ओलीले सम्मानजनक बहिर्गमन नलिए विशेष महाधिवेशन
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो धक्का खाएको एमालेभित्र संस्थापनइतर पक्षले अध्यक्ष केपी ओलीको सम्मानजनक बहिर्गमन गराउने पहल सुरु गरेको छ । यो समूहले पार्टीलाई पुनर्जीवित गर्दै पूर्वावस्थामा फर्काउन अध्यक्षको राजीनामा र केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मको पुनर्गठन आवश्यक ठानेको छ । अध्यक्ष ओलीले राजीनामा नदिए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको विकल्प अघि बढाउने तयारी छ । यसका लागि प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्न मागपत्रको मस्यौदासमेत तयार पारिएको छ ।
पार्टीले चुनावमा भोगेको पराजयको औपचारिक समीक्षाअगावै उपाध्यक्ष विष्णु पौडेलसहित अन्य नेताहरूको सहयोगमा पुनर्गठनको तयारी अघि बढाइएको हो । पौडेलको यो पहललाई एमालेभित्र अर्थपूर्ण मानिएको छ । अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बाटो नखुलाए बहुमत प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन बोलाउने दबाब सिर्जना गर्ने रणनीति छ । पराजयको मूल जिम्मेवारी लिएर अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बाटो नखुलाए विकल्पमा विशेष महाधिवेशन बोलाउनका लागि बहुमत प्रतिनिधिहरूको हस्ताक्षर बुझाउनेसम्मको तयारी छ ।
इतर समूहका नेता पार्टीलाई पुनर्जागृत गर्दै पूर्वावस्थामै फर्काउन अध्यक्ष ओलीको राजीनामासँगै केन्द्रीय कमिटी हुँदै तलैसम्म पुनर्गठन गर्नुपर्ने निष्कर्षमा छन् । उपाध्यक्ष पौडेलसहित इतर पक्षका पदाधिकारी गोकर्ण विष्ट, योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलगायत केन्द्रीय कमिटीमा रहेका अधिकांश नेता ओलीसहितको उपस्थितिमा आयोजना हुने केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसम्म पर्खिएर सम्मानजनक बहिर्गमन सुनिश्चित गर्ने पक्षमा छन् । जेन–जी आन्दोलनमा भएको दमन आरोपमा ओली अहिले प्रहरी नियन्त्रणमा छन् । यद्यपि, स्वास्थ्य समस्याका कारण उनलाई अस्पताल राखिएको छ ।
पार्टीले व्यहोरेको अकल्पनीय पराजयको औपचारिक समीक्षाअगावै पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट रहेको इतर पक्षले संस्थापनमा रहेका उपाध्यक्ष विष्णु पौडेलसहित उनीनिकट अधिकांश नेतालाई समेत साथ लिएर पुनर्गठनका लागि तयारी सुरु गरेको हो । यस क्रममा युवा र जनसंगठनका नेताहरूले पनि अप्रत्यक्ष दबाब सिर्जना गर्दै हस्ताक्षर अभियानको प्रारम्भिक तयारी गरिरहेका छन् । पार्टी पुनर्गठनको मुद्दामा महासचिव शंकर पोखरेलले अन्ततः समर्थन दिन सक्ने र सचिवालय तथा केन्द्रीय कमिटीमार्फत निर्णय प्रक्रिया अघि बढाउन सकिने इतर पक्षको विश्वास छ ।
२१ फागुनको आमनिर्वाचनमा एमालेले पराजयको औपचारिक समीक्षा गरेको छैन । चुनावलगत्तै बसेको सचिवालय बैठकले परिणाम स्विकार्दै प्रदेश र जिल्लाहरूलाई समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर, अध्यक्ष ओलीको पिताको निधन र त्यसपछिको शोकपछि उनलाई सरकारले हिरासतमा राखेपछि एमालेले १२ वैशाखसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ओलीको गिरफ्तारीका कारण केन्द्रीय कमिटी बैठक बोलाउने भनिए पनि मिति तोकिएको छैन ।
