हेमकुमार श्रेष्ठ : फकल्याड युद्धमा विश्व हल्लाउने गोर्खाली पल्टनका एक योद्धा
दीर्घराज उपाध्याय ।
कोलोराडोको डेनभर डाउन टाउनबाट ७० माईल दूर । स्टेश पार्कको खोँच । सानो तर सुन्दर शहर । शहरलाई कही दायाँ त कही बाँया पारेर बगीरहेको नदी, बिग थम्पसन । त्यसैको किनारमा छ, नेपाल्स क्याफे । क्याफेका भित्ताभरी छन्, सगरमाथा र बुद्ध ।
बिग थम्पसन । कही सुस्ताउदै । कही सुसेल्दै । हल्ला गर्दै बग्ने कही । फकल्याण्ड युद्धमा संसार हल्लाएका गोर्खा पल्टनका एक नायक हेमकुमार श्रेष्ठ त्यही नदी किनारको क्याफेमा चुपचाप ग्राहकको सेवामा खटिएको दुई दशक नाघ्यो ।
चलायमान नदी किनार । शान्त र स्थीर श्रेष्ठ । हृदयमा देश र मस्तिष्कमा फकल्याण्ड युद्धको गौरवपूर्ण गाथा बोकेका उनी बेलाबेला नोष्टाल्जिक हुन्छन् ।
उमेरले ८० नाघे । स्मृतिबाट धुमिल हुदै गएको फोकल्याण्ड युद्धको बीरतापूर्ण ईतिहासका रोमाञ्चक सम्झनाहरु भने श्रेष्ठको मस्तिष्कमा अझै उस्तै छन् । जब पल्टाउछन्, फकल्याण्ड युद्धको किताव । उनमा देखिन्छ, बेग्लै फूर्ति ।
१९८२ को त्यो फोकल्याण्ड युद्ध, जहाँ बेलायतसंग पराजित भएको थियो, अर्जेन्टिना । पराजयको पीडाबाट आक्रान्त अर्जेन्टिनीहरु त्यसको कारक गोर्खालीहरुलाई ठान्छन् भनिन्छ । र भनिन्छ, त्यही कारण अर्जेन्टिनीहरु गोर्खालीलाई घृणा गर्छन् । थाह छैन्, त्यो कति सत्य हो ।
७४ दिनमा टुंगिएको त्यो युद्ध, जहाँ अर्जेन्टिनाले ठूलो क्षति मात्र बेहोर्नु परेन, उसको फकल्याण्ड कब्जा गर्ने सपना समेत अधुरो रह्यो । गोर्खालीको साथका कारण अप्रत्याशित रुपमा बेलायतले जित निकालेको विश्वास गरिन्छ ।
फकल्याण्ड युद्धमा नाटकीय ढंगले जित दर्ज गरेर संसार हल्लाएका गोर्खाहरुले त्यसपछि बेहोरेका कठिन संघर्षका आफ्नै पाटा छन् । जितको एक वर्षपछि चुपचाप अमेरिका भासिएका त्यही युद्धका एक नायक श्रेष्ठ २२ वर्षदेखि कोलोराडोको स्टेश पार्कमा नेपाल्स क्याफे चलाईरहेका छन् ।
म यहाँ चर्चा गर्दैछु, श्रेष्ठले लडेको फकल्याण्ड युद्धको । सुनाउदैछु, श्रेष्ठको अनुभव । गोर्खालीको बीरता । अदम्य साहसको कथा । र, विश्व हल्लाउने जितको कथा ।
श्रेष्ठको कथा संखुवासभाको खाँदवारीबाट शुरु हुन्छ । अझ त्योभन्दा पर, एक घण्टा पैदल पुगिने सेखा गाउँबाट । श्रेष्ठ त्यही सेखा गाउँमा २००३ सालमा जन्मिए । पाँच दाजुभाई । तीन दिदी बहिनी । काईला उनी । पाँच कक्षाभन्दा माथि पढेनन् । गाईबाख्रा चराउन थाले ।
विदामा घर आउने ब्रिटिश लाहुरेको फूर्ति बेग्लै हुन्थ्यो । त्यही देखेर श्रेष्ठभित्र लाहुरे बन्ने सपना हुर्कियो । संयोगले उनले धरानमा गल्ला आएको सुने । पूर्व ब्रिटिश लाहुरेहरु, जसले गोर्खा पल्टनका लागि युवाहरु छान्थे, उनीहरुलाई गल्ला भनिन्थ्यो ।
