बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउण्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।
बोलपत्र स्वीकृत भएका काउण्टर पार्टीको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टर पार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंकस्थित खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।