धनगढीमा बढ्दो विद्युत अवरोधले जनजीवन प्रभावित

द एभरेष्ट पोष्ट
१३ जेठ २०८३ ११:४४
धनगढीमा बढ्दो विद्युत अवरोधले जनजीवन प्रभावित

धनगढी :  चर्को गर्मीका बीच धनगढीमा दैनिकजसो हुने विद्युत अवरोधले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ। स्थानीयवासीका अनुसार पछिल्लो समय दिनहुँ ३ देखि ४ घण्टासम्म अनियमित रूपमा बत्ती जाने समस्या बढेको छ। “लोडसेडिङ अन्त्य” भएको घोषणा धेरैअघि गरिए पनि व्यवहारमा भने धनगढीवासी अझै नियमित विद्युत समस्याबाट मुक्त हुन सकेका छैनन्।

स्थानीयहरूले विशेषगरी नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा नयाँ प्रमुख आएपछि विद्युत कटौती झन् बढेको गुनासो गरेका छन्। “अत्यधिक गर्मी हुँदा पनि पहिले यति धेरै बत्ती जाँदैनथ्यो, अहिले सामान्य तापक्रममै पटक-पटक लाइन काटिन्छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे।

विद्युत अवरोधका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ भने उद्योग, व्यापार, सञ्चारमाध्यम तथा सेवा क्षेत्रसमेत समस्यामा परेका छन्। गर्मीका कारण धेरै परिवार राति घरबाहिर बस्न बाध्य भएको स्थानीय बताउँछन्। लगातार बत्ती जाँदा मच्छरको समस्या बढ्नुका साथै सर्प तथा अन्य विषालु किराको जोखिमसमेत बढेको उनीहरूको भनाइ छ।

स्थानीयवासीले पटक-पटक गुनासो गर्दा पनि सम्बन्धित निकायबाट दीर्घकालीन समाधानभन्दा आश्वासन मात्रै आउने गरेको आरोप लगाएका छन्। यता कार्यालय प्रमुखले भने आफू आएपछि विद्युत सेवामा सुधार भएको दाबी गरेका छन्। तर सेवाग्राहीहरू भने दैनिक भइरहेको विद्युत अवरोधलाई लिएर असन्तुष्ट देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस