कांग्रेस संसदीय दलको नेता चयनमा विलम्ब

द एभरेष्ट पोष्ट
२५ चैत २०८२ ७:०७
कांग्रेस संसदीय दलको नेता चयनमा विलम्ब

काठमाडौं । आकांक्षीबिच समझदारी नबन्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको नेता चयन विलम्ब भएको छ । आगामी सातासम्म सकेसम्म सर्वसम्मत दलको नेता चयन गर्ने गृहकार्यमा जुटेको कांग्रेसभित्र दाबेदारहरूलाई उपनेता, प्रमुख सचेतक र सचेतकलगायतको आश्वासन दिएर मनाउने प्रयास भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य हुने प्रावधानका कारण यो पदको महत्व छ ।

संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् । मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद बनेका हुन् । प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । मोहन आचार्य, भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ ।

कांग्रेसले भने दलको नेता चयन सहज बनाउन समिति गठन गरेको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको समितिले दलको विधान अध्ययन र आंकाक्षीसँग संवाद थालेको छ । सभापति गगन थापाले रसाइलीको नेतृत्वमा राजु कटुवाल र मुना भुसाल सदस्य रहेको समिति गठन गर्दै सहमतिका लागि प्रयास गर्न ‘म्यान्डेड’ दिएका थिए ।

कांग्रेस नेता केसीले ज्येष्ठ सदस्यको हैसियतमा आइतबारसम्म संसद् सञ्चालन गर्नुपरेका कारण संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्न नसकेको, तर अब प्रक्रिया अघि बढ्ने पार्टी सहमहामन्त्री रसाइलीले बताए । उनले पार्टीको मधेश प्रदेशमा २५ चैतका कार्यक्रम सम्पन्न भइसकेपछि नेता चयनका लागि छलफल सुरु गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस