हुलाक सेवा पुनर्जागृत गर्दै सरकारी सेवा घर-घरमै पुर्याउने कामको जग बस्यो : सञ्चारमन्त्री
काठ्माण्डौ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनर्स्थापित गरिएको बताएका छन्। हुलाक सेवालाई प्रविधिमैत्री तथा विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै सरकारले नागरिकको घरसम्मै सेवा पुर्याउने अभियान प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको उनले बताए।
हुलाक सेवा विभागद्वारा मंगलबार आयोजित ‘हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको र त्यसको सकारात्मक परिणाम देखिन थालेको बताएका हुन्। सूचना प्रविधिको तीव्र विस्तारसँगै सेवा प्रणालीमा परिवर्तन आए पनि हुलाक सेवाको आवश्यकता र महत्व अझै उत्तिकै रहेको उनको भनाइ थियो।
‘डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको छैन। बरु बदलिँदो समयअनुसार यसको आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता अझ बढेको छ,’ उनले भने।
सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले मात्रै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे।
हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छवि सुधार गर्न कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको उनले बताए। ‘हुलाकले आफूलाई समयअनुकूल परिवर्तन गरेर फरक ढंगले सेवा दिन सक्नुपर्छ। सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो,’ उनले भने।
राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उनले यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वाससमेत बढेको बताए। सुरक्षाका दृष्टिले पनि सरकारी हुलाक सेवा विश्वसनीय रहेको उनको भनाइ थियो।
कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता कायमै रहेको बताउँदै विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिइन्। उनका अनुसार राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पुर्याउन थालिएको छ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताइन्। उनका अनुसार सरकारी कुरियर सेवा विस्तारसँगै नागरिकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
सरकारले आगामी दिनमा देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्दै परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक सरकारी सेवा वितरण प्रणालीका रूपमा विकास गर्ने लक्ष्य लिएको विभागले जनाएको छ।
