भुटानविरूद्ध टाइम आउट विकेट लिएपछि क्यानले माग्यो माफी
नेपाली महिला क्रिकेट टोलीले एसिसी महिला प्रिमियर कपमा भुटानविरूद्ध टाइम आउट अपिल गर्दै विकेट लिएको घटनामा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ।
खेल भावना खेल नियमभन्दा माथि हुने भन्दै क्यानका सचिव पारस खड्काले विज्ञप्ति निकाल्दै माफी मागेका हुन्। भुटानविरूद्धको खेलमा खेल भावना र मूल्य नदेखिएको पनि क्यानको भनाइ छ।
बिहीबार मलेसियामा नेपालले दिएको ११४ रन को लक्ष्य पछ्याउने क्रममा भुटानले पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडेन ९० सेकेन्डको निर्धारित समयभित्र क्रिजमा आइपुग्न असफल भइन्।
नेपाली टोलीले तुरुन्तै अम्पायरसँग टाइम आउट को अपील गर्यो र अम्पायरले नियमबमोजिम उनलाई आउट घोषित गरे।
यो नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो टाइम आउट विकेट हो भने पुरुष तथा महिला टी-२० अन्तर्राष्ट्रिय इतिहासमा यो तेस्रो घटना हो।
आइसिसीको टी-२० नियमअनुसार, विकेट पतन भएपछि नयाँ ब्याटर ९० सेकेन्डभित्र क्रिजमा तयार हुनुपर्छ। यसमा कुनै प्राविधिक समस्या नभएको अवस्थामा अपील भएमा आउट दिन सकिन्छ।
नेपालले यो नियमको सहारा लिए पनि खेल भावनाविपरित विकेट लिएको भन्दै आलोचना भएको थियो। सामाजिक सञ्जालमा विरोध भएछि क्यानले माफी मागेको हो।

