गण्डकीले कोशीलाई हरायो
काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २२८ रनको लक्ष्य पछ्याएको कोशीले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १८८ रन बनाएको हो । जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो ।
कोशीका लागि दिपेश कंडेलले अर्धशतकीय पारी खेले । ७३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै दिपेश ५२ रनमा नटआउट रहे । तथापि, जितका लागि पर्याप्त हुन सकेन ।
गण्डकीका लागि सिब्रिन श्रेष्ठले ३ विकेट लिए । अप्रजित पौडेल र सुवास भण्डारीले २–२ तथा विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै ५० ओभरमा ७ विकेटको क्षतिमा २२७ रन बनाएको हो ।
गण्डकीका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनले १४१ बलमा ८ चौका प्रहार गर्दै १०२ रन बनाए । अर्धशतकीय पारी खेलेका विपिन खत्री ७६ रनमा नटआउट रहे । उनले ८६ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
कोशीका लागि दिपेश कंडेलले ४ विकेट लिए । राकेश शाह र सुजन थपलियाले १–१ विकेट लिए ।
