अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने भुवन कार्की पक्राउ

धनगढीः अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का २५ वर्षीय भुवन कार्की पक्राउ परेका छन्। कार्कीलाई सोमवार काठमाडौं–१२ बाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्कीले अमेरिका पठाइदिने प्रलोभनमा बेरोजगार युवा–युवतीहरूसँग एक करोड भन्दा बढी रकम ठगी गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आकर्षक रोजगारीको आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो। कार्कीले संकलित रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी गर्न पुगेका थिए। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भद्रकाली पठाइएको छ।