संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्नुपर्छ : सभामुख अर्याल

द एभरेष्ट पोष्ट
४ वैशाख २०८३ १३:३६
संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन्।

उनले देश र समाजको अपेक्षा र आवश्यकता अनुसार संसदलाई अघि बढाइने उल्लेख गरे । सभामुख अर्यालले विधेयक ड्राफ्ट गर्नुभन्दा अगाडि सरोकारवालासँगको छलफललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले यसैपटकदेखि संसदको बजेट अधिवेशनलाई फरक ढंगले अघि बढाउन आफूले काम गरिरहेको जानकारी दिए । सभामुख अर्यालले संसदले विधि,प्रक्रिया, कानुन, संविधानलाई पालना गर्दै कमिकमजोरी नहुने गरि छिटोछरितो ढंगबाट काम गर्ने प्रक्रियालाई अवलम्वन गरिने धारणा राखे।

उनले देशका हरेक नागरिकले आफ्नो सरकार भएको अपनत्व गर्ने गरि काम गर्नुपर्नेमा समेत जोड दिए । सभामुख अर्यालले नयाँ संसद भवनको निर्माण कार्य छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै हाल समाचार संकलनका क्रममा देखिएका समस्याहरू हल गर्दै जाने प्रतिवद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस