नेपालका किशोर–किशोरीमा विद्युतीय चुरोटको लत डरलाग्दो
काठमाण्डौ – नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोरकिशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यूथ टोबाको सर्भे २०२५ अनुसार परम्परागत चुरोट र सुर्तीबाहेक नयाँ किसिमका जोखिम पनि बढेका छन् ।
सर्वेक्षण प्रतिवेदनमा किशोरकिशोरीमा शीशा र हुक्काजस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ । परिषद्ले देशका सातै प्रदेशका ५० वटा विद्यालयका ३ हजारभन्दा धेरै विद्यार्थीमाझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो ।
कक्षा ७ देखि १० सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा १८.७ प्रतिशतले सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र शीशाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वासप्रश्वास र मुटुरोगजस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ । हुर्कँदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकोले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन् ।