उनी पल्टनमा भर्ती हुन सेखाबाट धरान झरे । उनीजस्तै पूर्वी पहाड र संखुवासभाबाट थुप्रै युवाहरु धरानको घोपा क्याम्पमा जम्मा भएका थिए ।
दाई नाता पर्ने बासु श्रेष्ठ खाँदवारीका प्रधानपञ्च थिए । श्रेष्ठले उनको कागज बनाई दिए । नाम हेमकुमार । थर गुरुङ । उमेर १८ वर्ष । गल्लाका अगाडि छाती फुलाए । ३६ ईञ्च पुग्यो । वजन ५२ नाघ्यो । गल्लाले एक लटमा १३ जना छान्थे । त्यस पटक ३१ जना छानिए । उनी एक थिए । त्यो वर्ष थियो, वि.स. २०१९ साल (सन् १९६२) ।
छनौट गरेका युवाहरुलाई गल्लाले धरानबाट कलकत्ता पु¥याए । त्यहाँ एक महिना राखे । त्यसपछि तालिमका लागि मलेशिया पु¥याईए । एक वर्षमा तालिम सकियो । र, उनको पहिलो पोष्टिङ हङकङमा भयो ।
गोर्खा पल्टनमा छनौट भएकाहरुलाई सोझै बेलायत लगिदैनथ्यो । उनलाई धरानबाट कलकत्ता लगियो । साढे एक महिना त्यहाँ बसे । कलकत्ताबाट मलेशिया पुगे ।
बेलायतको अधीनमा रहेको मलायामा त्यहाँको ‘मलायन कम्युनिस्ट पार्टी’ ले ‘वार अफ न्याशनल लिबरेसन’ नाम दिएर सञ्चालन गरेको छापामार युद्ध दवाउन गोर्खा फौज त्यहाँ तैनाथ थियो । त्यहाँ गोर्खा रिक्रुट ट्रेनिङ सेन्टर पनि थियो । तालिम सकिएपछि उनको ‘सेभेन्थ ड्युक अफ एडिनबर्गस् ओन गोर्खा राइफल्स’ को फस्ट बटालियनमा पोष्टिङ भयो । जसलाई १/७ जीआर पनि भनिन्थ्यो ।
गोर्खा पल्टनको आर्मी बेस र एचक्यू बिजी (हेडक्वार्टर, ब्रिगेड अफ गोर्खाज) हङकङमा थियो । त्यहाँ साढे तीन वर्ष हङकङ बसे । त्यसपछि खटिए, ब्रुनाई । दुई पटक गरी त्यहाँ पाँच वर्ष बसे । उनको एक छोरी ब्रुनाईमा जन्मिई । एक छोरी र एक छोरी हङकङमा जन्मिए । पटक पटक गरी नौ वर्षजति उनी हङकङमा खटिए ।
दुई वर्ष उनी फिजीमा खटिए । १९७५ मा फिजी पुगेको उनलाई तीन महिना पुगेको थियो । त्यसैबीच एक हप्ताको विदा पाए । विदामा घुम्बन फिजीको राजधानी गए । चाईनिज होटलमा खाना खान गए । एउटी केटीले आएर अर्डर लिई । एकैछिनपछि पछाडिबाट एउटी केटीले झ्याप्पै समाती । फर्केर हेर्दा त उ त्यही केटी थिई, जसलाई उनले १९७२ मा हङकङको बोर्डर भित्र छिर्न दिएका थिए । होटलमा ती केटीका बुवाआमा पनि थिए । छोरीलाई जोगाईदिएकोमा उनीहरुले कृतज्ञता व्यक्त गरे । उनी हप्तादिन त्यहाँ बस्दा उनीहरुले खानाको पैसा लिएनन् ।
उनी मलेशियामा हुदा शुरुवाती तलव ६८ डलर थियो । हङकङमा ३०० डलर पुग्यो । पछि ३७० भयो । जब उनी परिवार सहित बस्न थाले । तव पारिश्रमिक बृद्धि भएर ७०० डलर पुग्यो ।
विवाहितको बढुवा पनि छिटो हुन्थ्यो । तलव पनि बढि पाउथे । अविवाहितको तलवको ठूलो हिस्सा ईनकम ट्याक्समा जान्थ्यो । विवाहितले भने भत्ता पाउथे । जसलाईम्यारिड अनकम्प्यानियन गुर्खा अलाउन्स (मुगा) भत्ता भनिन्थ्यो । त्यही कारण अविवाहितले पनि विवाहित लेख्थे । कतिले थप भत्ता लिन तीन वटा श्रीमती भएको समेत लेखेका थिए ।
सन् १९७७ मा उनको दरबन्दी बेलायतमा भयो । त्यसअघि उनी १९७१ मा पहिलो पटक बेलायत पुगेका थिए । उनी बेलायतको अल्डरसट नजिकै चर्च क्रुकहाममा गोर्खा क्याम्पमा थिए । मध्यरातमा अर्जेन्टिनाले फकल्याण्ड कब्जा गरेको सुने ।
अर्जेन्टिनामा आर्थिक संकट र राजनीतिक असन्तुष्टि बढिरहेको बेला सैनिक शासक लेफ्टिनेन्ट जनरल लियोपोल्डो गाल्टिएरीले संयुक्त सुरक्षाफौज परिचालन गरी सन् १९८२ को अप्रिल २ मा फकल्याण्ड टापु कब्जा गरे ।
फकल्याण्ड कब्जा गर्न अर्जेन्टिनाका सैन्य शासक गाल्टिएरीले चलाएको अप्रेसन रोसारियोका विरुद्ध बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याँचरले अप्रेशन ब्ल्याक बक शुरु गर्दै अप्रिल ५ मा विशाल नौसैनिक टास्क फोर्स फकल्याण्ड पठाईन् ।
बेलायत सरकारले फिफ्थ इन्फ्न्ट्री ब्रिगेडको नेतृत्वमा युद्धका लागि बनाएको लागि टास्क फोर्समा कमान्डो, प्यारासुट रेजिमेन्ट र १/७ जिआर सम्मिलित थियो ।
१२ मे १९८२ को दिन बेलायतको साउथह्याम्पटन बन्दरगाहबाट क्वीन एलिजाबेथ–२ (क्यू टु) पानीजहाज ३१०० सेना लिएर १३ हजार किमी टाढा रहेको फकल्याण्डका लागि प्रस्थान ग¥यो । जसमा ६०० गोर्खा सैनिक थिए । ।
टास्क फोर्सको विदाईमा बजिरहेको थियो, बेलायतको राष्ट्रिय धुन । उता गोर्खा पल्टनको विदाईमा पण्डित भवानीप्रसाद उपाध्याय मङ्गल मन्त्रोच्चारण गरे ।
उनी चढेको पानी जहाज १६ दिनपछि २८ मे १९८२ मा बेलायत अधीनस्थ साउथ एटलान्टिक ओसनमा पर्ने साउथ जर्जिया द्वीप पुग्यो । तेल भरेपछि जहाज त्यहाँबाट एसेन्सन आइल्यान्डतर्फ अघि बढ्यो । जहाँ बेलायती सेनाको क्याम्प थियो ।
एसेन्सन आइल्यान्डमा पुगेपछि उनी चढेको पानी जहाज बदली भयो । त्यहाँबाट नोरल्यान्ड ‘वार शिप’ मा उनीहरु सान कार्लोस बेतिर लागे । राडार र मिसाईल जडित नोरल्याण्डलाई चारैतिरबाट पनडुब्बीले पहरा दिएका थिए । नोरल्याण्डमा अर्जेन्टिनी युद्धबन्दी पनि राखिएका थिए । उनी चढेको पानी जहाज अर्जेन्टिनी सेनाको निशानामा थियो । अर्जेन्टिनी आक्रमणका पूर्व जानकारीका लागि साईरन बज्थ्यो । साईरन बजेपछि लम्पसार पर्नुपथ्र्यो । यस्तो लाग्थ्यो, युद्ध मैदानमा पुग्नु अघि नै मृत्यु हुने भयो । तर अर्जेन्टिनी फौजको मिसाईल आक्रमणलाई बेलायती सेनाको पनडुब्बीले निस्क्रिय पारिदिन्थ्यो ।
पूर्वी फकल्याण्डको उत्तर–पश्चिमी भागमा रहेको तटीय क्षेत्र सान कार्लोस फकल्याण्ड युद्धको सबैभन्दा महत्वपूर्ण स्थान थियो । अर्जेन्टिनी फौजबाट मुक्त गरेपछि २१ मेमा यहीबाट बेलायती फौज गुजग्रिन हुदै स्ट्यान्ली तर्फ अघि बढेको थियो ।
सेना, रसद र हतियार यही मार्ग भएर भित्रिन थालेपछि अर्जेन्टिनी फौजले निरन्तर हवाई हमला गरेर अवरोध सृजना गरिरह्यो ।
३ अप्रिल १९८२ मा अर्जेन्टिनी सेनाले कब्जामा लिएको साउथ जर्जिया द्वीपलाई २२ दिनमै (२५ अप्रिल) बेलायती सेनाले मुक्त गरिसकेको थियो । फकल्याण्डबाट १३०० किमी टाढा रहेको यो द्वीप रणनीतिक हिसावले अन्यन्त महत्वपूर्ण थियो ।
२१ मे १९८२ मा बेलायती ४००० सैनिक सान कार्लोसमा उत्रिए । जसले युद्ध नगरेरै अर्जेन्टिनी फौजबाट यो भूभाग सहजै फिर्ता लिए । त्यसपछि पनि यहाँ अर्जेन्टिनी फौजले हवाई आक्रमण गरिरह्यो ।
मे २८ र २९ दिन चलेको भीषण लडाईपछि डार्बिन र गुजग्रीनलाई पनि बेलायती सेनाले मुक्त ग¥यो । र त्यहाँ रहेका ९०० अर्जेन्टिनी सेनाले आत्मसमर्पण गरे ।
२९ मे मा बेलायती फौजले गुजग्रीनपछि उत्तरतर्फको टील ईनलेट कब्जामा लियो । यो भूभाग नियन्त्रणमा लिएपछि बेलायती फौजलाई स्ट्यान्ली तर्फ अघि बढ्न सहज भयो ।
२ जुन १९८२ को विहान ५ बजे उनीहरु सान कार्लोस बे पुगे । पूर्व र पश्चिममा बिभाजित फकल्याण्डको पूर्वमा पथ्र्यो, सान कार्लोस बे । नोरल्याण्डबाट झरेर लागे युद्ध मैदानतर्फ ।
उनको फौज अघि बढ्दै गर्दा फस्ट सेभेन जीआर कमान्डिङ अफिसर लेफ्टिनन्ट कर्णेल माइक मोर्गनले गोर्खाको ईतिहासलाई कायम गर्ने अभिभारा पुरा गर्ने विश्वास व्यक्त गर्दै छोटो निर्देशन मन्तव्य व्यक्त गरे ।
सान कार्लोसबाट उनको फौजलाई हेलिकोप्टरमा डार्बिन पु¥याईयो । गुजग्रिन र डार्बिनसंगै जोडिएका साना वस्ती हुन् । भीषण लडाईपछि बेलायती सेनाले दुई दिनअघि मुक्त गरेको डार्बिन–गुजग्रिनमा अर्जेन्टिना तर्फ ठूलो क्षति भएको थियो । जताततै लाश । छरपष्ट हेल्मेटहरु । गोली । अनि आत्मसमर्पण गरेका अर्जेन्टिनी सेनाहरु थिए ।
ब्रिटिश पल्टनको टु पारा त्यो भूगोल कब्जामा लिएपछि अघि बढ्यो । त्यसको सुरक्षाको जिम्मा गोर्खा पल्टनलाई आयो । डार्बिनलाई फेरि नियन्त्रणमा लिने प्रयासमा दुश्मन निरन्तर हवाई आक्रमण गरिरहेको थियो । त्यो भूगोलको रक्षा र स्वयम आफ्नो सुरक्षाका लागि रणनीतिक उपायहरु अपनाउनु पर्ने भयो । उनको फौजले त्यहाँ दुश्मनको हवाई र स्थल आक्रमणबाट जोगिन ओभरहेड प्रोटेक्सन सहितको टे«ञ्च खन्यो । उनीहरु बाहिर निस्किदैनथे । कुनबेला गोली बर्सिन्छ । कुन बेला बम । टे«ञ्चमा घस्रेर अघि बढ्थे । मनमा डर । मृत्युको भय । न भाग्न मिल्ने । न पछि हट्न मिल्ने । विजय वा पराजय । गोर्खा पल्टनसंग दुईटा बिकल्प थिए । पराजयको अर्थ मृत्यु । बिजयको अर्थ जीवन । यद्यपि बिजयका क्रममा पनि सबै जोगिने निश्चित थिएन् । संख्याका हिसावले दुश्मन उनीहरुभन्दा निकै ठूलो संख्यामा थिए ।
यता उनीहरु लडाईको मोर्चामा थिए । उता दुश्मनले बेलायती सेनाको खाद्यान्नसंगै ठूलो मात्रामा हतियार र गोला बारुद बोकेको एटलान्टिक कन्भेयर अर्जेन्टिनी फौजले क्षेप्यास्त्र आक्रमण गरी ध्वस्त पारिदियो । जसमा रसद र हतियार ओसार्न प्रयोग गरिने चिनुक (ब्राभो नोभेम्बर) संगै वेसेक्स र लिन्क्स हेलिकोप्टर पनि थिए । अर्जेन्टिनी फौजको क्षेप्यास्त्र आक्रमणबाट ती सबै नष्ट भए । जसका कारण एकातिर हेलिकोप्टरमा सेना ओसार्ने कार्य प्रभावित भयो । अर्कोतर्फ बेलायती सेना भोकभोकै लड्नु पर्ने अवस्था सृजना भयो ।
उनलाई पानीजहाजमा चिनिया कर्मचारीले चामल दिएकी थिईन् । करीव एक किलोजति चामल उनले बिभिन्न खल्तीमा हालेका थिए । त्यही खाएर लडे । त्यो पनि सकियो । त्यसपछि भोकभोकै लड्यौ । तीनदिनपछि मात्र उनीहरुले खानेकुरा पाए ।
जुन १९८२ को सुरुआतमा बेलायती सेनाले फिट्जरोय र ब्लफ कोभ क्षेत्रमाथि नियन्त्रण कायम गर्दै स्टान्लीलाई दक्षिण र पश्चिमतर्फबाट घेराबन्दी शुरु ग¥यो । तर ८ जुन १९८२ मा अर्जेन्टिनी वायुसेनाले गरेको भीषण हवाई आक्रमणमा बेलायती नौसेनाका दुई युद्धपोतसर गलाहद र सर ट्रिस्ट्राममा ध्वस्त गरिदियो । आक्रमणमा ४८ जना बेलायती सैनिकको मृत्यु भयो भने धेरै सैनिक घाइते भए । सर गलाहदबाट वार भेइकलहरू जमीनमा झार्ने क्रममा दुश्मनको आक्रमणबाट गोरखा पल्टनका भैरवबहादुर राई घाईते भए ।
९ जुन १९८२ । डार्बिन क्लियर गरेपछि गोर्खाली फौजलाई ब्लफ कोभतर्फ अघि बढ्न कार्यादेश आयो । हेलिकोप्टरमा ब्लफ कोभमा अवतरण गर्ने प्रयासमा दुश्मनको आक्रमण बाधक भयो । उनको टोली केही ब्लफ कोभ पुग्न पाएन् । गोरखा पल्टनको त्यहाँ नजिकबाट दुश्मनसंग लडाई भयो ।
गोर्खाली पल्टनमाथि दुश्मनले आर्टिलरी फायर र गोलाबारी ग¥यो । आर्टिलरी बम लागेर कर्पोरेल ज्ञान बहादुर राई दुश्मनको आक्रमणबाट गम्भीर घाईते भए । पेटबाट बाहिर निस्किएको उनको आन्द्राभुडी माटो र रगतले लतपतिएको थियो । त्यसका बाबजुद उनी जीवितै थिए । भन्दैथिए, म ज्यूँदै छु । मलाई बचाउ । श्रेष्ठले उनको आन्द्राभुडी पेटभित्र राखे । भन्छन्, त्यो पल सम्झिदा अहिले पनि आङ जिरिङ हुन्छ ।
मेडिकल टीमका लान्स कर्पोरेल पञ्चबीर राई र राम बहादुर गुरुङले स्टे«चरमा राखेर उनलाई रेजमेञ्टल एड पोष्टमा पु¥याए । जहाँ डाक्टर सहित सहयोगीको टीम थियो । डाक्टरको टीमले उनलाई दुःखाई कम गर्न ईञ्जेक्सन लगाए । त्यसपछि बेहोस भएका उनलाई त्यहाँबाट हेलीकोप्टरमा वार हस्पिटल युगाण्डा शीपमा पु¥याईयो । उनीसंगै घाईते भएका हाम्रो फौजका अन्य ८ जनालाई पनि त्यसैगरी ओसारियो ।
जीपीएमजी, लञ्चर र हेभीमेशिनगनबाट निरन्तर आक्रमण गरिरहेको दुश्मनले आर्टिलरीबाट बम वर्षा गरिरहेको थियो ।
वर्षा, हिउँ र कुहिरो । कठ्यांग्रिने चिसो । राति तापक्रम माईनसमा झथ्र्यो । दिउँसो पनि घाम मुस्किलले देख्न पाईने । वर्षाले हिलो भएको थियो । यी सबै कुरा गोर्खाली पल्टनका लागि प्रतिकूल थिए ।
७ जुन १९८२ मा पूर्वी फकल्याण्डको लाफोनियाको एग हार्वर हाउसमा गोर्खाली सेनाले खुकुरी देखाएर तीन जना दुश्मनलाई नियन्त्रणमा लिए ।
बेलायतीहरुले गोर्खालीहरुको बीरता र खुकुरीको निकै प्रचार गरेर दुश्मनलाई आतंकित गरेका थिए । त्यस कारण गोर्खालीसंग लडेर जितिदैन भन्ने मनोबिज्ञानले फकल्याण्ड युद्धमा दुश्मनहरुले आत्मसमर्पण गरे । उनीहरु गोर्खालीको नाम सुनेर आतंकित थिए ।
सानो तटीय बस्ती ब्लफ कोभ, बेलायती सेनाको रसद, सैनिक परिचालन र स्टान्लीमाथिको अन्तिम अभियानका लागि अत्यन्त महत्वपूर्ण रणनीतिक केन्द्र थियो । ब्लफ कोभ नियन्त्रणमा लिएपछि बेलायती फौजले स्ट्यान्लीको दक्षिण तर्फको मार्ग बन्द गरिदियो ।
स्ट्यान्लीका पश्चिम तर्फ रहेका माउन्ट ह्यारियट, टु सिस्टर्स, माउन्ट लङडन, वायरलेस डाँडा, माउन्ट टम्बलडाउन पाँचवटा पहाड रणनीतिक उच्च भूभागमा दुश्मनको फौज थियो । यी पहाड आफैमा दुश्मनका लागि रक्षात्मक मोर्चा थिए ।
ब्लफ कोभमाथि नियन्त्रण जमाएपछि अघि बढेको बेलायती फौजले ११–१३ जुन १९८२ मा यिनै पहाडहरूमा अर्जेन्टिनी फौजसंग भएको भीषण युद्धपछि स्टान्लीलाई पूर्ण रूपमा घे¥यो ।
१४ जुन १९८२ मा स्टयान्लीमा दुश्मनसंग निर्णायक लडाई हुने भयो । गोर्खाली पल्टनलाई त्यसका लागि तयारीका साथ अघि बढ्न निर्देशन आयो । दुश्मनसंग त्यो अन्तिम लडाईमा मरिन्छ कि बाँचिन्छ निश्चित थिएन् । उनको मनमा त्रास थियो । आँखामा घर जहानका तस्वीर । जीवन पराई भूमिमा अस्ताउने चिन्ता । फेरि पनि बिकल्प थिएन्, अघि बढ्नु र लड्नुको ।
उनको फौज अन्तिम युद्धका लागि ब्लफ कोभबाट स्ट्यान्लीतर्फ अघि बढ्दै थियो । विहानको १० नबज्दै दुश्मनले सेता ठूलो झण्डा उठाए । अर्जेन्टिनाका कमाण्डर मारियो मेनेन्डेजले आत्मसमर्पण गरे ।
माउन्ट विलियम डाँडामाथि ब्रिटिश झन्डा अगाडि पाईप व्याण्डले मसक बाजा र बिगुलले ब्रिटिश राष्ट्रिय धुन बजाएपछि उनीहरुले बिजय उत्सव मनाए ।
१६ जुन १९८२ का दिन उनीहरुको फौजलाई हेलिकोप्टरमा डार्बिन लगियो । त्यहाँ स्थानीयले छोडेर गएका तीन वटा घर थिए । हतपत घरभित्र पस्न डर थियो । उनी एक घरभित्र पसे । त्यहाँ एक बुढी महिला थिईन् । उनले किन आएको भनेर सोधिन । जवाफमा उनले भने, नुहाउन । महिलाले भनिन्, हुन्छ नुहाउ । कैयौं दिनपछि उनले नुहाउन पाए ।
युद्ध मैदानमा जताततै दुश्मनका लाश थिए । हेल्मेटहरु छरिएका । आलो रगत । हतियार र गोली जताततै ।
युद्धमा अर्जेन्टिनी पक्षका ६४९ सैनिक मारिए । १,६५७ जना घाईते भए । ११,३१३ जना सैनिकलाई बेलायतले बन्दी बनायो ।
बेलायती तर्फ २५५ सैनिक मारिए । ७७५ जना घाईते भए । १०७ जनालाई अर्जेन्टिनाले बन्दी बनायो । युद्धमा फकल्याण्ड टापुका ३ जना स्थानीय मारिए ।
गोर्खालीले युद्धमा नबोहरेको क्षति भने युद्ध सकिएपछि बेहो¥यो । युद्धका क्रममा बनाईएका टे«ञ्चहरु पुर्ने र बमहरु सर्च गर्ने क्रममा ट्रेन्चमुनि पुरिएको ग्रिनेड विस्फोट हुदा लान्स कर्पोरल बुद्धप्रसाद लिम्बूको घट्नास्थलमै मृत्यु भयो । लडाईमा एक जना सैनिक पनि नगुमाएको गोर्खाली फौजले लडाई सकिएपछि लिम्बुलाई गुमायो ।
युद्ध सकिएपछि करीब एक महीनाको डार्विन रहेको गोर्खाली सेना १६ जुलाई १९८२ मा एसएस युगाण्डा जहाजमा बेलायतका लागि प्रस्थान ग¥यो । यो त्यही जहाज थियो, युद्धमा जो हस्पिटल शीपका रुपमा प्रयोग गरिएको थियो । जहाजमा गोर्खा पल्टनका ५९८ सैनिक थिए । जहाजमा उनीहरुले नाचगान र रमाईलो गरे । बिजयोत्सव मनाईरहदा उनलाई दुखित दखेर सेकेण्ड कमाण्डरले सोधे, किन दुखित ? परिवार र घरको यादले उनले भने, परिवार र घरको यादले । कमाण्डरले फेरि सोधे, घर जान्छौ । जवाफमा भने, जान्छु ।
२२ दिनपछि बेलायत उनीहरु बेलायत पुगे । उनीहरु जहाजबाट साउथह्याम्पटनमा ओर्लिदा बेलायती जनताले पुष्पवर्षा गरेर उनीहरुको भव्य स्वागत गरे । चर्च क्रुकह्याम ब्यारेक प्रवेश गर्नुअघि गोर्खा पल्टनले फ्लीट सिटीमा मार्च पास ग¥यो ।
ब्यारेकमा फर्किएको केही दिनमा श्रेष्ठ सहित सात जना एक महीनाको ब्लक लिभ (विशेष बिदा) मा नेपाल गए । कतिपय सैनिक भने विदामा युरोप गए ।
त्यसको एक वर्षपछि गोर्खा पल्टनबाट अवकाश पाएर अमेरिका पुगे । केही वर्ष ‘ईलिगल’ बसे । त्यसपछि नेपाल गए । फिर्ता हुदा परिवारका सबै सदस्यलाई ल्याएर आए । र, अमेरिकाको कोलोराडोलाई स्थायी मुकाम बनाए ।
२२ वर्षदेखि चुपचाप रेष्टुरेण्ट चलाईरहेका श्रेष्ठले लडेको फकल्याण्ड युद्धले भने ४४ वर्षपछि गोर्खालीको बीरताको हल्ला गरिरहेको छ ।



