पुस्तक चर्चा: योगीको आत्मकथा

-प्रेम राज अवस्थी
पढ्ने सूचीमा लामो समयदेखि राखिएको पुस्तक अन्ततः पढिसकेपछि, यसले दिएको सकारात्मक ऊर्जा अरूसँग पनि बाँड्नुपर्छ जस्तो लाग्यो। यही उद्देश्यले यहाँ पुस्तकको संक्षिप्त चर्चा गर्न गइराखेको छु। विश्वभर चर्चित र सबैभन्दा बढी बिक्री भएका पुस्तकहरूमध्ये एक, श्री परमहंस योगानन्दजी द्वारा लिखित “योगीको आत्मकथा” पढ्ने अवसर मिल्यो। लाखौँ मानिसको जीवनमा गहिरो आध्यात्मिक प्रभाव पार्न सफल यस पुस्तकले यति व्यापक चर्चा पाउनुको कारण के होला? यही जिज्ञासाले प्रेरित भएर यसको संक्षिप्त चर्चाको प्रयास गरेको छु।
पुस्तकको सम्पूर्ण विश्लेषण गर्न गहिरो अध्ययन, समय, र एकाग्रता आवश्यक पर्छ। तथापि, संक्षेपमा भन्नुपर्दा, योगानन्दजी यो आत्मकथामा उहाँको प्रारम्भिक जीवनदेखि पश्चिमी मुलुकहरूमा क्रिया योग र आध्यात्मिकता प्रवर्द्धन गर्न गरेका यात्रासम्मका रोचक तथा विचारमग्न प्रसङ्गहरू समेटिएका छन्। यस पुस्तकको गहिराइ बुझ्न ध्यानपूर्वक पढ्नु आवश्यक छ, किनभने पढिसकेपछि पनि यसका गहन विचारहरू मनन गर्न समय दिनुपर्छ।
लगभग ८० वर्ष अघि लेखिएको “योगीको आत्मकथा’’ पुस्तकले सन् २०११ पछि अझ व्यापक चर्चा पायो जब स्टिभ जब्स ( प्रविधि क्षेत्रका चर्चित व्यक्ति र एप्पल कम्पनीका संस्थापक) को अन्त्येष्टिमा उनको इच्छा मुताबिक ५०० प्रतिहरू वितरण गरियो। स्टिभ जब्स ‘’योगीको आत्मकथा’’ पुस्तकलाई आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण र प्रिय पुस्तक मान्थे। जब्सले पहिलो पटक किशोरावस्थामा यस पुस्तकलाई पढेका थिए, र त्यसपछि जीवनभर पटक–पटक अध्ययन गरीरहे। त्यसै गरी विराट कोहली, रजनीकान्त, मनोज बाजपेयी जस्ता ख्यातिप्राप्त व्यक्तिहरूले पनि यस पुस्तकले आफ्नो सोच र दृष्टिकोणमा मा पारेको प्रभावबारे खुलेर चर्चा गरेका छन्।
सन् १८९३ मा भारतको गोरखपुरमा जन्मिएका पुस्तकका लेखक श्री परमहंस योगानन्दको वास्तविक नाम मुकुन्दलाल घोष थियो। उनमा बाल्यकालदेखि नै योग र अध्यात्मको गहिरो प्रभाव परेको थियो, जसका कारण उनले सानै उमेरमा विभिन्न साधु-सन्तहरू संग सत-संग गरेका थिए ।
आफ्नो आध्यात्मिक यात्रामा उनले स्वामी युक्तेश्वर गिरीलाई आफ्नो गुरुका रूपमा मानेका थिए। उनीसँगै बसेर योगानन्दले क्रिया योगको गुह्य ज्ञान सिके। क्रिया योग एक वैज्ञानिक विधिसहितको प्राचीन योग पद्धति हो जसलाई ध्यान, श्वास नियन्त्रण (प्राणायाम), र आन्तरिक आत्म-जागरणको माध्यमबाट आध्यात्मिक उन्नतिको लागि प्रयोग गरिन्छ। क्रिया योगले साधकलाई आध्यात्मिक जागरण प्रदान गर्छ र यही योग साधनाले श्री परमहंस योगानन्दजीको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्यायो।
“योगीको आत्मकथा’’ पुस्तकमा ४८ शीर्षक छन् जसमा लेखकको प्रारम्भिक जीवन, आध्यात्मिक खोज, बाल्यकालका चमत्कारिक अनुभवहरू, पारिवारिक अवस्था, धार्मिक आस्था, साधु-सन्तहरूसँगको भेटघाट, साधनाका अनुभवहरू, जीवनका महत्त्वपूर्ण शिक्षा, ध्यानको गहिरो अनुभव, पश्चिमी समाजमा आध्यात्मिकताको पुनर्जागरण, गुरुहरूको मार्गदर्शनदेखि जीवन शिक्षासम्मका प्रसङ्गहरू समावेश छन् ।
पुस्तकमा श्री परमहंस योगानन्दजीको सन् १९२० मा (प्रसंगको लागी नेपालमा त्यस बखत राणा शासन थियो र प्रधानमन्त्री चन्द्र शमशेर जबरा थिए) अमेरिकाको रोचक भ्रमण र आध्यात्मिक जागरण सम्बन्धी प्रसङ्गबाट बाट धेरै कुरा बुझ्न सकिन्छ। अमेरिकामा उनले अध्यात्म, योग र क्रिया योगको प्रचार गरे र प्रवचनहरू मार्फत अन्य पश्चिमी मुलुकहरू विशेषतः युरोपमा पनि योगप्रति आकर्षित गराए। अहिले पनि अमेरिकाको क्यालिफोर्नियामा अवस्थित, श्री परमहंस योगानन्दजीद्वारा स्थापित आत्म-ज्ञान सम्बन्धी एक संस्थाले योग र आध्यात्मिक शिक्षा विश्वभर फैलाइरहेको छ।
पुस्तकमा सङ्गीतसम्बन्धी सनातनी परम्परा र ज्ञानको चर्चा गरिएको छ, जहाँ सङ्गीतलाई आत्माको अभिव्यक्ति र ध्यानको महत्त्वपूर्ण साधनका रूपमा चित्रण गरिएको छ। श्री परमहंस योगानन्दजी स्वयं सङ्गीतप्रति गहिरो अनुराग राख्थे र यसलाई चेतनाको उच्चतम अवस्थासम्म पुग्ने साधन मान्थे। विशेष रूपमा, उनले भक्तिमय सङ्गीत,भजन-कीर्तन लाई आत्मा शुद्धीकरणका लागि प्रभावकारी मानेका थिए। त्यस्तै, उनले वेद र उपनिषद्लाई शाश्वत ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेका छन्। वेदले ब्रह्माण्डीय सत्यको व्याख्या गर्छ, भने उपनिषद्ले ध्यान, आत्मज्ञान, र ब्रह्मसँगको एकत्वबारे गहिरो शिक्षा दिन्छ। “योगीको आत्मकथा” केवल आध्यात्मिक पुस्तक मात्र नभई चराचर जगत्सँगको मानव सम्बन्धबारे गहिरो शिक्षा पनि दिन्छ। यस पुस्तकमा वातावरण, दिगो विकास, र समग्र विकासको दर्शनसम्बन्धी महत्त्वपूर्ण दृष्टिकोण पाइन्छ।
श्री परमहंस योगानन्दजी प्रकृतिलाई ईश्वरको अभिव्यक्ति मान्थे। वातावरण जोगाउनु केवल नैतिक जिम्मेवारी मात्र होइन, आध्यात्मिक कर्तव्य पनि हो। यो पुस्तकले प्राकृतिक स्रोतहरूको दोहन नगरी वातावरणसँग समन्वय गरेर जीवन जिउन प्रेरित गर्छ। साथै, साधु-सन्तहरूले प्राकृतिक जीवनशैली अपनाउने कारण वर्णन गर्दै शाकाहारी भोजनको महत्त्वसमेत व्याख्या गरेको छ। वनस्पतिहरूसँगको सहअस्तित्वले मानव चेतनालाई कसरी शुद्ध पार्छ भन्ने विषयमा पनि विस्तृत वर्णन गरिएको छ। पुस्तकले दिगो विकासलाई केवल आर्थिक वृद्धिमा सीमित नराखी, प्रकृति, मानवता, र आध्यात्मिक चेतनाबीचको सन्तुलनका रूपमा प्रस्तुत गर्छ।
आध्यात्मिक चेतनाको अभिवृद्धि बिना विकास अपूर्ण हुन्छ। भौतिकवादी विकासको अन्धो दौडले समाजलाई अराजकतामा धकेल्न सक्छ, त्यसैले अध्यात्मसहितको सन्तुलित विकासमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन्छ। यस पुस्तकले आत्म-साक्षात्कार, ध्यान, योग, र आध्यात्मिक जागरणलाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरेको छ। लेखक श्री परमहंस योगानन्दजीले पश्चिमी र पूर्वीय सभ्यतालाई जोड्दै आध्यात्मिकतामात्र नभई वैज्ञानिक दृष्टिकोणबाट पनि योगको व्याख्या गरेका छन्। यही कारणले “योगीको आत्मकथा” ले विश्वभरका मानिसहरूमा प्रभाव पारेको छ। कसरी पूर्वीय सभ्यता अंगाल्ने मात्र नभई अमेरिकी र युरोपेलीहरू, जस्तै स्टीभ जब्स, जर्ज हैरिसन (विश्वप्रसिद्ध सङ्गीतकार, गीतकार, र बीटल्स ब्याण्डका प्रमुख गिटारवादक), एल्विस प्रेस्ली (अमेरिकी गायक तथा कलाकार) जस्ता प्रतिष्ठित व्यक्तित्वहरू यस पुस्तकबाट गहिरो रूपमा प्रभावित भए र पुस्तकबाट के प्रेरणा पाएका थिए भन्ने बारेमा थप चर्चा आवश्यक छ।
यो पुस्तकले आध्यात्मिकता, जीवन, विकास, र समृद्धिलाई सँगै कसरी लैजान सकिन्छ भन्ने कुरा बुझ्न मद्दत गर्छ। साथै, आफूमा रहेको शक्ति उपयोग गर्दै जीवनको उद्देश्य पहिचान गर्न र आफ्नै विधामा अब्बल र सफल बन्न ज्ञान तथा प्रेरणा दिन्छ। श्री परमहंस योगानन्दजी भौतिक सुखभन्दा परको आध्यात्मिक जीवनलाई असाधारण ठान्थे। यस पुस्तकले आत्मज्ञान, योग, ध्यान, र गुरु-शिष्य परम्पराको अनुसरण गर्दै जीवनलाई उच्चतम उद्देश्यतर्फ डोर्याउन सकिन्छ भन्ने विचार प्रस्तुत गरेको छ।
श्री परमहंस योगानन्दजीद्वारा लिखित “योगीको आत्मकथा” आध्यात्मिक मार्गदर्शनको उत्कृष्ट स्रोत हो। यस पुस्तकले जीवनलाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ र भौतिक, आत्मिक, तथा वातावरणीय सन्तुलनको महत्त्वलाई उजागर गर्छ। गहन विषयहरू समेटिएको यो पुस्तक गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने हुन्छ।पुस्तकले आत्म-साक्षात्कारको मार्गमा नयाँ दिशा प्रदान गर्दै साधारण सीमाहरूभन्दा पर जान प्रेरित गर्ने नै छ ।
(प्रेम राज अवस्थी, संयुक्त राष्ट्र संघमा कार्यरत छन्)
🙏🙏🙏🙏🙏🙏पुस्तक पढ़न मन लाग्यो।