डेनमार्कमा सुपर सिक्स क्रिकेटमा सुदूरपश्चिम विजयी

द एभरेष्ट पोष्ट
६ साउन २०८३ ०:४८
डेनमार्कमा सुपर सिक्स क्रिकेटमा सुदूरपश्चिम विजयी

डेनमार्क, २१ जुलाई ।

हिमालयन स्पोर्ट्स क्लब डेनमार्कद्वारा जुलाई १८ र १९ गते आयोजित सातौं सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको टिम ब्लुले जितेको छ।

टिम ९७ लाई १८ रनको अन्तरले पछि पार्दै सुदूरपश्चिमको टीम ब्लुले उपाधी जितेको हो ।

फाइनल खेलमा सुन्दर सुदूरपश्चिमको टिम ब्लुले पहिले ब्याटिङ गर्दै निर्धारित ६ ओभरमा ६८ रन बनाएको थियो। ६९ रनको विजयी लक्ष्य पछ्याएको टिम ९७ ले निर्धारित ओभरमा ५० रन मात्र बनाउन सकेपछि सुन्दर सुदूरपश्चिमको टोली १८ रनले विजयी बन्दै उपाधि जित्न सफल भयो।

फाइनल खेलमा सुशील देवकोटाले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा केवल ६ रन खर्चेर १ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि सुन्दर सुदूरपश्चिमका तीव्र गतिका बलर विनोद खैरले जिते भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि पोर्चुगल समाज, डेनमार्कका विशाल भण्डारीले हात पारेका थिए। त्यसैगरी म्यान अफ द सिरिज टिम ९० सेभेनका कप्तान कुश खड्का भएका थिए।

विजेता टिमका कप्तान जेम्स कार्कीलाई हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष दीपेन्द्र बिष्टले ट्रफी प्रदान गर्नु भएको थियो। प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम क्लबका क्रिकेट संयोजक कृष्ण चन्दले सञ्चालन गरेका थिए।

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कका निवर्तमान अध्यक्ष कृष्ण धानुकले सुदूरपश्चिमका क्रिकेट म्यानेजर तथा खेलाडीका रुपमा भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा विभिन्न १२ टिमहरूको सहभागिता रहेको थियो। सुदूरपश्चिम समाजको टीम ब्लुले उपाधी जित्दा समाजको अर्को टिम यल्लो भने क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

नेपाली समुदायलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यले हिमालयन स्पोर्ट्स क्लब डेनमार्कले क्रिकेट प्रतियोगिताको शुरुवात गरेको हो ।

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कले समेत आगामी सेप्टेम्बर महिनामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष निरज कठायतले आगामी सेप्टेम्बर १९ र २० गते कोपनहेगन क्रिकेट क्लबको यही मैदानमा समाजको आयोजनामा क्रिकेट प्रतियोगिता हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस