संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सभापति गगन थापाले बनाएको निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल रहेका छन् ।
संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएकाले २४ चैतमा चुनाव गर्ने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । संसदीय दलको नेतामा आकांक्षा देखाएका नेताहरूबीच सर्वसम्मत रुपमा नेता चयन गर्न छलफल भइरहेको उनले बताए ।
संसदीय दल नेताका लागि अनुभव भएका समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे आकांक्षी छन् ।
त्यस्तै, रसुवाबाट चुनाव जितेका मोहन आचार्य, इलामबाट चुनाव जितेका निश्कल राई, बाजुराबाट चुनाव जितेका जनकराज गिरी, डोटीबाट जितेका भरतबहादुर खड्का, पाँचथरबाट जितेका नरेन्द्रकुमार केरूङ, दैलेख १ बाट निर्वाचित सांसद बासना थापा दलको नेता बन्न आकांक्षा देखाइरहेका छन् ।
