दुई देखि तीन हप्तामा इरानसँगको युद्ध टुंगिने ट्रम्पको दाबी

द एभरेष्ट पोष्ट
१८ चैत २०८२ ११:५४
दुई देखि तीन हप्तामा इरानसँगको युद्ध टुंगिने ट्रम्पको दाबी

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा सत्ता परिवर्तन भइसकेको र अमेरिकाले लिएको मुख्य लक्ष्य हासिल भएको बताए ।

हामीले सत्ता परिवर्तन देखिसकेका छौं। यद्यपि, सत्ता परिवर्तन मेरो प्राथमिक लक्ष्य थिएन,’ राष्ट्रपति ट्रम्पले भने, ‘मेरो एउटै मुख्य लक्ष्य थियो- इरानसँग आणविक हतियार नहोस्। त्यो लक्ष्य अहिले पूरा भएको छ। अब उनीहरूसँग आणविक हतियार रहने छैन।’

ट्रम्पले अमेरिकी सेनाले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको उल्लेख गर्दै थप केही दिनभित्रै सैन्य कारबाही पूर्ण रूपमा समाप्त हुने बताए। इरानसँग कुनै सम्झौता भएमा यो युद्ध अझै चाँडो सकिन सक्ने उनको भनाइ छ।

‘इरान सम्झौता गर्न मभन्दा बढी आतुर छ। सम्झौता भयो भने निकै छोटो समयमै हामी यो प्रक्रिया टुङ्ग्याउने छौँ,’ उनले भने। ट्रम्पले इरानको वर्तमान नेतृत्व पहिलेको तुलनामा ‘धेरै फरक र समझदार रहेको टिप्पणी गर्दै वार्ताप्रति सकारात्मक संकेत दिए।

तेल आपूर्तिका लागि महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ को सुरक्षाका विषयमा बोल्दै ट्रम्पले यसमा अमेरिका संलग्न नहुने प्रष्ट पारे। उक्त जलमार्ग खुला राख्ने र सुरक्षित गर्ने जिम्मा अब तेल आयात गर्ने देशहरूकै हुने उनको तर्क छ।

‘यदि फ्रान्स वा अन्य कुनै देशलाई तेल वा ग्यास चाहिन्छ भने उनीहरू आफैं हर्मुज जलडमरू भएर जानुपर्छ र आफ्नो सुरक्षा आफैं गर्नुपर्छ, ट्रम्पले भने, त्यहाँ के हुन्छ, त्यसमा हाम्रो कुनै सरोकार रहने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस