कालोपत्रे सडक जीर्ण, धुलो र खाल्डाखुल्डीले यात्रु हैरान
बैतडी । सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य लाइफलाइन सडकका रूपमा रहेको भीमदत्त राजमार्ग तथा त्यससँग जोडिएका दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र महाकाली राजमार्गका कालोपत्रे सडक उप्किएर जीर्ण बनेका छन् । धुलो र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रु तथा सवारी साधनले हैरानी खेप्नु परेको छ ।
बैतडी–डडेलधुरा जोड्ने सडकखण्डको कालोपत्रे अधिकांश ठाउँमा उप्किसकेको छ । सडकखण्डमा सवारीका टायर गुड्ने भागको कालोपत्रे पूरै उप्किएर बीचमा मात्र धर्सा बाँकी देखिन्छ । यी सडक कुनै समय कालोपत्रे थिए भन्ने कुरा यिनै अवशेषबाट अनुमान गर्न सकिन्छ । अत्तरियाबाट पहाड जोड्ने सडकखण्डका विभिन्न स्थानमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेका छन् । धुलो उडेर सवारी साधन देख्नै मुस्किल हुने गरेको छ ।
पाइलैपिच्छे देखिने खाल्डाखुल्डी, अव्यवस्थित टालटुल र आकाशै ढाक्ने गरी उड्ने धुलोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यात्रा अत्यन्त कष्टकर र जोखिमपूर्ण बनेको छ । कैलालीको सहजपुर क्षेत्रको सडकखण्डमा यति गहिरा खाल्डाखुल्डी छन् कि साना सवारी साधन, जीप र कारका पार्टपुर्जा नै बिग्रिने र बीच बाटोमै गाडी अलपत्र पर्ने समस्या देखिएको छ ।
सहजपुर क्षेत्रको सडकखण्डमा कहिले खाल्डामा पर्छ भन्ने त्रासमा चालकहरू सधैँ डराइरहेका हुन्छन् । उक्त क्षेत्रको खाल्डाखुल्डी सबैभन्दा बढी जोखिमपूर्ण रहेको यात्रु र चालकले बताएका छन् ।
बैतडीको गोठालापानीदेखि डडेलधुराको बागबजारसम्मको करिब ८२ किलोमिटर सडकखण्डको कालोपत्रे उप्किएर सडकभरि भग्नावशेष र खाल्डाखुल्डी मात्र बाँकी हुँदा यात्रु र चालक दुवैलाई सास्ती भएको सवारी चालक हरिश चन्दले बताए।
उनले तराईको अत्तरियादेखि पहाड जोड्ने सडकमा सवारी चलाउँदा आकाशै ढाक्ने गरी उड्ने धुलोका कारण अगाडिको सवारी स्पष्ट देख्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताए । प्रादेशिक ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आव २०८१र८२ मा यस सडकखण्डमा १२० भन्दा बढी साना–ठुला सवारी दुर्घटना भएका छन् ।
पहाडी मुख्य राजमार्गमा यात्रा गर्दा सचेत रहे पनि मोटरसाइकल तथा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू धुलोका कारण चिन्नै नसकिने अवस्थामा पुग्ने गरेको यात्रु नवीन भट्टले गुनासो गरे । उनले चौबीसै घण्टा उड्ने धुलो र खाल्डाखुल्डीका कारण पहाडी सडकमा दैनिकजसो दुर्घटना हुने गरेको बताउनुभयो । धुलोका कारण सडकछेउका स्थानीयले श्वासप्रश्वाससम्बन्धी समस्या भोग्न बाध्य भएको पनि उनको भनाइ छ ।
पहाडी राजमार्ग मर्मतका नाममा प्रत्येक वर्ष गरिने टालटुल (प्याचवर्क) कार्य प्रभावकारी हुन सकेको छैन । मर्मत गरिएका स्थान केही दिनमै पुनः उप्किने गरेको पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश विष्टले बताए। उनले बैतडी–डडेलधुरा जोड्ने अनारखोली र भालुमारे क्षेत्रमा प्रत्येक वर्ष खाल्डाखुल्डी पुर्ने काम भए पनि केही दिनमै पुनः उप्किएर सडक फेरि जस्ताको तस्तै हुने गरेको बताए ।
त्यसैगरी, डडेलधुराको स्याउलेदेखि डोटीको दिपायल खण्डको ५९ किलोमिटर, दिपायलदेखि अछामको साँफेबगर जोड्ने ८५ किलोमिटर तथा साँफेबगरदेखि बाजुरा सदरमुकाम मार्तडी जोड्ने ५८ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । यहाँ पनि मर्मतका नाममा वार्षिक करोडौँ रुपियाँ खर्च भए पनि कामको गुणस्तर दीर्घकालीन हुन सकेको छैन ।
मर्मतमा वार्षिक करोडौँ खर्च
यी सडकखण्डमा दीर्घकालीन सुधारका लागि पर्याप्त बजेट नभए पनि पटक–पटक मर्मतका नाममा वार्षिक करोडौँ रुपियाँ खर्च हुने गरेको छ । यति खर्च भए पनि सडकको अवस्था भने जस्ताको तस्तै देखिन्छ । ठेकेदारको ढिलासुस्ती र गुणस्तरहीन मर्मतका कारण सडक चाँडै बिग्रिने गरेको स्थानीयको गुनासो छ ।
अत्तरियाबाट पहाडी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र साँफे–मार्तडी सडकखण्ड रणनीतिक सडक सञ्जालमा पर्छन् । यी सडकखण्डको मर्मत, मोड सुधार र खाल्डाखुल्डी पुर्ने कार्यमा वार्षिक कति रकम खर्च हुन्छ भन्ने सूचना सार्वजनिक रूपमा देखिँदैन ।
यी सडकखण्डको रेखदेख तथा मर्मतसम्भार सडक डिभिजन कार्यालय महेन्द्रनगर, सडक डिभिजन कार्यालय कुलपाते र सडक डिभिजन कार्यालय पाटन बैतडीले गर्दै आएका छन् ।
नियमित तथा पटके मर्मत, खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने र पहिरो पन्छाउने कार्यका लागि यी कार्यालयहरूले वार्षिक दुई करोडदेखि पाँच करोड रुपियाँसम्म खर्च गर्दै आएका छन् । सहजपुर–फल्टुडे खण्डको पहिरो पन्छाएर मर्मतमा मात्रै एकपटक दुई करोड २६ लाख रुपियाँ खर्च भएको देखिन्छ । तर, सूचना पाटी नराखिएको स्थानीयको गुनासो छ ।
बैतडी, बझाङ र दार्चुला जिल्ला सदरमुकाम जोड्ने सडक हेर्दै आएको सडक डिभिजन कार्यालय पाटन बैतडीले चालु आर्थिक वर्षमा मात्रै मर्मतसम्भार र सडक सफाइमा १६ करोड रुपियाँ खर्च गर्ने जनाएको छ ।
सडकका खाल्डाखुल्डी पुरी कालोपत्रे गर्ने काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इञ्जिनियर कपिल पन्तले बताए । उनले विभिन्न चरणमा ठेक्का आह्वान भई काम भइरहेको जानकारी दिए । यसरी मर्मत गरिएका स्थानको म्याद तीन महिना मात्र रहने उनले जानकारी दिए ।
