नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट, नागरिक एपमा हेर्न मिल्ने
काठमाडौं । विश्वविद्यालयहरूको परीक्षा नतिजा सार्वजनिक भएको भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार सबै विश्वविद्यालयका उपकुलपतिहरूले उक्त अवधिमा ट्रान्सक्रिप्ट उपलब्ध गराउन सहमत भएका हुन् ।
विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउन विश्वविद्यालयहरूले १५ दिनभित्र आवश्यक एप वा पोर्टल तयार गरी ‘नागरिक एप’सँग जोड्ने निर्णय गरिएको छ ।
त्यसैगरी, परीक्षा नतिजालाई पूर्वानुमानयोग्य र पारदर्शी बनाउन ‘नतिजा पोर्टल’ निर्माण गरिनेछ । यसले परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित र समयबद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
