ट्र संघमा कार्यरत छन्) 

 

अमेरिकी भन्सार महसुलविरुद्ध मुद्दा हाल्ने चीनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

यसबारे चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ, जसमा यो कदमको विरुद्धमा जवाफी कारबाही गर्ने भनिएको   छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ । यसले विश्व व्यापार सङ्गठनको नियमको ‘गम्भीर उल्लङ्घन’ भएको छ ।”

चीनले यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको बताएको छ ।

चीनले अब अमेरिकाको ‘गलत व्यवहार’विरुद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा हाल्नेछ र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिकारात्मक कदम चाल्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न अपील गरेको छ । विभिन्नता हटाउन र पारस्परिक लाभ, सम्मान र समानताको आधारमा पारस्परिक सहयोग सुदृढ गर्ने काम गर्नु पर्छ ।”

यसअघि करको विषयमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङको वक्तव्य चीनको आधिकारिक समाचार संस्था सिन्ह्वामा प्रकाशित भएको थियो ।

यसले भन्यो कि ट्यारिफ उपाय न त चीन, न संयुक्त राज्य वा बाँकी विश्वको हितमा छ ।

 

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ११ गते तोकिने छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलब पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो-रेट बेसिस’मा बाँडफाँट गरिनेछ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहनेछ ।

स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउण्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।

बोलपत्र स्वीकृत भएका काउण्टर पार्टीको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टर पार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंकस्थित खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

जनकपुर । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटनामा परेको छ । शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सबै जना जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

पर्दा पछाडिका नायक

भनिन्छ्, सन्तान र भोलिका लागि सम्पत्ती सञ्चित गर्ने प्रवृतिले मान्छेलाई स्वार्थी बनायो । र, अरुभन्दा बढि सम्पत्ती जोड्ने लालसाले भ्रष्टाचारी ।

यी सबै अवगुणबाट बाहिर निस्किन सक्ने व्यक्ति मान्छे बन्छ । यो क्षमता बिरलै मान्छेमा हुन्छ । जो अपवाद् भित्र पर्छन । निसंकोच भन्न सकिन्छ, तिनै अपवाद भित्र पर्ने व्यक्ति हुन्, भीम बहादुर   विके ।

जसले आफूलाई केन्द्रमा राखेर सोचेनन् । केन्द्रमा राखे, आफ्नो वर्ग, समुदाय र समग्र समाज । र, अहोरात्र खटे, तिनैको लागि । अझ उनी जातीभन्दा माथि उठे । र, सबैका लागि काम गरे ।

२०३२ साल भदौ ५ गते । गोदावरी नगरपालिका–२ अत्तरीया । कृपाल बहादुर बिक र  देवादेवी बिकको घरमा दोस्रो सन्तानका रुपमा छोरा जन्मियो । परिवारले नाम दियो, भीम । उनी अघि दाई थिए । र, पछाडि जन्मिए पाँच बहिनी ।

उनका बुवामा पढ्नुपर्छ भन्ने चेत थियो । डोटीमा ४ कक्षासम्म पढे । तराई झरेपछि एसएलसी गरे । त्यसपछि अञ्चलाधीश कार्यालयमा जागीरे भए । नागरिकता फाँटमा काम गरे । सरकारको मातहतमा सेती प्रेस थियो । उनी प्रेसको प्रमुख भए ।

मालाखेतीमा मण्डी थियो । उनका बुवा सुपरीवेक्षकका रुपमा त्यहाँ खटिन्थे । अबैध रुपमा हुने रक्सीको व्यापार नियन्त्रण गर्न अञ्चलाधीश कार्यालयले सुपरीबेक्षक खटाउथे । २०४२ सालमा उनी अञ्चलाधीश कार्यालयको जागीर छोडे । र, वन मन्त्रालय अन्तर्गत रहेको अत्तरीयास्थित नेपाल रोजिन टर्पेन्टाईन (नेरोट) मा काम थाले । नेरोट बन्दभएपछि २०५८ मा उनले जागीर    छोडे ।

डोटीबाट बसाई सरेर धनगढीको घुईयाघाटमा बस्थे । अत्तरीयामा बस्ती बसाउन जंगल फडानी शुरु भएपछि उनी सपरीवार अत्तरीया सरे । त्यतिबेला अत्तरीयामा स्कुल थिएन । दुर्गा लक्ष्मी माविका चार जना संस्थापक  मध्ये एक उनका बुवा थिए । पहिलो शिक्षक मोतीराम बोहरा थिए ।

उनी दुर्गा लक्ष्मीमा पाँच कक्षासम्म पढे । छ कक्षामा सरस्वती मावि गेटामा भर्ना भए । त्यहीबाट २०४८ सालमा एसएलसी पास  गरे ।

साईन्स पढ्न महेन्द्रनगर पुगे । सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सीमा भर्ना भए । दोस्रो वर्षको नतिजा आउन ढिलो भए । उनी पढ्न लखनउ गए । यता नतिजा आयो । पास भए । उताबाट पनि आईएस्सी गरे ।

१९९९ मा दुर्गालक्ष्मी मावि संकटमा थियो । एसएलसीको नतिजा निल आए विद्यालय आठ कक्षामा सिमित हुदै थियो । प्राथमिक तहमा कमलापती जोशी र माध्यमिक तहमा रामचन्द्र बिनाडी प्रधानअध्यापक थिए । दुई जनाको आग्रह टार्न नसकेर उनी एसएलसी दिने विद्यार्थीलाई पढाउन थाले । १० कक्षामा तीन सेक्सन थिए । विद्यार्थी संख्या एक सय २० भन्दा बढि थियो । उनले पहिलो व्याचलाई गणित, बिज्ञान र स्वास्थ्य पढाए ।  एसएलसीको नतिजा राम्रो आयो । र, विद्यालय घटुवा हुनबाट जोगियो ।

उनी त्यसपछि त्यसपछि डाक्टर बन्ने हुटहुटीले काठमाण्डौं पुगे । नेममा तयारी कक्षा लिए । २०५३ सालमा धरानमा मेडिसिनका लागि परीक्षा दिए । पास भए । डाक्टर पढ्न पाईने खुशी । उनका खुट्टा भुईमा  थिएनन ।

टीकामा घर आए । टीका लगाएर फर्किदै थिए । उनी चढेको गाडी राति १ बजे नवलपरासीको गैडाकोटमा भयंकर दुर्घटनामा प¥यो । गाडीमा ६० जना यात्रु थिए । अधिकांश यात्रु छतमा थिए । घट्नास्थलमै १६ जनाको मृत्यु भयो । मृत्यु हुनेमा छतमा रहेका अधिकांश नेपाली सेनाका जवानहरु थिए । उनी गम्भीर घाईते भए । दोस्रो दिन होस खुल्दा उनी भरतपुर मेडिकल कलेजको शैयामा थिए । अन्य घाईतेलाई हेलिकप्टरमा उद्दार गरी काठमाण्डौं लगियो । अत्याधिक चोट र रक्तस्रावका कारण उनलाई भरतपुरमै राखिएछ । सहपाठी कुवेर घिमिरे भरतपुर मेडिकल कलेजमा पढ्थे । घिमिरेले उनको उपचारमा सहयोग  गरे ।

बायाँ खुट्टामा ठूलो प्वाल थियो । घाटीमा चोट थियो । चोट नलागेको शरीरको कुनै भाग थिएन । तीन हप्तापछि उनलाई थप उपचारका लागि काठमाण्डौं लगियो । त्यसपछिका सात महिना अस्पतालकै शैयामा बिताए । उनका चिकित्सक थिए, उपेन्द्र देवकोटा । एमबीबीएसको पढाई छुटेकोमा उनी चिन्तित थिए । उनमा डाक्टर बन्ने हुटहुटी उस्तै थियो । देवकोटाले उनका बुवालाई भनेछन्, यस्तो अवस्थामा एमबीबीएस पढाउने सोच्दै नसोच्नु । पहिले निको हुन दिनु । त्यसपछि पढाई ।

उनका बुवालाई देवकोटाको कुरा ठिक लाग्यो । सोचे, छोरा बाँचे भोलि पढिहाल्छ । त्यसपछि उनका बुवाले छोरा डाक्टर भएको हेर्ने सपना त्यागे । तर उनी समस्या र चुनौतीसंग सहजै हार स्वीकार गर्ने पक्षमा थिएनन । उनले निको भएपछि चीनमा एमवीवीएसको छात्रवृतिमा नाम निकाले । तर त्यहाँ जान पाएनन । त्यसपछि अमेरिकाको ब्रिजपोर्ट युनिभर्सिटीमा मेडिसिन पढ्न नाम निकाले । उनी अमेरिका जाने तयारीमा जुटे । स्वास्थ्य परीक्षण अनिवार्य थियो । उनी परीक्षणका क्रममा बेहोस भए । र, अमेरिका जाने सपनासंगै उनको डाक्टर बन्ने सपनाको अन्त्य भयो ।

डाक्टर बन्ने अवसर गुमाए । र, त्रिचन्द्र माईक्रोबायोलिजी पढ्न थाले । उता काठमाण्डौं शिक्षा क्याम्पसमा बीएडमा भर्ना भए ।

कलेज पढ्दा पढ्दै केही कान्ति बाल अस्पतालमा करारमा एक्सरे  एसिसटेण्टमा काम गरे । दिउँसो बीएस्सीको पढाई । राति बीएडको । बीएस्सी प्रथम वर्ष पास भए । दोस्रो वर्ष पढ्दै थिए । काठमाण्डौंमा भर्खरै अमेरिकाको युनिभर्सिटीसंग एफिलेटेड बोष्टन स्कुल अफ आईटी खुलेको थियो । जसले कम्प्युटर ईञ्जिनियरिङको पढाई थालेको थियो । २० जनाको कोटा थियो । ईन्ट्रान्समा सहभागी भएका उनले ५० प्रतिशत छात्रवृति पाए । र, पढाई थाले । उनी पहिलो व्याचका विद्यार्थी थिए । तीन वर्षमा कम्प्युटर ईञ्जिनियरिङको पढाई पुरा गरे । सशस्त्र संघर्षमा रहेको माओवादीले उक्त कलेज अमेरिकीन भनेर बन्द ग¥यो । दोस्रो व्याचका विद्यार्थीले पढाई पुरा गर्न पाएनन् ।

उनको सपना थियो,डाक्टर बन्ने । बने ईञ्जिनियर । भए शिक्षक । उनी कर्ममा विश्वास गर्थे । तर उनको जीवनमा त्यही भयो, जे भाग्यमा लेखेको थियो ।

कम्प्युटर ईञ्जनियिरङ थालेपछि बीएस्सीको पढाई छोडे । बीएडको पढाई जारी राखे । र, तीन वर्षमा बीएड पुरा गरे । एक वर्षपछि कम्प्युटर ईञ्जनियरिङको पढाई पुरा गरे ।

उनी २००० मा न्यू लाईफ सेकेण्डरी स्कुलसंगै डनबस्को स्कुल एण्ड कलेजमा पढाउन थाले । दुईटैमा कम्प्युटर बिभागको प्रमुख थिए । उनकै पालामा डनबस्कोमा बीबीएमा कम्प्युटर प्रोग्राम शुरु भयो ।

विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत कलेज अफ सफ्टवेयर ईञ्जिनियरिङमा एक वर्षे पढाई हुन्थ्यो । उनले त्यहाँ पनि जागीर खाए । जहाँ उनले एनिमेसनमा काम गरे ।

उनले चार वर्ष माईक्रोटेक ईन्टरनेशनलमा काम गरे । त्यहाँ उनी प्रोग्रामिङ सफ्टवेयर तयार गर्थे ।
त्यहीबीच कसमस ईञ्जिनियरिङ कलेजमा सफ्टवेयर ईञ्जिनियर पढाए । उनले एकै समय तीन वटा कलेजमा पढाए । आम्दानी राम्रो थियो । त्यो बेला एउटै पिरियडको ४२०० रुपैया पारिश्रमिक लिन्थे ।

केही समय चिल्ड्रेन प्याराडाईज स्कुल ललितपुरमा पढाए । बीएन शर्मा त्यसका संस्थापक थिए । उनी कम्प्युटर बिभाग प्रमुख भए । उत्कृष्ट शिक्षक भए ।

प्याब्सनले उनलाई एसएलसीको परीक्षा बोर्डमा कम्प्युटर विषयको सुपरीवेक्षकका रुपमा पठायो । । तीन वर्ष उनी त्यो भूमिकामा रहे । उनले कम्प्युटर विषयमा बढिभन्दा बढि नम्वर दिन लगाउथे । जसले कम्प्युटर विषयको विद्यार्थी एसएलसीमा टप टेन भित्र पर्न सहज भयो ।

सुदूरपश्चिमका साथीभाईलाई समस्या पर्दा सहयोग गर्थे । जहाँ समस्या, त्यहाँ उपाय निकाल्थे । त्यसैले साथीभाईले उनको नाम राखिदिए, संकटमोचक । सुदूरपश्चिमका बिरामी उनकै कोठामा आउथे । अस्पताल पुग्थे । बिरामी र असहायलाई सहयोग गर्थे । हुन्, पनि जहाँ समस्या, त्यहाँ उनी, अनि त्यहाँ उपाय ।

उनी डोटेली समाजका आजीवन सदस्य भए । सुदूर पश्चिम सरोकार मञ्चका सदस्य । गौरा, डेउडा र बिसुको संरक्षणमा जुटे । आपतविपतमा सुदूर पश्चिमेलीहरुलाई सके जति सहयोग गरे ।
…………….
भनिन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना र सपनाले जिन्दगी । उनको जिन्दगी र सोच बदल्न त्यस्ता केही व्यक्तिहरुको संगतको योगदान छ । तिनैमध्ये, एक हुन्, वीरेन्द्र विश्वकर्मा । वीरेन्द्र सोल्टी होटलमा ईलेक्ट्रिक ईञ्जिनियर थिए । गुल्मी पुख्र्यौली घर भएका उनको परिवार भारतको असममा बस्थ्यो । उनका बुवा स्कुलका हेडमास्टर थिए । उनको जन्म त्यही भयो । उनी ईलेक्ट्रिक ईञ्जिनियरिङमा ईण्डियाका टपर थिए । नेपालीमूल र दलित समुदायप्रति उनका विशेष लगाव थियो । उनले सोल्टीमा कामका लागि दलित समुदायको ईलेक्ट्रिक ईञ्जिनियर खोजे । कोही पाएनन ।

त्यसको केही समयपछि वीरेन्द्र उनको सम्पर्कमा आए । उनीहरुबीच दलित समुदायका युवाहरुलाई मेडिकल, ईञ्जिनियरिङ र अन्य प्राविधिक शिक्षा पढाउन पहल गर्ने सल्लाह भयो । र, उनीहरुले दलित विद्यार्थीहरुलाई ईञ्जिनियरिङ र चिकित्साशास्त्रमा छात्रवृतिका लागि शिक्षा मन्त्रालयमा छलफल गरे । र, पाँच वटा विकास क्षेत्रबाट सात विद्यार्थी छानिए ।

समाजमा जातीय विभेद र छुवाछुत व्याप्त थियो । उनले न्याय, अधिकार र समानताका लागि न्याय क्षेत्रमा दलित समुदायको उपस्थिति आवश्यक ठाने । काठमाण्डौं स्कुल अफ ल संग सहकार्य थाले । र, दलित युवाहरुलाई कानूनको विषयमा छात्रवृति दिलाउन पहल गरे । त्योसंगै होटल म्यानजमेण्टमा देश विदेशमा छात्रवृति दिलाउन पहल गरे ।

सामाजिक कार्य र जागीरसंगै उनले पढाई पनि जारी राखे । र, उनले त्रिभुवन विश्व विद्यालयबाट २००७ मा स्वास्थ्य शिक्षामा स्नातकोत्तरको पढाई पुरा गरे ।

संस्थागत रुपमा धेरै काम गर्न सकिने सोचले वीरेन्द्र र उनी मिलेर २००७ मा पीडीआरसी (प्रोफेसनल डेभलोप्मेन्ट एण्ड रिसर्च सेण्टर ईन्टरनेशनल) को स्थापना गरे । पूर्ण नेपाली अध्यक्ष भए । पछि उनले दानी लुहारलाई जोडे । र, पीडीआरसीमा सक्रिय रहे । हाल पीडीआरसी नेपालको अध्यक्ष कमला हेमसुरी छन् । उनी उपाध्यक्ष । र, विद्यानाथ कोईराला सल्लाहकार ।

उनकै पहलमा १२ जना विद्यार्थी अमेरिकामा छात्रवृति पाए । उनीहरु पढाई सकेर नेपाल फर्किए । तिनैमध्ये एक हुन्, हाल मेरियट होटलमा कार्यरत कैलाली टीकापुरकी हेमा श्रीपाईली । नेपालमा बीएचएममा टपर केही समय दुबई पढ्न गएकी उनी फर्केर नेपालमै काम गर्न थालिन् । पीडीआरसीका तर्फबाट रुप सुनार अमेरिकन युथ काउन्सिलमा सदस्य भए ।
…………..

दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ) मा पोलिसी एड्भोकेसी अफिसरमा निवदेन दिए । लिखितमा पहिलो नम्बरमा नाम निक्लियो । तर मौखिकमा उनी बाहिरिए । उनी छनौट नभएको त्यो पहिलो घट्ना थियो । र, अन्तिम पनि त्यही । भन्छन्, छनौटमा राजनीति भयो ।

डिएनएफमा छनौट नभए के भो ? उनलाई त्योभन्दा ठूलो अवसरले पर्खिरहेको थियो । दलित महिला संघ (फेडो) को म्यानेजरमा आवेदन दिए । उनलाई त्यसको अनुभव नभएको भन्दै रिजल्ट मनिटरिङ एण्ड इभ्यालुसन म्यानेजरमा जागीर खान भनियो । शुरुमा मानेनन । पछि २००९ देखि एक वर्ष त्यही पदमा काम गरे । तीन वर्ष नेसनल प्रोजेक्ट म्यानेजर भए । चार वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहेर काम गरे । २५ हजार रुपैयामा फ्ल्याट भाडा लिएर सञ्चालित फेडोको आफ्नै भवन बनाए । १४ जिल्लामा सिमित फेडोका कार्यक्रमलाई ६५ जिल्लामा विस्तार गरे । उनकै नेतृत्वमा फेडोले चार मिलियन डलर भित्र्यायो । चार वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहेर उनी २०१५ मा त्यहाँबाट विदा भए ।

२०१५ देखि २०१७ सम्म उनी चान्स फर चेन्जको कन्ट्री डाईरेक्टर भए । उनी सबैभन्दा कान्छो कन्ट्री डाईरेक्टर थिए । युवाहरुलाई उत्प्रेरित गर्ने । युवा परिषदलाई प्राविधिक सहयोग । चान्स फर चेन्जको ‘ईन्सपाइरिङ योंग पिपुल ईन नेपाल’ परियोजना सञ्चालनमा थियो । जसको उद्देश्य थियो, युवाहरुलाई उत्प्रेरित गर्ने । यो परियोजनाले कृषि क्षेत्रमा पनि काम गथ्र्यो । महा भूकम्पपछि सबै बजेट पुनर्निर्माणमा लगाए ।

सात वटा साझेदार संस्था मार्फत गोरखा, काभ्रे र दोलखामा भूकम्प पीडितका लागि सात सयभन्दा बढि घर निर्माण गरे । सिराहामा दुई वटा स्कुल बनाएको छ ।

यसको मुख्यालय बेलायतमा थियो । स्कटल्याण्डका सेरिफ डेभिड म्याकी अध्यक्ष थिए । ग्रेग बर्टन, सिईओ ।

होटल द्धारिकाजकी सञ्चालक अम्विका श्रेष्ठ र कुलचन्द्र गौतम बोर्ड मेम्बर थिए ।

चान्स फर चेञ्जले पाँच वटा देशमा काम गथ्र्यो । २६ देशमा उसको नेटवर्क थियो । उनी ती देशमा चाहेको बेला परियोजना हेर्न जान पाउथे । घाना र केन्यामा पनि  ईन्सपाइरिङ योंग पिपुल परियोजना लागु भयो । जो उनले बनाएका थिए । उनकै सक्रियतामा २०२२ मा युगाण्डामा सीएसआई कलेज स्थापना भयो ।
……………..

उनी लोकतन्त्रमा विश्वास राख्थे । त्यही विश्वासले उनलाई लोकतन्त्रका लागि मुलुकमा भएका हरेक आन्दोलनमा डो¥यायो ।

२०४६ सालको आन्दोलनमा उनी पक्राउ परे । प्रहरीले दिनभरी रुखमा बाँधेर साँझ छोड्यो । उता  सरस्वती माविका प्रधानअध्यापक तर्कराज जोशी पक्राउ परे । हेडमास्टर पक्राउको बिरोधमा विद्यार्थीको हुल बाँधेर उनी पुगे, धनगढी । र, विद्यार्थीको दवावपछि प्रहरीले जोशीलाई मुक्त    ग¥यो ।

२०६२/६३ जनआन्दोलनमा काठमाण्डौं शान्तीनगरबाट जुलुसको नेतृत्व गरेर थापाथली पुगे । प्रहरीसंगको मुठभेड भयो । एसपी ठूले राईले प्रहरीको नेतृत्व गरेका थिए । आन्दोलनकारीमाथि दमन गरेपछि उनी राईमाथि जाईलागे । प्रहरीले उनीमाथि आक्रमण ग¥यो । उनी गम्भीर घाईते भए । चैत १० गतेको त्यो घट्नापछि उनी अस्पताल भर्ना भए । आन्दोलन सफल भएपछि आफ्नो काममा फर्किए । आन्दोलनमा घाईते भएका सबैले क्षतिपूर्ति राहत लिए । उनले लिएनन ।
……………

उनले जिन्दगीमा दुःख सुख सबै भोगे । कतिपय क्षणहरु यस्ता छन्, जसलाई बिर्सिन सक्दैनन । उनी पढाई सकेर काठमाण्डौंमा जमिसकेका थिए । कमाई राम्रो थियो । बुवा कृपाल उनको बिबाहका लागि काठमाण्डौं पुगे । उनको मगनी तय भएको थियो । उनका बुवालाई हर्ट अट्याक भयो । उपचारका लागि गंगालाल अस्पताल भर्ना गरे । स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदै गएको थियो । दोस्रो पटक अट्याक भएपछि २०६१ असार ४ गते उनले बुवा गुमाए । बिबाह रद्द भयो ।  उनको जीवनको यो सबैभन्दा बढि पीडादायी क्षण थियो ।

त्यसको केही वर्षपछि उनले कैलाली फुलवारीकी सञ्जु कुमारी सुनार बिबाह गरे । उनीहरुका दुई सन्तान छन् । उनको जेठो छोरा ११ वर्षको भयो । जो पाँच कक्षामा पढ्छ । कान्छो नौ वर्षको भयो । चारमा पढ्छ ।
………………
उनी २०१७ मा अमेरिका पुगे । उद्देश्य थियो, पीडीआरसी(प्रोफेसनल डेभलोप्मेन्ट एण्ड रिसर्च सेण्टर ईन्टरनेशनल) स्थापना गर्नु ।

उनले छ वर्ष बेसमेण्टमा बसेर काम गरे । पीडीआरसीलाई बचाए । हुर्काए । र, चिनाए । ग्लोवल अर्गनाईजेसन बनाए । हार्वर्डमा युथ एण्ड डेभलोप्मेण्ट शिर्षकमा लेक्चर दिए । वेक फोरेष्ट युनिभर्सिटी नर्थ क्यारिलोनामा पनि उनले गेष्ट लेक्चरका रुपमा पढाए ।

शुरुवाती चरणमा दलित बालबालिका र युवाको प्राविधिक शिक्षामा पहूँच सुनिश्चित गर्ने उद्देश्यले खोलेको पीडीआरसीको दायरा फराकिलो बनाए । जाती, समुदाय, भेग, भूगोल र देशभन्दा माथि उठे । र, पीडीआरसी विपन्न बर्ग र देशका बालबालिका र युवाहरुको शिक्षाका लागि काम गर्न थाल्यो ।
…………
सरस्वतीमाविमा पढ्दा उनी जुनियर रेडक्रस सर्कलको सदस्य थियो । रेडक्रसप्रतिको त्यही लगावले उनी अमेरिकन रेडक्रसमा पनि सक्रिय भए । रेडक्रस सोसाईटी रिजनल क्लव कोअर्डिनेटर एण्ड ब्लड ड्राईभ प्रोग्राम लिडरको जिम्मेवारी पाए ।

कोभिडमा रगतको चरम अभाव भयो । उनी सुतेनन । रातदिन खटे । रगत दिन कोही मान्दैनथे । र, कोभिड भएकाहरुको रगत काम गर्दैनथ्यो । उनले रक्तदानका लागि विद्यार्थी र युवाहरुलाई सम्झाए । बुझाए । २०२० मा चार हप्ता भित्र ३००० युनिट रगत संकलन गरे । असंभव कामलाई उनले संभव बनाए । उनी यसलाई पावर अफ नेटवर्क भन्छन् ।

जहाँ रगत अभाव हुन्थ्यो, त्यहाँ अमेरिकन रेडक्रसले रगत वितरण गथ्र्यो । त्यही कारण उनी आवद्ध रेडक्रसले कोभिडमा अमेरिकामा भरीमा बेष्ट क्लव अवार्ड पायो ।

बाल्टीमोरको काउन्टी एक्जुकेटिभले उनले कोभिड हिरोको अवार्ड प्रदान ग¥यो । कोभिडमा उनले मानव जीवन रक्षार्थ निर्वाह गरेको योगदान वाफत पाँच वटा अवार्ड पाए ।

बाल्टिमोर सिटी हेल्थ डिपार्टमेण्टमा भ्याक्सिन एम्वेसडर भए । उनी कोभिडका बारेमा पढाउथे । मान्छेहरुलाई कसरी जोगिने भनेर काउन्सिलिङ गर्थे ।

त्यस बाहेक उनले कोभिडबाट प्रभावित ३६ वटा राज्यका ३६०० जनालाई  प्रत्यक्ष सहयोग गरे ।  व्यवसाय बन्द भएकालाई ईमर्जेन्सी फन्ड, ग्रान्ट र लोनहरु उपलब्ध गराए । बीमा नभएकाहरुलाई बीमा उपलब्ध गराए । जो असहाय थिए । निरुपाय थिए । संक्रमितहरुलाई भ्याक्सिन, औषधीसंगै मोटिभेट गरेर जोगाए । जागीर गुमाएकाहरुलाई जागीर दिलाएर सहयोग   गरे ।उनीहरुका लागि संकटमोचक भए । सिनेटर र नेताले नसकेको काम उनले गरे ।

मान्छेहरु भ्याक्सिन लगाउन तयार थिएनन् । उनी कोभिडको रिसर्च टीममा थिए । भ्याक्सिन र औषधीका बारेमा उनको टीमले रिसर्च ग¥यो । सोसल डिटरमिनिटेड अफ हेल्थमा उनले गरेको रिसर्च अमेरिकन सरकार, जोन होपकिन्स युनिभर्सिटी, मेरिल्याण्ड युनिभर्सिटी, ईन्टरनेशनल भ्याक्सिन सेन्टरले लागु ग¥यो ।

……………..


मेरिल्याण्डमा रहेका नेपाली समुदायका उनी साझा व्यक्ति हुन् । उनी छायामा रहेर काम गर्छन । न चर्चा । न प्रशंसा । न सम्मानको भोक । बस्, कर्म गर्छन् । उनी पर्दा पछाडिको नायक हुन् । उनी जतिबेला मेरिल्याण्ड पुगे, सुदूर पश्चिम समाज विभक्त थियो । उनले नौ वटै जिल्लालाई एकजुट बनाए । र, सुदूर पश्चिम समाज मेरिल्याण्डको स्थापनाका लागि भूमिका निर्वाह गरे । उनकै सहयोगमा मुनाफा रहित संस्थाका रुपमा ५०१ सीमा समाज दर्ता भयो । त्यसयता उनी निरन्तर समाजका हरेक गतिबिधिमा सक्रिय छन् । कोभिडमा समाजका सदस्यहरुका लागि मात्र नभएर समग्र नेपालीहरुका लागि काम गरे । सहयोग जुटाएर नेपाल पठाए । मेरिल्याडमा जव कुनै संस्थाका लागि पोलिसी र प्रोपोजल बनाउनु पर्ने हुन्छ । तव सवैले सम्झिने नाम हो, भीम बिक । सबैलाई मिलाएर अघि बढ्नु उनको अर्को विशेषता हो । जहाँ विवाद हुन्छ, त्यसलाई सुल्झ्याउन उनी पुग्छन् ।

उनी एशोसियसन अफ नेपाली ईन अमेरिकाज (आना) सल्लाहकार हुन् । बानाको अर्गनाईजेसन डेभलोपमेन्टका  अध्यक्ष । बानामा संघीय, राज्य र स्थानीय सरकारबाट बजेट ल्याउन उनको महत्वपूर्ण भूमिका छ ।

बानाको रिसोर्स सेन्टरको पूर्बाधार निर्माण र मर्मत संभारका लागि उनले लेखेको प्रोपोजलले पहिलो पटक डेढ लाख, दोस्रो पटक एक लाख, कम्युनिटी डेभोलपमेण्टका लागि २९ हजार, शिक्षाका लागि १० हजार र बालबालिकाको सांस्कृतिक कार्यक्रमका लागि पाँच हजार डलर पाएको छ ।
२०२२ मार्चमा युनिसेफको स्टेट लिडर नियुक्त भएका उनको पदावधि डिसेम्बर २०२४ मा पुरा भयो । उनको कार्यक्षेत्र थियो, मेरिल्याण्ड, डीसी र भर्जिनिया । युनिसेफका लागि १४३ मिलियन डलर जुटाए ।

२०२२ देखि पीडीआरसी ईन्टरनेशलको प्रमुख कार्यकारी अधिकृत(सीईओ) को भूमिका निर्वाह गर्दै उनी बिभिन्न सामाजिक र परोपकारी संस्थाका लागि समेत काम गर्दै आएका छन् । बाल्टीमोर नगरका मेयर स्कज ब्रान्डनका उनी सल्लाहकार हुन् ।

११ औं बाल्टिमोर ईमिग्रेसन समीट २०२४ मा उनी प्यानलिष्ट थिए । ईमिग्रेसन समीटमा उनको प्रोपोजल २०१९ देखि छनौट हुदै आएको छ ।

लाईभ पीस टेक कर्पोरेशनका उपाध्यक्ष रहेका उनी ख्यातिप्राप्त स्टार स्कलर पनि हुन् ।

२०२४ मेमा उनी ईमिग्रेसन आउटरीच सर्भिस सेन्टरमा जोडिए । जसको उनी कार्यकारी निर्देशक पदमा कार्यरत छन् । त्यो संस्थामा यो तहमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

उनी नेपालमा छदा पनि संकटमोचकका रुपमा चिनिन्थे । अमेरिका पुगे, उनको यो पहिचान कायमै रह्यो । आप्रवासीका अध्यागमनसंग सम्वन्धित समस्या हुन् वा कुनै संस्थालाई फन्ड जुटाउनु परे, उनी संकटमोचक रुपमा प्रकट भईदिन्छन् । उनले आफूले गरेका कार्यहरुको कहिल्यै प्रचार गरेनन् । कहिल्यै कहिल्यै सुनाएनन, आफूले गरेका सेवाहरु ।
………………
समय खराव आएपछि सपनाहरुले पनि दुःख दिदो रहेछ । उनको हकमा त्यही भयो । अव सपना पुरा हुने भयो भन्ने ठान्थे । तर नियति अर्कै हुन्थ्यो । सपना र उनी नदीका दुई किनाराजस्ता । हेर्न मिल्ने । तर संगै हुन नमिल्ने ।

उनले सपना पछ्याए । सपनाले अर्कै बाटो । उनको बाटो पनि फेरियो । सपना पनि । उनी परे जिद्दी । हार्न उनले जानेका थिएनन् । नियति जित्न दिदैनथ्यो ।

एउटा पहाड चढेर थाक्नेहरु कही पुग्दैनन् । जिन्दगीमा चढ्नु पर्ने पहाडहरु त कति छन्, कति ? हो, एउटा पहाड चढेपछि थाह हुन्छ । चढ्नु पर्ने अझै अर्को ठूलो पहाड बाँकी छ ।

उनले मृत्युलाई नजिकबाट देखे । र, सपना त झनै नजिकबाट । मृत्युलाई उनले पछारे । सपनाले उनलाई । गम्भीर दुर्घटनाबाट बाँचे । प्रहरीको निर्घात कुटाईबाट तंग्रिए । तर जति पटक उनको डाक्टर बन्ने सपना पुरा हुन खोज्थ्यो । त्यति नै टाढा पुग्थ्यो, त्यो सपना ।

मान्छे एउटै हारबाट बिचलित हुन्छ । डिप्रेशनमा जान्छ । आत्महत्याको बाटो रोज्छ । उनी अपवाद थिए । जिन्दगी एउटा हार मात्र कहाँ हो ? हारहरुको श्रृंखला र त्यसैको चाङमा उभिन सक्नु पो जिन्दगी । उनले बाँचेको समय, हिडेको बाटो र भोगेको जिन्दगीले यही भन्छ । एउटै हारबाट बिचलित हुनेहरुलाई उनको भोगाईले भन्छ, जिन्दगी हार्नलाई मिलेकै होईन ।

कुनै एउटा अवसरबाट बञ्चित हुदैमा बिचलित हुनुहुदैन, उनी आफ्नो भोगाई सुनाउछन्, भगवानले मलाई डाक्टर बन्न दिएनन् । अहिले महसुस गर्दैछु, सायद डाक्टर भएको भए म यति धेरै सामाजिक कार्य र मानवीय सेवा गर्न बञ्चित हुन्थे । त्यसैले मलाई भगवानले ईञ्जिनियर बनाए ।

डाक्टर नबने के भयो त उनले पढाएका तमाम विद्यार्थीहरु डाक्टर बनेका छन् । उनी यही कुरामा खुशी छन् ।

महिला टी-२० आई सिरिज : नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौं ।  महिला त्रिकोणात्मक टी-२० आई सिरिजको आज(शनिबार)भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रनको लक्ष्य दिएको हो ।

दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो । थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलो पटक खेलिरहेको छ ।

धनगढीमा ब्राण्ड प्रतिको आकर्षण बढ्दो,खुल्यो नयाँ शो रुम

रञ्जना बिसी
धनगढी, १९ माघ ।

एक समय थियो, जुत्ता र कपडा लगाउन पाए पुग्यो । त्यो कुन कम्पनीको हो ? कसैलाई वास्ता हुदैनथ्यो ।

समय फेरियो । मान्छेहरु अरुले लगाएको जुत्ता र कपडामा चासो राख्न थाले । साथीभाई माझ चर्चा हुन थाल्यो, उसले त महंगो ब्राण्डका जुत्ता र कपडा लगाउछ ।

त्यही चर्चा, चासो र आकर्षणले ब्राण्डेड जुत्ता र कपडाको माग हुन थाल्यो । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै धनगढीमा ब्राण्डेड जुत्ता र कपडाका पसलहरु खुल्नेक्रम शुरु भएको छ ।

हालै धनगढीको एलएनचौकमा ईर्के, पीक, जुमा र एन्टा ब्राण्डका जुत्ता र कपडाको शो रुम खुलेको छ । व्यवसायी अनिल चौधरीले ब्राण्डेड जुत्ता र कपडा प्रति ग्राहकहरुको बढ्दो आकर्षण र माग देखेर शो रुम खोलेको बताए ।

व्यवसायी चौधरीद्वारा सञ्चालित शो रुममा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड  ईर्के, पीक, जुमा र एन्टा ब्राण्डका जुत्ता र कपडा उपलब्ध छन्। जहाँ छ हजार देखि १६ हजार सम्मका जुत्ता र दुई हजार देखि १५ हजार रुपैयासम्म कपडा पाइन्छन् । भन्छन्, सुदूरपश्चिममा फेसनेवल तथा उच्च गुणस्तरका जुत्ता र कपडाको अभाव महशुस गर्दै ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै ब्राण्डेड जुत्ता र कपडाको शो रुम खोलेको हूँ ।

अन्तर्राष्ट्रिय स्तरको व्यवसायको विस्तारले धनगढीको आर्थिक तथा व्यापारिक गतिविधिलाई नयाँ उचाइमा पु¥याउने चौधरीको भनाइ छ  ।

यो ब्राण्डले धनगढीको बजारमा विविधता मात्र होइन रोजगारीका अवसरहरू सिर्जना पनि गरेको छ । सुदूरपश्चिमका फेसनप्रेमी तथा गुणस्तर खोज्ने ग्राहकहरुलाई नयाँ विकल्प दिएको छ ।

धनगढीका ग्राहकलाई ब्राण्डेड कपडा जुत्ता उपलब्ध गराउने मेरो पहिला देखि नै सपना थियो, सञ्चालक चौधरी भन्छन्,अहिले त्यो पुरा भएको छ ।

विगत  २५ वर्ष देखि धनगढीमा जुत्ता चप्पल व्यापार गर्दै आएका चौधरीका लागि यो यात्रा सहज भने थिएन । केही समय व्यवसायमा धेरै उतारचढाव आयो आयो । तर उनी बिचलित भएनन् ।

कोरोना अघि उनको व्यापार राम्रै थियो । कोरोनाले  थला परेको व्यापार तंग्रिदै थियो । सडक विस्तारका क्रममा धनगढी उपमहानगरपालिकाले मूल सडकका संरचना भत्काएपछि व्यापार धराशायी भयो । उनले घाटा सहे । तर व्यवसाय छोडेनन् ।

बरु उनले व्यवसायमा नयाँपन दिने सोचे । र, ब्राण्डेड जुत्ता र लुगाको शोरुम खोल्ने निधो गरे । र, खोले नयाँ शोरुम । शोरुमको भुई तलामा ईर्के ब्राण्डका जुत्ता र लुगाहरु उपलब्ध छन् । पहिलो तलामा जुमा, एन्टा र पीक ब्राण्डका जुत्ता र कपडाहरु ।

देखासिकी र ब्राण्डप्रतिको बढ्दो आकर्षणले डो¥याएर ग्राहकहरु शो रुममा पुग्न थालेको चौधरीको अनुभव छ ।

राष्ट्रि«य अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएपनि सरकारको व्यवहार र नीति  व्यवसायी मैत्री नभएको उनको गुनासो छ । व्यवसायीसंग करमात्र असुल्ने कि, व्यवसायी पनि बचाउने ? उनी प्रश्न गर्छन्, व्यवसायी बाँचे पो कर तिर्लान । न बाँचे कसरी तिर्लान ? सरकारले यस तर्फ कहिले सोच्ला ?

भयानक दुर्घटनामा परिन् सलमान खानकी बहिनी

मुम्बई । बलिउड अभिनेता सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरा हालसालै एउटा भयानक दुर्घटनामा परेकी छन् । श्वेता आफैले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत यो जानकारी साझा गरेकी हुन्।  श्वेता एक अभिनेत्री, लेखिका, चित्रकार र सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन्। उनी पुलकित सम्राटकी पूर्वपत्नी पनि हुन् ।

वास्तवमा पुलकित टिभीमा काम गरिरहेको बेला सेटमा दुवैको भेट भएको थियो र त्यसपछि दुवैले केही समय एकअर्कालाई डेट गरेपछि विवाह गरे । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन र एक वर्षमै टुट्यो र उनीहरू अलग भए । श्वेता रोहिराले दुई दिनअघि आफ्नो इन्स्टाग्राममा पोस्ट सेयर गरेकी थिइन् ।

यस पोस्टमा अभिनेत्रीले आफ्ना फ्यानहरूलाई आफ्नो दुर्घटनाको जानकारी दिएकी छिन् ।  श्वेताले सुनिल थडानीको सर्ट फिल्म ‘परिणिती’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसबाहेक श्वेताले ‘द्‍याट्स माई गर्ल’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् र यसले उनलाई निकै लोकप्रियता पनि दिएको थियो । श्वेताले धेरै फेसन ब्रान्डका लागि मोडलिङ पनि गरेकी छिन् ।

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, जहाजमा सवार सबैजनाको मृत्यु

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको छ। शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मल नजिक एक प्राइभेट विमान दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड ९ब्रान्सन विमानस्थल० जाँदै गरेको विमानमा ६ जना सवार थिए, जसको विवरण अमेरिकाको उड्डयन विभागले दिएको छ। दुर्घटनामा परेपछि लियरजेट ५५ मेडिकल विमान ९एयर एम्बुलेन्स० को जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ। विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना सवार थिए।

विमान तीव्र गतिमा खसेर घना आवादी भएको सहरको जमिनमा बजारिएको र त्यहाँ जहाजमा आगो लागेको थियो। केहीबेरमै आगो भीषण रूप लिँदै विस्फोट भएको थियो। दुर्घटनामा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएको छ।

यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या भएको खुलासा

अछाम, १९ माघ ।
अछामको ढकारी गाउँपालिका ८ मा मृत फेला परेकी दुई किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ ।

प्रहरीले ढकारीकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको सोही गाउँपालिका ३ का दुईजना किशोरले यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको जनाएको छ ।

माघ ११ गते बाख्रा चराउन गएका उनीहरु भोलिपल्ट मृत फेला परेका थिए । मृतकका परिवारले दिएको किटानी जाहेरकी आधारमा पक्राउ परेका १७ र १५ वर्षका दुईजना किशोरले उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीले पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

पक्राउ परेका दुबै जनाले प्रहरीसंगको बयानमा यौन प्रस्ताव अस्वीकार गरेपछि दुबै किशोरीको हत्या गरेको स्वीकार गरेका   छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले शनिवार पत्रकार सम्मेलन गरी दुई किशोरीको हत्या प्रकरणका बारेमा जानकारी गराएको हो ।

घट्नाको अनुसन्धानका क्रममा प्रहरीले मृतक किशोरीहरुको मोवाईल कल डिटेलका आधारमा दुबै किशोरलाई अनुसन्धानको दायरामा ल्याएको थियो । दुबै किशोरीहरु मृत फेला परेको जंगलमा दुबै किशोरहरु देखिएका थिए । अनुसन्धानका क्रममा किशोरीहरुसंग सम्पर्क भएपछि उनीहरु जंगलमा गएको खुलेको छ । उनीहरु प्रेमी–प्रेमिका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरहरुले उपहारमा दुबै किशोरीहरुसंग सल माग्छन् । ईशरा सल दिन्छिन् । सरस्वती सल दिन अस्वीकार गर्छिन् । त्यही समय ईशरा बाख्रा फर्काउन जान्छिन् । यता १५ वर्षीय किशोर सरस्वतीसंग यौन प्रस्ताव राख्छन् । उनी प्रस्ताव अस्वीकार गर्छिन् । त्यही प्रतिशोधमा १५ वर्षीय किशोर उनको हत्या गर्छन । सरस्वती फर्केर आउदा ईशराको हत्या भईसकेको थियो । उनी हत्याका बारेमा गाँउमा भनिदिने भन्दै भाग्न थाल्छिन् । भाग्दै गरेकी ईशरालाई समातेर उनकै १७ वर्षीय प्रेमीले ढुंगाले हानेर हत्या गर्छन ।

घट्नाका बारेमा कसैलाई शंका नहोस भनेर उनीहरुले दुई किशोरको शव व्यवस्थापन गर्छन ।

प्रहरी घट्नास्थलको प्रकृति, लाशको मुचुल्का, किशोरीहरुको कल डिटेल, मृतकका परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेका किशोरहरुले दिएको बयानका आधारमा उनीहरुको हत्यामा संलग्न भएको निष्कर्षमा पुगेको हो ।

बढ्यो इन्धनको मूल्य

काठमाण्डौं,१९ माघ ।

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टीतेलको प्रतिलिटर चार रुपैयाँ वृद्धि गरिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले वृद्धि भएको छ।

टी-२० आई सिरिज: जितको खोजीमा नेपाल, आज थाइल्याण्डसँग भिड्दै

काठमाडौं । त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेल थाइल्याण्डसँग खेल्दै छन् ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

शुक्रबार नेदरल्यान्ड्स र थाइल्याण्डबीच भएको खेलमा नेदरल्यान्ड्स ८ विकेटले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ ।

नेपाल क्रिकेट स‌ंघ (क्यान)ले  खेल हेर्नकाे लागि प्रवेश नि:शुल्क गरेकाे छ ।

सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३-३ खेल खेल्नेछ ।

नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।

मृत भेटिए नेपाली काँग्रेसका नगर सभापति कलौनी

कञ्चनपुर, १९ माघ ।
कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको छ । उनीहरुले घटनाबारे विभिन्न कोषबाट अनुसन्धान सुरु गरेका छन् ।

तालिमप्राप्त कुकुर पनि पुग्दै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले अहिले शव भेटिएको बताउँदै थप तथ्य अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।

खोज्नुहोस