अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

द एभरेष्ट पोष्ट
१० जेठ २०८३ २१:२५
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

कोलोराडो, २३ मे ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिवार सुरु भएको छ ।

सम्मेलनको उदघाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रुपमा गरे ।

सम्मेलनको उद्घाटन गर्दै लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरुको अन्तर्राष्ट्रिय संसदका रुपमा रहेका बताए ।

नेपालको सीमानाभन्दा बाहिर लेखिने नेपाली साहित्यलाई अलग राखेर नेपाली साहित्य पुरा नहुने लम्सालको भनाई थियो ।
उद्घाटन मन्तव्यमा लम्सालले नेपालको सीमानाभन्दा बाहिर रहेका स्रष्टाहरुले लेखिने साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य अधुरो रहने बताए ।

सम्मेलनमा मदन पुरस्कार विजेता लम्साल, डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल र आचार्य राजनलाई सम्मान गरिएको थियो ।

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा शुरु भएको सम्मेलनको उद्घाटन सत्रमा सम्मेलन संयोजक अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका थिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, नेपाली भाषा साहित्यको प्रवद्र्धनमा प्रवासी पत्रकारिताको भूमिका लगायत दर्जन बढी महत्वपूर्ण सेसन तथा छलफलमा विभिन्न साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिदो नेपाली साहित्यका विषयमा विमर्श पनि हुँदैछ । सम्मेलन सोमबारसम्म चल्नेछ ।

सम्मेलनमा सम्मेलनमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, पूर्व प्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, प्रधान सम्पादक बसन्त बस्नेत, सम्पादक बबिता बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल, चर्चित पूर्व प्रस्तोता नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा)का अध्यक्ष सुरज भण्डारी लगायत नेपाल, अमेरिका, युरोप लगायतका देशबाट २०० जना साहित्यकार, लेखक, पत्रकार र संघ संस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस