एपीएफले लुम्बिनीलाई दियो १२५ रनको लक्ष्य
वीरगन्ज : प्रधानमन्त्र कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी खेलमा विभागीय टिम नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नारायणी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ३९.४ ओभरमा सबै विकेट गुमाएर १२४ रन जोडेको हो ।
लुम्बिनीका अभिषेक गौतमले २८, ओपनर दीपक बोहोराले २०, सन्दीप जोराले १७, आशिफ शेख र लोकेश बमले समान १५ रन बनाए । कमल ऐरीले ११ रन बनाउँदा कप्तान रोहित पौडेले शून्यमै आउट भए । अन्य ब्याटर चल्न सकेनन् । लुम्बिनीका अजय चौहानले चार विकेट लिए भने सन्तोष यादवले तीन विकेट चट्काए ।
यसैगरी निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट लिए । एपीएफले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लुम्बिनीले १० ओभरमा एक विकेट गुमाएर ४६ रन जोडेको छ । लुम्बिनीका ओपनर रञ्जित खड्का पाँच रन बनाएर आउट भएका छन् । रञ्जितलाई एपीएफका भुवन कार्कीले बोल्ड गरेका हुन् । यतिबेला लुम्बिनीका कप्तान देव खनाल २५ रन र आकाश त्रिपाठी १५ रन बनाएर खेलिरहेका छन् ।
