सर्किट ब्रेकर सीमा ८ प्रतिशत, सेयर बजार नखुल्दा पनि ‘अर्डर’ हाल्न पाइँदै

द एभरेष्ट पोष्ट
२३ चैत २०८२ ६:४७
सर्किट ब्रेकर सीमा ८ प्रतिशत, सेयर बजार नखुल्दा पनि ‘अर्डर’ हाल्न पाइँदै

काठमाडौं ।  धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको छ । विदेशमा रहेका नेपाली र कार्यालय समयमा सेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।

कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।

धितोपत्रको दोस्रो बजारमा पर्याप्त तरलता कायम गर्न तथा कारोबारको आकार समेत बढाउन यसले मद्दत गर्ने श्रेष्ठको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि नेप्सेले पठाएको कारोबार विनियमावलीको संशोधन प्रस्ताव पनि स्वीकृत हुने चरणमा छ ।’ धितोपत्रको प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिद/बिक्री आदेशको व्यवस्था गर्न लागिएको उनले बताए ।

नेप्सेको नियमित कारोबार सकिएपछि खरिद/बिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था प्रस्ताव गर्दै धितोपत्र बोर्डमा पठाएको नेप्सेका एक अधिकारीले बताए । नेप्सेको नियमित कारोबार ३ बजे सकिन्छ भने साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको आदेश प्रविष्टको समय दिने व्यवस्था गर्न प्रस्ताव गरिएको ती अधिकारीको भनाइ छ ।

सर्किट ब्रेकरको माथिल्लो सीमा ८ प्रतिशत

नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) खुकलो बनाउँदै ८ प्रतिशत पुर्‍याउने भएको छ । बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रुप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत विन्दुले बढाएको हो ।

जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा सेयर बजार सुधार सुझाव कार्यदल गठन भएको थियो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्था थप खुकुलो बनाउने अन्तिम चरणमा पुगेको हो ।

कायदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांकलाई इक्वीटी इन्डेक्सको रुपमा कायम राखी कारोबारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेञ्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न सुझाएको थियो ।

बोर्ड स्रोतका अनुसार सोमबारको सञ्चालक समितिमा प्रस्ताव जाने उक्त विनियमावलीमा सर्किट ब्रेकरको सीमा २ प्रतिशत बिन्दुले बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस