दुई साताका लागि अमेरिका-इरानबीच युद्धविराम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।
उनले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्न इरानको विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य समेत ट्रुथ सोसलमा साझा गरेका छन् ।
सो वक्तव्यमा अरघचीले भनेका छन्, ‘यदि इरानविरुद्धका आक्रमण रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलले आफ्ना रक्षात्मक कारबाहीहरू रोक्नेछ । साथै, आगामी दुई हप्तासम्म स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत इरानको सैन्य समन्वयमा सम्भव हुनेछ ।’
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो वक्तव्य पनि सार्वजनिक गरेका छन् । सो वक्तव्यमा इरानमाथि दुई हप्ताका लागि आक्रमण स्थगित गरिएको उल्लेख छ । उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए ।
ट्रम्पले लेखेका छन्, ‘प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानका फील्ड मार्शल असिम मुनिरसँग भएको संवादमा, उहाँहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गर्नुभएको थियो । साथै, इरानले स्ट्रेट अफ होर्मुजलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खुला गर्न सहमत हुने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु । यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ ।’
