मेस्सीको जन्मदिनमा ८५ फिटको सबैभन्दा ठूलो मूर्ति
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको ३९ औं जन्मदिनको अवसरमा उनको सबैभन्दा ठूलो मूर्ति निर्माण गरिएको छ। जुन २४ बुधबार अर्जेन्टिनाको पाटागोनियाको क्याट्राल शहरमा मेस्सीको ८५ फिट अग्लो मूर्ति अनावरण गरिएको छ। यो विश्वकै सबैभन्दा ठूलो मेस्सीको मूर्ति हो।
यो मूर्ति बनाउन ७० हजार किलोग्राम (७० टन) स्टील प्रयोग गरिएको थियो। यो पूरा हुन १८ महिना लागेको थियो। यो सम्मान मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बनेको दुई दिनपछि प्राप्त भएको हो। सोमबार अस्ट्रियाविरुद्ध दुई गोल गरेर मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्ड तोडेका छन्। अब उनको विश्वकपमा १८ गोल भएका छन्।
उक्त मूर्तिमा कतार विश्वकप २०२२ को फाइनल खेलपछि मेस्सीले घुँडा टेकेको चित्रण गरिएको छ, जसमा फ्रान्सविरुद्ध गोन्जालो मोन्टिएलले पेनाल्टी प्रहार गरेपछि अर्जेन्टिनालाई विश्व च्याम्पियनको ताज पहिराइएको थियो।
मूर्तिमा मेस्सीले एक हातमा अर्जेन्टिनाको जर्सी समातेको र अर्को औंला आकाशतिर उठाएको चित्रण गरिएको छ। मेस्सीले आफ्नी हजुरआमालाई श्रद्धाञ्जली दिन गोल गरेपछि प्रायः उत्सव मनाउँछन्।
यो मूर्ति ६१ वर्षीय स्थानीय मूर्तिकार एल्डो बेरोइसाले बनाएका हुन्। उनले पहिले डायनासोर र अर्जेन्टिनाका स्वतन्त्रता सेनानीहरूको ठूला मूर्तिहरू बनाएका छन्।
