अबदेखि २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

द एभरेष्ट पोष्ट
४ वैशाख २०८३ १२:५९
अबदेखि २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाण्डौ- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आजदेखि सेवा ग्राहीले ट्रायल पास गरेपछि राजश्व तिरेको २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र पाउने बताएका छन् ।

काभ्रेको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको अवलोकन गर्दै मन्त्री तिमिल्सिनाले यसबारे जानकारी दिए । उनले गाडी चालक अनुमतिपत्र छपाइको अवस्थाबारे पनि जानकारी लिएका छन् । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

उनले लामो समयसम्म गाडी चालक अनुमतिपत्र नपाउने समस्याको अन्त्य गर्दै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य सरकारको रहेको बताए । साथै, बाँकी रहेका सबै गाडी चालक अनुमतिपत्र आउँदो असार मसान्तभित्र छापिसक्ने योजना रहेको पनि उनले जानकारी दिए ।

निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्त्वपूर्ण र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ठूलो लगानीमा खरिद गरिएका झण्डै एक अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउँदै ती उपकरणलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिए ।

उनले नागरिकको डाटा सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै सेवा प्रवाह नागरिकको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए । त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको गुणस्तर सुधार गर्ने विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै नेपाल टेलिकमको सेवा सुधारमार्फत आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उद्देश्यले व्यावसायिक योजना तयार भइरहेको बताए । उनका अनुसार भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरजस्ता महत्त्वपूर्ण सामग्री छाप्ने योजना छ ।

हाल केन्द्रमा दैनिक करिब ४० हजार गाडी चालक अनुमतिपत्र छपाइ भइरहेको र विदेश जाने नागरिकका लागि गाडी चालक अनुमतिपत्रलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

यातायात व्यवस्था विभागबाट दैनिक झण्डै एक हजार आवेदन प्राप्त हुने र वैशाख १२ गतेभित्र १२ लाख तथा बाँकी १७ लाख गाडी चालक अनुमतिपत्र असार मसान्तभित्र छापिसक्ने लक्ष्य रहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस