प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए। पूर्वगृहमन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे।
“राम्रो कुरालाई सबै दलले साथ दिनुपर्यो”, उनले भने, “विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।” गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद्समेत रहेका उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
“मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ”, उनले भने, “गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु।” पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उनको छ।
जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटकपटक आएको भन्दै उनले आफ्नो थाल कति छ भनेर हेर्दा अरुको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताए। -रासस
