विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन : प्रचण्ड

द एभरेष्ट पोष्ट
२९ वैशाख २०८३ १५:०६
विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने बताएका छन् । नयाँ संसद् आएपछि पहिलोपटक संबोधन गरेका प्रचण्डले सरकारका कदम पञ्चायती शैलीबाट अघि बढिरहेको टिप्पणी गरे ।

उनले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासप्रतिको अपमान भएको बताए । ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विरुद्ध रहेको ध्यानाकर्षण गराए ।

“लोकतन्त्रको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र संविधानको रक्षा गर्दै विस्तारित गर्ने हुनुपर्छ । नागरिकलाई आवाज उठाउन प्रतिबन्धित गरेर लोकतन्त्र बलियो हुन सक्दैन । आज अस्तित्व नै नरहनेगरी अब तिमीहरूको औचित्य छैन भन्ने हो भने विद्यार्थीमाथि मात्र होइन सिंगो राजनीतिक इतिहासमाथिको अपमान हुनेछ,” प्रचण्डले भने, “विद्यार्थी संगठनमा सुधार गर्नुपर्ने कुरा सुधार गरौँ । तर, आवाज नै थुन्ने कुरा विलकुल स्वीकार्य हुन सक्दैन ।”

उनले विद्यार्थी शैक्षिक सुधारका बाधक हुन् भन्ने बुझाई सरकारको अपरिपक्व धारणाका रूपमा व्याख्या गरे ।

ट्रेड युनियनमाथिको प्रतिबन्ध अलोकतान्त्रिक भएको भन्दै अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेको महासन्धीहरूविरुद्ध नउभिन उनले आग्रह गरे ।

“विश्वका लोकतान्त्रिक मुलुकहरूले असल अभ्यासका रूपमा ट्रेड युनियनलाई अघि बढाएका छन् । यो उनीहरूको नैसर्गिक अधिकार हो,” उनले भने, “विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्छ, अहिले म यति मात्र भन्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस